+
Search

ताजा अपडेट +

पपुलर +

मलाई मेरो परिचय दिने ‘त्रिशूली प्रवाह’

मलाई मेरो परिचय दिने ‘त्रिशूली प्रवाह’
त्रिशूली प्रवाह
२ महिना अगाडी

समाचार नं. १ : तत्कालीन खानीगाउँ गाविस, हाल लिखु गाउँपालिकाको रावलस्वाँरास्थित विद्या निकेतन प्राविमा कार्यरत एक महिला कार्यालय सहयोगी एचआइभी/एड्स भएका कारण जागिरबाट निकालिइन् । सुस्त मनस्थितिका एक छोरी र अन्य दुई छोरासहित वृद्धा सासूको पालनपोषण गर्नुपर्ने दायित्व सम्हालेकी उनले एचआइभी/एड्सका कारण ४२ वर्षीय श्रीमान् गुमाएकैले उनी पनि सङ्क्रमित भएको अनुमानसहित विद्यालयले उनलाई निकालेको थियो । घटना २०५९ साल चैत पहिलो साताको हो जतिवेला उनी सङ्क्रमित भएकोसमेत पक्कापक्की थिएन । उनले विद्यालयमा खाजा बनाएको र छोएकै कारण अन्यमा सङ्क्रमण हुने सोचका साथ विद्यालयबाट उनी निकालिइएकी थिइन् । तर घटना बाहिर आएन । जब ‘त्रिशूली प्रवाह’ साप्ताहिकको २०६२ साल वैशाख १ गतेको अङ्कमा सो समाचार प्रकाशन भयो, त्यसपछि समाजमा मात्रै नभई देशमै सो घटनाले तरङ्ग पैदा ग¥यो । विद्यालयबाट निकालिएको २५ महिनापछि ‘त्रिशूली प्रवाह’ले समाचार बाहिर ल्याएपछि मात्र त्यतिवेला मूलधार मानिने काठमाडौँबाट निस्किने पत्रपत्रिकाले सो खबरलाई प्राथमिकता दिए । ती महिलालाई विद्यालयमा पुनः काममा जोडिने वातावरण तयार भयो ।

समाचार नंं. २ : वि.सं. २०६२ असार ९ गतेको ‘त्रिशूली प्रवाह’का अङ्कमा ‘बाहुन–क्षेत्रीले थाले पन्चेबाजा बजाउन’ शीर्षकमा समाचार प्रकाशन भयो । समाचार थियो धादिङ जिल्ला खाल्टेको । त्यहाँका ब्राह्मणक्षेत्री समुदायका नौ युवकले पन्चेबाजा बजाउन थालेका थिए । गाउँका २२ जनासँग एक वर्षपछि तिर्ने गरी जनही रु. एक–एक हजार सापट गरी रु. २२ हजार जम्मा गरेर उनीहरूले सुरु गरेको सो अभियान यसरी फैलियो कि त्यो क्रान्ति र आयआर्जनको तुफान देशैभरि बग्यो । शुभप्रभात सांस्कृतिक परिवार नाम दिएर ती युवाले गरेको सो सांस्कृतिक क्रान्ति अहिले देखिने ‘गैरदलित समुदायले बजाउने पन्चैबाजा’को कोसेढुङ्गा बन्यो । सो समाचारलाई ‘त्रिशूली प्रवाह’ ले बाहिर ल्याएपछि तत्कालीन समयका देशैभरका विभिन्न सञ्चारमाध्यममा असाध्यै धेरै प्राथमिकतामा प¥यो ।

