+
Search

ताजा अपडेट +

पपुलर +

मोफसल पत्रकारिता र त्रिशूली प्रवाहको अविराम यात्रा

मोफसल पत्रकारिता र त्रिशूली प्रवाहको अविराम यात्रा
त्रिशूली प्रवाह
२ महिना अगाडी

त्रिशूली प्रवाहले आज २५ वर्ष पूरा गर्दै आफ्नो वयस्क जीवनमा उभ्याउन सफल भएको पाउँदा मेरा निम्ति खुसीको सन्दर्भ हो । किनकि यो १८ वर्षको यो मेरो पत्रकारिता जीवनकै महत्वपूर्ण अध्यायका रूपमा एउटा अविष्मरणीय कालखण्ड पनि रह्यो त्रिशूली प्रवाह । मैले स्कुले जीवनपश्चात् एसएलसीपछि नै पत्रकारितामा राखेको रुचिलाई पेसागत ढङ्गले अघि बढाउन यसले मद्दत पुर्याएको थियो । २०६३ पछि नै प्रशिक्षार्थी वा भनौँ सिकारु पत्रकारका रूपमा यसमा आबद्ध हुन पुगें ।

२०६७/६८ पछि प्रकाशक मेरा अग्रज अभिभावक तथा पत्रकार शरणउत्सुक सापकोटाको आग्रहमा यस पत्रिकासँग प्रत्यक्ष रूपमा जोडिएँ र प्रमुख संवाददातासम्मको भूमिकामा २०७२ सालसम्म क्रियाशील भएँ । पत्रकारितामा सङ्घर्षका ती दिनहरूमा आफूलाई खास पत्रकारका रूपमा चिनाउन, तिखार्न र पेसागत विकास गर्ने त्यो सुनौलो अवसर यसैमार्फत मैले प्राप्त गरेको थिएँ । पहिलो जनआन्दोलन २०४६ पछि मौलाएको क्षेत्र भनेकै सञ्चार हो । यसले जनतालाई जागरुक गर्यो । झन् २०६२–६३ को जनआन्दोलनपछि जिल्ला–जिल्लाबाट दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका प्रकाशन हुन थाले । पत्रिकाको आफ्नै व्यवस्थापनमा हुलाकमार्फत कुना–काप्चासम्म पुगेका छन् । यस्ता पत्रिकाहरूमध्ये कुनै मिसनको रूपमा निस्किएको मेरो विश्लेषण छ । हाम्रो मिसन भनेकै समाज र नागरिकका लागि सत्य–तथ्य समाचार र यो पेसालाई व्यावसायिकतातिर उन्मुख गराउनु हो । हो, सञ्चार क्षेत्रमै क्रियाशील हुने यही मिसनहरूमध्येकै भिडमा २५ वर्षअघि प्रकाशन सुरु गरेको त्रिशूली प्रवाह साप्ताहिकले विभिन्न समस्या र चुनौतीहरूलाई झेल्दै आजको यो अवस्थासम्म ल्याउने साहस गर्यो, यो आफैँमा महान् मिसन हो र यो स्वागतयोग्य छ । २६औँ वार्षिकीको यो अवसरमा पत्रिकाको अबको थप निरन्तरता, सफलता र उच्च लोकप्रियताको शुभकामना र बधाई व्यक्त गर्दछु । विषेश गरी यसका प्रकाशक तथा यस मिसनका योद्धा र नुवाकोटेली पत्रकारिताका अग्रज शरणउत्सुक सापकोटालाई । उनको यो निर्भीक र एक्लो प्रयास वास्तवमै प्रेरणादायी मात्रै छैन, नेपाली मोफसल पत्रकारितामै चर्चा गर्नलायक एक फरक उदाहरणीय पक्ष हो । उनको साधना र सङ्घर्ष सबैका निम्ति असल शिक्षाका रूपमा अनुशरण गर्न पाएका छौँ ।

