हरेका बिहीबार आफ्नो ढोकामा पुग्ने त्रिशूली प्रवाह हेरेर जिल्लाभरमा कहाँ के भएछ भन्ने थाहा पाउने पाठकका लागि अहिले परिवेश फेरिएको छ । कुनै समय यस्तो थियो, गाउँगाउँका विद्यालय र स्वास्थ्य चौकीमा प्रकाशनको दुई दिनपछि पुग्ने पत्रिकाका समाचार पनि ‘नवीन’ लाग्थे । ०६० सालतिरको कुरा हो, हरेक बिहीबार त्रिशूली प्रवाहले के लेख्यो भनेर हामी पत्रिका खोज्दै तारुकाबाट देवीघाटस्थित राजाराम पुडासैनीले सञ्चालन गरेको पुडासैनी स्टेसनरी पुग्थ्यो । त्यहाँ एउटा पत्रिका किनेर ज्याकेटको भित्री बगलीमा लुकाउँथ्यौँ । घर पुगेर पूरै ८ पृष्ठमा भएका खबरहरू पालैपालो पढ्थ्यौँ ।त्यसरी देवीघाट नधाउने हो भने विदुरबाट गाउँमा पत्रिका पुग्न अर्को एक दिन लाग्थ्यो । हामी त्यो एक दिनको समय गुजार्न तयार थिएनौँ । खबरको भोक ‘तात्तातै’ मेट्न आतुर हुन्थ्यौँ ।
२०५७ साल वैशाख १ गतेदेखि सुरु भएको त्रिशूली प्रवाहमा म प्रत्यक्ष रूपमा २०६० सालतिर जोडिएको थिएँ । गाउँमा बनेका स–साना मठ–मन्दिर, चौतारो र विद्यालयमा हुने गतिविधि लेख्दै पत्रकारितामा प्रवेश गरेको यस पङ्क्तिकार अहिले दुई दशक नाघ्दा पनि यसको प्रकाशनलाई निरन्तर राख्नमा प्रयासरत छु । मैले त्रिशूली प्रवाहलाई आफ्नो पत्रकारिताको गुरु सम्झेको छु । मेरो काठमाडौं प्रवेशपछि टेक्ने धरातल बनेको एक मञ्च हो – त्रिशूली प्रवाह । सुरुवाती दिनहरूमा काठमाडौंको माछापोखरीबाट त्रिशूली जाने बसभित्रका यात्रुहरूले एक सयभन्दा बढी थान पत्रिका किन्थे । आसपासका पसलेहरूको पनि निकै खोजीमा पथ्र्यो त्रिशूली प्रवाह । ०६० को दशकमा पत्रिकाको खोजी खुवै हुन्थ्यो । माओवादी सशस्त्र द्वन्द्वको प्रभावका कारण गाउँ छाडेर सहरमा सामान्य व्यवसाय गरेर बसेका नुवाकोटेका लागि त्रिशूली प्रवाह जिल्लाको भरपर्दो सूचनाको स्रोत थियो ।
समय बित्दै गयो । ०७० को दशकमा पुग्दा सूचना र प्रविधिको विकाससँगै पत्रिकाको बिक्री भनौँ वा खोजी कम हुँदै गयो । तैपनि त्रिशूली प्रवाहको खोजी गर्ने पठकको भने कुनै कमी थिएन । ०८० को दशक नपुग्दै नेपालमा छापा पत्रकारिताको भविष्य अन्योलमा प¥यो । कोभिड १९ सुरु भएयता पत्रिकाको बजार विस्तारै कम हुँदै गयो भने न्यु मिडियाको रूपमा आएका अनलाइन र युट्युबहरू फस्टाउन थाले । अहिले कोही नुवाकोटेलाई जिल्लाको समाचार पढ्न बिहीबार बिहान पत्रिका किन्न विदुर चोक वा वरपरको पत्रिका पसल धाउनुपर्दैन । सबैको हातहातमा स्मार्ट फोन छ । गाउँगाउँमा इन्टरनेटको सुविधा पुगेको छ । जिल्लाको कुन क्षेत्रमा के भयो भन्ने कुरा सामाजिक सञ्जालको माध्यमबाट तत्कालै जानकारी पाइने अवस्थामा हामी पुगेका छौँ । अझ बिहीबार बिहानै आफ्नो मोबाइलको ह्वाट्सएपमा त्रिशूली प्रवाहको पिडिएफ फाइल पुगिसक्छ । त्यति गर्दा पनि धेरैलाई थाहा भइसकेको खबरसमेत पत्रिकामा देखिन्छ ।
जाडो महिनामा विदुर चोकको चियापसलमा चियाको चुस्कीसँगै पत्रिकामा छापिएका समाचर पढ्नेहरूको सङ्ख्या अहिले न्यून भइसकेको छ । अहिले त जिल्लामा कुनै घटना भएमा गाउँका बा-आमाको मोबाइलमा भिडियोसमेत पुगिसक्छ ।कोरोनाको असरका कारण विश्वभरका विकसित मुलुकमा छापा सञ्चारमाध्यमहरू टिक्न धौधौ भए । त्यसको असर हाम्रो देशका सञ्चार संस्थाहरूले पनि नभोगी सुख पाएनन् । अहिलेको जल्दोबल्दो प्रश्न भनेको पत्रिका कसरी बाँच्न सक्छन् भन्ने छ । एकातिर विज्ञापनको बजार साँघुरिँदै गएको छ । अर्कोतिर दक्ष जनशक्ति यस क्षेत्रबाट पलायन भइरहेको छ । राज्यले संरक्षणकारी भूमिका देखाउन नसकेको अवस्थामा प्रिन्ट मिडियाको भविष्य अन्धकार देखिन्छ ।