समाचार नंं. ३ : खड्गभञ्ज्याङका रविलाल नेपाली जन्मजातै आँखा देख्न नसक्ने थिए, ६२ वर्षका उमेरमा बिते । उनका छोरा रेशम पनि जन्मजातै आँखा देख्न नसक्ने थिए, रेशमका छोरो हरिराम र छोरी मीना पनि जन्मजातै दृष्टिविहीन भए । एकै घरमा तीन पुस्तादेखि दृष्टिविहीनको जन्म भइरहेको थियो । हजुरबा बितेर गए, बुबाले मृत्यु कुर्दै जीवनका ४२ वर्ष कटाइसकेका थिए । सात वर्षका हरिराम र तीन वर्षकी मीनाको जीवन पनि अँध्यारै थियो । आँखा देख्न सक्ने आमा (बट्टाई) ले अरूको मेला गएर गर्ने कमाइले सो अँध्यारो परिवार जेनतेन घिस्रिरहेको थियो । त्यतिवेला बट्टाईको दैनिक ज्याला रु. ४० थियो । वि.सं. २०६२ असोज ६ गतेको ‘त्रिशूली प्रवाह’ साप्ताहिकमा सो समाचार प्रकाशन भयो । तिलगङ्गा आँखा प्रतिष्ठान र नुवाकोट सामुदायिक आँखा केन्द्रले उनीहरूको उपचारमा चासो राख्यो । नुवाकोट सामुदायिक आँखा केन्द्रका तत्कालीन प्रमुख दीपक खड्काले असाध्यै मिहिनेत गरे । चार दशकभन्दा बढी वर्षदेखि आँखा नदेखेका रेशम अनि उनका छोराछोरीले संसार देखे । तीनैजनाको विनाखर्च आँखा मात्रै खुलेन, पुस्तौँ रूपमा दृष्टिविहीन परिवारका रूपमा स्थापित भएका उनीहरूले अर्को जुनी पाए ।

समाचार नंं. ४ : तत्कालीन सूर्यमती गाविसका ३८ घरपरिवारको २३० रोपनी जग्गा लुटियो । पूर्वसैनिक सचिव जर्नेल ऋषिकुमार पाण्डेले २०३४ सालमा उक्त जग्गा लुटेका थिए । त्यसवेलाको सूर्यमती-३, ५, ७ र ८ का निम्छरा कृषकलाई सैनिकका बलमा लखेटिएको थियो । पाण्डेले ३० वर्षदेखि जग्गा आफैँ भोगचलन गर्दै आएका थिए । आफ्नी श्रीमतीका नाममा एउटा कम्पनी गीता फलोद्यान प्रालि खडा गरेर पाण्डेले किसानको लुटिएको जग्गामा आफ्नो हैकम कायम गरेका थिए । करिब ४० परिवारमध्ये आठ परिवार प्रजातन्त्र आएपछि (२०४७ सालपछि) अदालतमा मुद्दा लिएर गए । जिल्ला अदालतमा मुद्दा जितेका किसानले पुनरावेदन अदालतमा हारे । वि.सं. २०५८ मा किसान सर्वोच्च अदालत सोही मुद्दा लिएर पुगे पनि कुनै फैसला आएको थिएन । राजा ज्ञानेन्द्रको सक्रिय शासनकाल चलिरहेको थियो त्यसवेला । यही विषयलाई ‘त्रिशूली प्रवाह’ले २०६२ साल मङ्सिर २३ गते समाचार बनायो । अनि सुरु भयो बहस, अनि लेखिन थाल्यो किसानका पीडा, दर्जनौँ सञ्चारमाध्यमले ‘त्रिशूली प्रवाह’को सोही समाचारका आधारमा सुरु गरे वस्तुस्थिति खोतल्न । वि.सं. २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भयो । माओवादी र तत्कालीत सरकारको द्वन्द्व व्यवस्थापन भयो । वि.सं. २०६४ चैतमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) ठुलो राजनीतिक दलका रूपमा उदायो । माओवादीले सूर्यमतीका किसानको सो पीडालाई प्राथमिकताका साथ बोक्न थाल्यो । सर्वोच्च अदालतले फैसला दियो – जनताका पक्षमा । त्यसपछि सबै परिवारले ३० वर्षअघि लुटिएको सबै जग्गा फिर्ता मात्रै पाएनन्, पूर्वसैनिक पाण्डेले हडपेको अरू १२ सय रोपनी जङ्गल पनि सार्वजनिकीकरण भयो ।

