
‘त्रिशूली प्रवाह’ साप्ताहिक पत्रिका आज २५ वर्ष पूरा गरी २६औँ वर्षमा प्रवेश गरेको छ । २५ वर्षअघि वि.सं. २०५७ वैशाख १ गते बिहीबारदेखि प्रकाशन प्रारम्भ भएको यस साप्ताहिकले बहुदलीय प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन, २०६२/०६३ को जनआन्दोलन, गणतन्त्र नेपालको संविधान जारी, संविधान र त्यसपछिका दुई संसदीय निर्वाचन व्यहोरेको छ । दशवर्षे सशस्त्र सङ्घर्षका कठिन दिनको सम्झना पनि यतिखेर हुन्छ । निडर र निर्भीक भएर यसले खासगरी ‘पश्चिम १ नम्बर’ तथा बागमती प्रदेश र अझ मुलुकका विकास निर्माण, सार्वजनिक सेवा, सुशासनका पक्षमा देखेसम्म, भ्याएसम्म आवाज उठाइनै रहेको छ । जनताका समस्या, प्रशासनिक अनियमितता र दलीय विकृतिबारे पनि बारम्बार औँल्याउन छाडिएको छैन ।
गणतान्त्रिक वातावरणमा छिटो–छिटो राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नहुँदा अहिले देशलाई अस्थिरता बनाउन चाहने पुनः जुर्मुराउन थालेका छन् । राजतन्त्र पुनस्र्थापना गराउन भन्दै केही समूह सामाजिक सञ्जालको भित्ता रङ्ग्याउन र सडकमा ओर्लिन पनि थालेका छन् । २१औँ शताब्दीमा पनि सार्वभौमसत्तासम्पन्न नेपाली जनता अब कसैको रैती र दास बन्न तयार छैनन् भन्ने स्पष्ट नै छ । गत वर्ष चैत १५ गते राजावादी समूहको प्रदर्शनमा काठमाडौँको तीनकुनेमा दुईजनाले अनाहक ज्यान गुमाउनुप¥यो । मुलुकका त्यस्तैखाले उपद्रव मच्चाएर उक्त समूह प्रभुको शासन चाहिरहेको छ । विष्णु अवतारको शासनमा चुइँक्क बोल्न र लेख्न पनि पाइन्नथियो भन्ने कुरा त अघिल्लो पुस्ताले भोगेकै थियो । इन्टरनेटमा रमाएर मनग्गे मज्जासँग स्वतन्त्रता भोगिरहेको अहिलेको जेनजी पुस्ताले त्यस्तो राज्य व्यवस्था चाहलान् भन्ने त कल्पना पनि गर्न सकिँदैन ।
विश्व अहिले सूचना र प्रविधि क्षेत्रमा चामत्कारिक रूपले अगाडि बढेको छ । यस स्थितिमा नेपालजस्ता देश चिप्लेकिराका गतिमा हिँड्न सुहाउँदैन । जनताका अपेक्षा पु¥याउन वा तिनलाई डेलिभरी दिन नसक्ने हो भने विकल्पबारे पक्कै सोच्न थालिहालिन्छ । अहिले जनताका पक्षमा काम गर्न नसकेकाले व्यवस्थाभन्दा पनि दलका नेतृत्व र सरकारको कार्यशैलीप्रति केही विरोध उठेको हो । सरकारप्रतिको आक्रोश आखिर व्यवस्थामाथि पनि सोझिन सक्छ, यसप्रति गणतान्त्रिक दल र सरकारले बेलैमा सोच्नुपर्ने हुन्छ । गणतन्त्र पक्षधर दल र सरकारले आफ्ना व्यवहारमा सुधार गर्न आवश्यक छ । भाषणले जनता वाक्क भइसकेको कुरा अब त राजनीतिक दल, तिनका नेता र सरकारमा बस्नेहरूले बुझ्नुपर्ने हो ।
