बन्ने भयो चिम्टेश्वर मन्दिर

  • त्रिशूली प्रवाह
  • ५ बैशाख २०८२, शुक्रबार १३:२२

बेलकोटगढी । नुवाकोटका ऐतिहासिक धार्मिक सम्पदामध्ये बेलकोटगढी नगरपालिकामा रहेको चिम्टेश्वर महादेव मन्दिर नयाँ स्वरूपमा बन्ने भएको छ । बेलकोटगढी नगरपालिकाले गत फागुनमा मन्दिर निर्माणका लागि बोलपत्र सूचना आह्वान गरेको थियो । उक्त सूचनाअनुसार प्राप्त बोलपत्रमध्ये दुर्गा शेर निर्माण सेवा ललितपुरले भ्याटसहित रु. एक करोड ९३ लाख १६ हजार एक सय ८६ मा सकारेको छ । नगरपालिकाले कानुनी प्रक्रिया पूरा गरेर दुर्गा शेरको बोलपत्र स्वीकृत गरेको जानकारी दिएको छ । नगरपालिकाका वडा नम्बर १, २, ३, ४, १० र ११ को केन्द्रमा रहेको महादेवको मूर्ति खुला स्थानमा राखी पूजा गरिँदै आएको थियो । मन्दिर बनेपछि पुजारीको व्यवस्था गरी मन्दिरमा नियमित पूजापाठ गराउने योजना रहेको नगरप्रमुख जगतबहादुर गुरुङले बताए ।

मन्दिरपरिसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षअघि निर्माण भएको भ्युटावर अहिले बेवारिसे बनेको छ । बागमती प्रदेश सरकारको झन्डै रु. तीन करोडको लागतमा दृश्यावलोकन गर्न बनाइएको टावर सञ्चालनमा आउन सकेको छैन । ७० फिट अग्लो भ्युटावर अघिल्लो कार्यकालका बेलकोटका नगरप्रमुख राजेन्द्ररमण खनाल र बागमती प्रदेश सभाका सदस्य एवम् पूर्वमन्त्री केशवराज पाण्डेको पहलमा बनाइएको थियो । उनीहरू दुवै एमालेका रहेकाले र अहिलेका नगरपालिका प्रमुख नेकपा माओवादी केन्द्रका भएकाले भ्युटावर सञ्चालन हुँदा एमालेलाई जस जाने भन्दै सञ्चालनमा नगरपालिकाले चासो नदिएको एमाले नुवाकोटले आरोप लगाएको छ ।

वि.सं. २०७० वैशाख १ र २ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको आयोजनामा नुवाकोटको रानीपौवाबाट चिम्टेश्वर हुँदै देवीघाटसम्मको पदयात्रा गरिएपछि यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्व बढेको हो । उक्त पदयात्राका क्रममा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाललगायत सहभागी भई चिम्टेश्वर मन्दिरमा एक रात विश्राम गरेका थिए । नुवाकोट आक्रमणको पहिलो किल्लाका रूपमा चिनिएको चिम्टेश्वर सतीदेवीको कुनै अङ्ग पतन भई शिवलिङ्ग उत्पत्ति भएकाले सो स्थलको नाम चिम्टेश्वर रहन गएको श्रीस्वस्थानी कथामा उल्लेख भएको स्थानीय प्रकाश सापकोटाले बताए । अर्काे किवंदन्तीअनुसार महादेव समुद्र मन्थनपछि पिइएको कालकुट विषको डाह शान्त गर्न उत्तरापन्थ लाग्दा थकाइ लागेपछि विश्रामका लागि सो स्थलमा बसेर हिँड्दा चिम्टा हराएकाले पनि सो स्थानको नाम चिम्टेश्वर रहेको मानिन्छ । चिम्टेश्वरमा बालाचतुर्दशी, हरितालिका, शिवरात्रि र वैकुण्ठ चतुर्दशीमा विशेष पूजा र मेला लाग्छ । मन्दिर व्यवस्थापनका लागि हालसम्म सरकारी संयन्त्र नभएकाले आयव्ययको व्यवस्थित हिसाब देखिँदैन । यहाँ चढाइने भेटी केटाकेटी वा जोसुकैले टिप्ने गरेको स्थानीय बताउँछन् ।

बालाजु–त्रिशूली सडक (पासाङल्हामु) मार्गको ‘३४ किलो’ भनिने सिस्नेरीबाट करिब ११ किलोमिटरको कच्ची मोटरबाटो पार गरेपछि पुग्न सकिने चिम्टेश्वरबाट १३ हिमाल र १५ जिल्ला देख्न सकिने भएकाले यसलाई पर्यटकीय क्षेत्र मानिएको छ । वनभोज तथा मनोरञ्जनका कार्यक्रम आयोजना गराउन यो उपयुक्त र रमणीय स्थान रहेको नेकपा (एमाले) बेलकोटगढी नगरपालिकाका नेता नवराज तिवारीले बताए । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्राप्त बेलकोटगढीका गोपीप्रसाद कँडेलले बताए, ‘पृथ्वीनारायण शाहले नुवाकोटबाट एकीकरणको अभियान सुरु गरेर आधुनिक र सुन्दर नेपाल निर्माण गरेझैँ अहिलेको पुस्ताले विकास र समृद्धिको अभियान नुवाकोटबाटै सुरु गरी समृद्ध नेपाल निर्माणमा योगदान गर्न सक्नुपर्छ ।’ वि.सं. १७७९ पुस २७ गते गोरखामा जन्मेका राजा शाहको वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।