‘त्रिशूली प्रवाह’का केही प्रतिनिधिमूलक समाचारलाई सम्झने हो भने मलाई यी माथिका प्रसङ्गको बढी चर्चा गर्न मन लाग्छ । मोफसलमा निस्किने पत्रिकाले पनि खास केही गर्न सक्छ र भन्ने जमात अझै छ हामी पत्रकारिताका विद्यार्थीमाझमा । त्यसका लागि सबैभन्दा गतिलो जवाफ म आफैँ पनि हुँ । मोफसलको पत्रिका, त्यो पनि साप्ताहिकमा काम गरेर कसरी बाँच्न सकिन्छ, आफूलाई कसरी ‘अपग्रेड’ गर्न सकिन्छ, भविष्य के होला जस्ता थुप्रै जिज्ञासा र हाकाहाकी पत्रकारलाई सोधिने प्रश्नको जवाफ मै हुँ । मैले ‘त्रिशूली प्रवाह’बाटै व्यावसायिक पत्रकारिता गरें, जिल्लामै केन्द्रित बनेँ र पनि मेरो परिधि साँघुरो थिएन, बनेन । एउटा घटना स्मरण हुन्छ – म पहिलो कार्यकाल नेपाल पत्रकार महासङ्घ नुवाकोटको अध्यक्ष चुनिएको थिएँ, अध्यक्ष भएको छ–आठ महिना वा वर्ष दिनजस्तो भएको थियो कि, नुवाकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका थिए । उनले परिचयका क्रममा मलाई कुन मिडियामा काम गर्नुहुन्छ भनेर सोधे । मैले भनेँ, ‘रेडियो त्रिशूली’मा । उनले होइन, काठमाडौँको कुनमा गर्नुहुन्छ भने । पहिला ‘गोरखापत्र’, ‘रासस’, ‘इमेज च्यानल’मा गरेको, तर अहिले जिल्लाका मात्रै मिडियामा काम गर्ने गरेको कुरा मैले सुनाएँ । ती प्रजिअ अचम्ममा परे र भने, ‘काठमाडौँको ठुलै मिडियामा काम गर्नेहरू मात्रै पत्रकार महासङ्घका अध्यक्ष भएको सुनेको थिएँ, तपाईं जिल्लाको रेडियोमा काम गरेर पनि अध्यक्ष हुन सक्नुभएछ ।’ उनले साँच्चिकै अचम्म मानेर मलाई सोधेका थिए । मैलेचाहिँ मनमनमा भने जग गतिलो भयो भने भित्तेपत्रिकामा काम गरे पनि यो अवसर प्राप्त हुन्छ भन्ने ठम्याइसकेको थिएँ ।