लोकतन्त्रका लागि लडेका दलहरूका गतिविधिका कारण प्रेस स्वतन्त्रता तथा मुलुकको समग्र अवस्था सङ्कटोन्मुख हुँदै छ । यो अत्यन्त दुःखद हो । यस परिस्थितिमा पत्रकारिताका माध्यमबाट हामीले आफ्नो जिम्मेवारीलाई अझ परिष्कृत गर्दै लैजान प्रण गरेका छौँ । हाम्रो यस प्रयासमा पाठकवर्ग, विज्ञापनदाताबाट प्राप्त सहयोग तथा हौसला हाम्रा लागि ऊर्जा तथा पुँजी हो ।
मुलुकको समग्र विकास र लोकतन्त्रलाई भरलाग्दो तुल्याउन पत्रकारिताको अहम् भूमिका रहन्छ । बदलिँदो विश्व परिस्थितिमा फेरि पत्रकारिताको असल अभ्यासको आवश्यकता महसुस गरिएको छ । सूचना प्रविधिको विकाससँगै फैलिएको कुसूचनाले पनि पत्रकारिताको महत्व अरू बढाएको छ । हामी जिम्मेवारीबोधका साथ अगाडि बढ्ने प्रण गर्छौँ । पत्रकारितालाई लयमा फर्काउन देखिएका चुनौतीलाई आगामी वर्ष हामी सामना गर्न तत्पर हुनेछौँ । हाम्रो पेसागत कर्मलाई सामान्य अवस्थामा फर्काउँदा हाम्रो मात्र होइन, मुलुकको समेत हित हुनेछ । अहिले सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा नौलाखाले चुनौती देखिएका छन् । कुसूचना फैलाउन प्रविधिले जसरी मद्दत गरेको छ, त्यसको रोकथाम र उत्कृष्ट पत्रकारिता अभ्यासका निम्ति हाम्रा लागि अवसरसमेत हो । हामी पत्रकारितामार्फत जानकार नागरिक समुदाय निर्माणका लागि क्रियाशील हुनेछौँ । यो नै लोकतन्त्रका निम्ति गरिने उत्कृष्ट सेवा हुनेछ ।
पत्रकारिताले सही सूचना दिन सक्दा मात्र नागरिकको प्रश्न गर्ने क्षमता बढ्छ । प्रश्न गर्न सक्ने जानकार नागरिक समुदाय निर्माण सही सूचना प्रवाहबाटै सम्भव छ । त्यसका निम्ति हामी सदैव क्रियाशील छौँ । आजको दिनमा पत्रकारिताको महत्व अरू बढेको छ । प्रत्येक नागरिक आज सूचना प्रवाहसँग जोडिएका छन् । तर, सूचनाको सञ्जालमा रहेका नागरिकलाई बाटो देखाउन पत्रकारिताको सही अभ्यासको आवश्यकता छ । अहिले जसरी गलत सूचना फैलिन सहज भएको छ, त्यसैगरी राम्रो पत्रकारिता अभ्यासबाट नागरिकमा सही जानकारी पुग्नुपर्ने अवस्था छ । सही सूचनाले मात्र बाटो देखाउन सहज हुन्छ । यस पक्षमा आगामी दिनमा हामी थप क्रियाशील हुन प्रतिबद्ध छौँ ।
पत्रिकाको २६औँ वार्षिकोत्सवका अवसरमा हामी हाम्रा पाठकवर्ग, शुभचिन्तक तथा विज्ञापनदाताप्रति हार्दिक आभार प्रकट गर्दै सबैमा नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दछौँ । यस अवसरमा आफ्नो कर्तव्यमा इमानदारीपूर्वक लागेर पत्रिकाको प्रतिष्ठा कायम राख्न योगदान दिने सम्पूर्ण पत्रकार तथा यसमा संलग्नप्रति आभारी छौँ ।
शरण उत्सुक
प्रकाशक