कोभिडपछाडिको प्रभाव सबै क्षेत्रमा एकै खालको हुँदैन । साना मिडियाको तुलनामा ठुला मिडिया संस्थाहरूलाई झन् बढी समस्या परेको छ । किनकि, यिनमा ठुलो लगानी भएको छ । नेपालको विज्ञापन बजार भनेको १० अर्ब रुपैयाँहाराहारीको मात्रै हो । प्रिन्ट मिडियाले यसको करिब ४७ प्रतिशत विज्ञापनको हिस्सा ओगटेको अवस्था देखिन्छ । तैपनि आज कतिपय छापा सञ्चारसंस्थाहरू बन्द रहेका, कतिपयले पृष्ठसंख्या घटाएका छन् ।
हिजो खुलापनले गर्दा देशको आवश्यकता, विज्ञापनको बजार र जनताको मिडिया खपत गर्ने क्षमताभन्दा धेरै सञ्चारगृहहरू स्थापना भए । अझ भन्नुपर्दा सञ्चार उद्यममा एक खालको बाढी नै आयो । विश्वका अन्य देशको औसतभन्दा धेरै मिडिया सञ्चालन भएको नेपालमा अब भने त्यसको असर देखिँदै छ । अर्थात् धेरैको अस्तित्व मेटिनेवाला छ । मिडियामा लागेर जीविकोपार्जन हुन सक्ने अवस्था नदेखेपछि स्वतः सञ्चारकर्मीहरू पलायन हुनेछन् । नेपालमा दक्ष पत्रकार भनेको हजार–बाह्र सय मात्रै हो । तीमध्ये पनि जोसँग बहुक्षमता छ, ऊ मात्रै अब मिडियामा टिक्न सक्ने परिस्थिति बन्दै गएको छ ।
नेपालमा बिक्री प्रवद्र्धन (बजारीकरण) का लागि नै विज्ञापन गर्ने गरिन्छ । जबकि अन्य देशमा ब्रान्ड स्थापित गर्न बढी विज्ञापन गरिन्छ । बिक्रीको निश्चित प्रतिशत विज्ञापनमा खर्च गर्नेहरूले बिक्री घटेपछि विज्ञापन गर्ने कुरै भएन । यहाँ उत्पादनभन्दा आयात गरेर ल्याएको सामानको बजार बिक्री बढाउन गरिने विज्ञापनको अवस्था कोभिडले खल्बलिने पक्का छ । कोभिडपश्चात् देखिएको अर्थतन्त्रको यो समस्या कति समय लम्बिन्छ, थाहा छैन ।
आम मानिसमा अब मास मिडिया (आमसञ्चार)का माध्यम जस्तैः पत्रपत्रिका, रेडियो, टेलिभिजन) नै किन चाहियो र ? भन्ने भावना आउन सक्ने देखिन्छ । एकातिर सामाजिक सञ्जालहरूबाट तुरुन्तातुरुन्तै सूचना वा मनोरञ्जन पाउन सकिन्छ भने अर्कोतिर अधिकांश मानिसलाई हातमुख जोर्ने नै मुख्य चिन्ताको विषयले सताएको छ । यस्तो वेला सञ्चारमाध्यमले वर्तमानमा मानिसले भोगिरहेको समस्याको उजागर गर्न थप प्रयत्न गर्नुपर्ने देखिएको छ । अन्यथा मानिसहरू किन पैसा खर्चेर यस्ता सञ्चारमाध्यमको उपयोग गर्लान् र ? बजारिकरण र समाचार सम्प्रेषण दुवैतर्फ अब नवीन ढङ्गले सोच्ने र प्रस्तुत गर्ने वेला आएको छ । यस्तो परिस्थिति तयार पार्न सके मात्रै पत्रकारिता टिक्न सक्छ ।
आज पनि आधुनिक भनिने पश्चिमा दुनियाँमा कतिपय छापा माध्यमहरूले आफ्नो अस्तित्व जोगाइरहेका छन् । यसका लागि उनीहरूले समाजलाई प्रतिबिम्बित गर्ने प्रयास गरिरहेका छन् । मानिसलाई चाहिनेभन्दा ज्यादा सूचनाको बाढी आउने अहिलेको परिस्थितिमा ती सूचनाको विश्वसनीयता भने अन्योलमा छ । यही विश्वसनीयता कायम राख्ने र कुनै पनि घटनालाई वस्तुनिष्ठ रूपमा बुझाउने कोसिसमा पत्रकारिताले थप मिहिनेत गर्नुपर्ने भएको छ । हामी यो प्रयासमा प्रतिबद्ध छौँ र थप परिष्कृत गर्दै लान तम्तयार पनि छौँ । यसका लागि हामीलाई तपाईं पाठक, विज्ञापनदाता र सूचनादाताहरूको सहयोग सर्वाधिक जरुरी रहनेछ ।
प्रतिक्रिया