मेरो जग : वि.सं. २०६१ को तिहार मनाएपछि मेरो राहदानी बनाउने कुरा भयो । घरपरिवारमा भएको सल्लाहअनुसार स्पेनमा रहेका मेरो काकाको रेस्टुरेन्टमा काम गर्ने गरी म बिदेसिने भएँ, तर मनले मलाई त्यसो भनिरहेको थिएन । र पनि, पासपोर्ट बनाउन घान हालेँ । आइए पढ्न काठमाडौँ बसेको म, पासपोर्ट लिन विदुर आएँ । वि.सं. २०६१ मङ्सिर महिनाको कुरा थियो । कक्षा १० पढ्दादेखि नै गाउँमा भित्रेपत्रिका निकालेर पत्रकारिताको अभ्यास गरिरहेको मैले काठमाडौँमा पत्रकारिता पढ्न थालेसँगै साप्ताहिक पत्रिकाहरूमा काम सिकिरहेको थिएँ । मलाई पत्रकारिता गर्न असाध्यै रहर थियो । जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट लिई विदुर चोकमा आएर काठमाडौँ जाने बस कुर्दै थिएँ । जिल्लाबाट प्रकाशन हुने पत्रिका खोजेर हेर्न थालेँ । ‘त्रिशूली प्रवाह’ले त्यसवेलामा नै नुवाकोट, रसुवा र धादिङमा आफूलाई ‘कान्तिपुर दैनिक’ बनाइसकेको थियो । ‘त्रिशूली प्रवाह’मा पत्रकार आवश्यकताको सूचना देखेँ । सायद बिहीबार नै थियो त्यो दिन र सूचना मैले विदुरमा पढेँ । काठमाडौँका माछापोखरी, गोंगबुलगायत ठाउँमा पुग्दा पनि म ‘त्रिशूली प्रवाह’ नियमितजस्तै पढिरहेको हुन्थेँ । म काठमाडौँ गएँ, एक–दुई दिनपछि ‘त्रिशूली प्रवाह’को कार्यालयमा फोन गरेँ । ‘शरणउत्सुक सापकोटा’सँग कुरा भयो । काम गर्ने भए आइहाल भन्नुभयो शरण दाइले, म आइएको दोस्रो वर्षको अन्तिम–अन्तिम समयतिर थिएँ । पर्सिपल्ट एउटा झोला बोकेर विदुर ओर्लिएँ । ‘त्रिशूली प्रवाह’को पहिचान र त्यसमा नाम जोडिनाको सहजता सिकारु पत्रकारका लागि असाध्यै धेरै थियो । ‘त्रिशूली प्रवाह’भन्दा अगाडि नै आंशिक रूपमा जोडिएर काम गरेको नुवाकोटको ‘विमान साप्ताहिक’ बन्द भइसकेको थियो । आइए पहिलो वर्ष पढ्दादेखि मङ्गलबार नुवाकोटबाट प्रकाशन हुने ‘विमान’का लागि आइतबार नै काठमाडौँबाट नुवाकोट आउने गरेको थिएँ । यो क्रम झन्डै डेढ वर्ष चलेको थियो । वि.सं. २०६१ पुसदेखि ‘त्रिशूली प्रवाह’सँग जोडिएर सुरु भएको मेरो व्यावसायिक पत्रकारिता जीवन १९ वर्ष पूर्ण रूपमा नुवाकोटमा बित्यो । ‘विमान साप्ताहिक’सहित हिसाब गर्दा साढे २० वर्ष नुवाकोटमा पत्रकारिता गरेर बिताएँ ।
शरण दाइ त्यसवेला ‘त्रिशूली प्रवाह’का प्रकाशक मात्रै थिए, सम्पादक रामचन्द्र दाइ थिए । दिनेश आचार्य दाइको नियमित स्तम्भ सनसनीपूर्ण र पत्रिकालाई प्राप्त हुने मार्गनिर्देशन उच्च तहको थियो । यी वातावरणमा झन्डै पाँच वर्ष ‘त्रिशूली प्रवाह’मा काम गरेँ जसले मलाई म हुन र उतिवेलाको ‘आगो पत्रकार’ (पछि बिस्तारै भुत्ते भइयो) बनाउन काम ग¥यो । ‘त्रिशूली प्रवाह’बाट नुवाकोटमा तयार भएको मेरो आधार यति फराकिलो र बलियो बन्यो कि, त्यसलाई अहिले समीक्षा गर्दा आफैँलाई जिब्रो टोक्न मन लाग्छ । ‘त्रिशूली प्रवाह’ पछि जिल्लामै मेरो सहभागितामा तीन दैनिक पत्रिका प्रकाशन भए । ‘इमेज साप्ताहिक’ त १७ वर्ष म आफैँ प्रकाशक रहेर भर्खरै सहकर्मी भोला पौडेललाई जिम्मा लगाएको छु । तेह्र वर्षदेखि ‘रेडियो त्रिशूली’ अनवरत प्रसारणमा आइरहेको छ । मलाई पत्रकार महासङ्घ नुवाकोटको दुई कार्यकाल अध्यक्ष बन्ने अवसर प्राप्त भयो । म सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब)को एक कार्यकाल केन्द्रीय सदस्यमा चुनिएँ ।

अहिले व्यावसायिक पत्रकारितालाई स्थगन गरेर २०८० साल मङ्सिरदेखि प्रवासमा छु । ४० वर्षे जीवनमा पत्रकारिता मात्रै गरियो । मैले मेरो योग्यता र क्षमताअनुसारको जिम्मेवारी तथा नेतृत्व गर्ने अवसर अधिक पाएँ जस्तो लाग्छ । यसको जग ‘त्रिशूली प्रवाह’ साप्ताहिक हो । एउटा सुन्दर संयोग यसै साप्ताहिकको २६औँ वार्षिकोत्सव मनाएर शुक्रबार नै प्रवासको कार्यस्थल पोर्चुगल जाँदै छु । ‘त्रिशूली प्रवाह’ लाई कोटिकोटि शुभकामना !

(लेखक नेपाल पत्रकार महासङ्घ नुवाकोटका निवर्तमान सभापति हुन् ।)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह