स्वच्छ पत्रकारिताको मानक बनोस्

  • रिना खनाल
  • ५ बैशाख २०८२, शुक्रबार १३:०९

स्थानीय सञ्चारमाध्यम समाज परिवर्तनको संवाहक हो । यसले स्थानीय जनताको आवाज उठाउनाका साथै आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुयाउँदै आएको छ । मिडियाले समाजलाई सूचित, शिक्षित र सचेत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । पत्रकारिता सत्यको खोजी मात्र होइन, न्यायको पक्षपोषण र समाज रूपान्तरणको अभियान पनि हो । अहिले पत्रकारिता छापामा सीमित नरहेर मल्टिमिडिया बनिरहेको छ ।

नुवाकोटको विदुरबाट प्रकाशित यस पत्रिकामा वेलावेला मेरा पनि लेख, आलेख प्रकाशन भएका छन् । यसले मलाई आफ्नो विचार प्रस्तुत गर्ने, समाजका विभिन्न विषय उठाउने तथा परिवर्तनका लागि आवाज बुलन्द गर्ने अवसर दिएको छ । नुवाकोट, रसुवा र धादिङलाई कार्यक्षेत्र बनाएर प्रत्येक बिहीबार प्रकाशन हुँदै आएको ‘त्रिशूली प्रवाह’ साप्ताहिक पत्रिकाले नयाँ वर्ष २०८२ को सुरुवातसँगै २६ वर्ष पूरा गरेको छ । नुवाकोटको पत्रकारितामा महत्वपूर्ण योगदान पु¥याएको यस साप्ताहिक पत्रिकाले समाजका विविध पक्षलाई उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्दै आएको छ । चाहे सामाजिक असमानताको सवाल होस्, चाहे भ्रष्टाचारको पर्दाफास होस् वा विकास निर्माणका सम्भावनाको खोजी गर्ने कार्य होस्, त्रिशूलीको अविरल प्रवाहले जस्तै यसले पनि आफ्नो धर्म निर्वाह गरिरहेको छ । ग्रामीण भेगका आवाजविहीनको आवाज बनेको यस पत्रिकाले नुवाकोटलाई मात्रै होइन, सिङ्गो समाजलाई प्रभावित गर्ने सामग्री पस्कँदै आएको छ ।

पत्रिकाको भिडमा अलग्गै पहिचान बनाउन पत्रिका सफल छ । स्वच्छ पत्रकारिताको मानक बन्न पत्रिकाका सामु अरू जिम्मेवारी थपिएका छन् । चिरकालपर्यन्त आफ्नो यस पहिचानलाई यसले कायम राख्न सकोस् । नुवाकोटको मात्र नभई देश र विश्वभर जहाँ जहाँ नेपाली छन्, यो त्यहीँसम्म पुग्न सकोस् भन्ने कामना छ । यसले समाजमा नयाँ आशा जगाउँदै सुन्दर सपना साकार पार्ने दिशामा विशेष भूमिका निर्वाह गरोस् । पत्रिकामा आबद्ध सम्पूर्ण टोलीलाई हार्दिक बधाईका साथ आगामी दिनमा अझ प्रभावकारी, जनोत्तरदायी र निष्पक्ष पत्रकारिताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

महामण्डल, नुवाकोट