हिजोका दिनका उनीसँग सहकार्य गर्ने सिलसिलामा होस् वा त्यसअघि र पछिका दिनहरूमा पनि उनले हामीलाई दिने प्रेरणा मेरा लागि स्मरणीय छ, रहिरहनेछ । पत्रिकालाई निष्पक्ष, स्वतन्त्र र व्यावसायिक रूपमा स्थापित गर्दै परिवर्तन र जनताका पक्षमा पस्किने समाचार, सूचनामा उनको दृढसङ्कल्प थियो नै, अझ विशेष गरी हामी पछिल्लो पुस्ताका पत्रकारहरूका लागि ऊर्जा र हिम्मतलाई मर्न नदिने प्रेरक व्यक्तित्व पनि बनिरहेको छ । यही निष्ठा, दृढविश्वासले नै पत्रिकालाई अहिलेको यो उचाइमा पुर्याएको छ । हुनत त्यो समय पत्रपत्रिकाको निरन्तरतामा अनेकौँ चुनौतीहरू थिए । आजको जस्तो स्रोत, साधनको उपलब्धता, प्रविधिको सुविधा थिएन । कतिपय पत्रिकाहरू दर्ता मात्रैमा सीमित रहन्थे त कतिपय दुई–चार अङ्क वा महिनामै प्रकाशन हुँदै बन्द हुँदै गर्दथे । नुवाकोटको पत्रकारिताको त्यो विरासत अझै पनि छ । कारण, मोफसल त्यसमा पनि नुवाकोटजस्तो साँधुरो र सीमित विज्ञापन बजारक्षेत्र, भएका सीमित र थोरै विज्ञापनले पत्रिका धान्नुपर्ने अवस्था, डिजाइनिङ, छपाइ र समाचार सङ्कलन पनि उत्तिकै जटिल र खर्चिलो छ । त्यो सङ्घर्षको यात्रा पार गर्दै आजका दिनमा नेपालका प्रकाशन भइरहेका स्थापित पत्रपत्रिकाहरूमध्ये मोफसलबाटै यसले आफ्नो श्रेष्ठतम् योग्यता हासिल गरिसकेको छ, समाचार र सूचनाको क्षेत्रमा ‘त्रिशूली प्रवाह’ नाम नै ब्रान्ड बनिसकेको छ । सरकारी वर्गीकरणमा यो ‘क’ वर्गमा समेटिनु, जिल्लाबाहिर र राजधानीका विज्ञापन तथा त्यसका बजार क्षेत्रसम्म पहुँच स्थापित हुनुमा अनेक बाधा, अवरोध र झन्झटहरू व्यहोर्दै आजको यो स्थितिसम्म पाइला टेक्नु नै यसको अर्को सर्वोत्तम उपलब्धि मान्नुपर्छ ।

पत्रिकाले यो उचाइ हासिल गर्नुमा यसका संस्थापक सम्पादक तथा नुवाकोटेली पत्रकारिताका अर्का अग्रज रामचन्द्र भट्टदेखि हालका सम्पादक विष्णु तारुकेसम्मको अविश्राम मिहिनेत र योगदान छ । पत्रिकाको सुरुवाती दिनदेखि सम्पादनजस्तो जटिल जिम्मेवारीसँगै जनआकाङ्क्षाका विषयलाई समाचारको माध्यमबाट सामाजिक जागरण ल्याउन भट्टले योगदान गरे । त्यो उनको भूमिका आज स्वदेशबाट सात समुद्रपार अमेरिकी परदेशी भूमिमा पुगेको एक दशक पुगिसक्दा पनि रोकिएको छैन । बरु, पत्रकारिताकै निम्ति कलमजीवी भएर जीवन समर्पण गर्न जन्मिएका भट्टको देन समग्र नेपाली पत्रकारिता र यस साप्ताहिकका निम्ति अविश्रान्त बनिरहेको देख्दा उनी हाम्रा निम्ति अर्का भुल्न नसकिने प्रेरणाका स्रोत हुन् । यसैगरी, नुवाकोटको साँघुरो घेराघित्रबाट देशकै केन्द्रीय राजधानी काठमाडौंको भिडमा त्रिशूली प्रवाहलाई चिनाउने, विस्तार र स्थापित गराउन तारुकेले आफ्नो ऊर्जाशील जीवन खर्चिए । त्यो क्रम आजपर्यन्त जारी छ तारुकेको । यसबिचमा, अन्य कैयन् पत्रकार यसले जन्माइसकेको छ । त्रिशूली प्रवाहसँगै जोडिएर आउने अग्रज पत्रकारहरूको सूचिमा कपिलदेव खनाल, नवदीप श्रेष्ठ, देवचन्द्र भट्ट र मेरा हितैषी मित्र विनय बञ्जारा पनि मुख्य पात्रहरू हुन् । जसविना यस साप्ताहिकको यात्रा यात्राजस्तो नहुन सक्थ्यो र आजसम्मको सफलताका पछाडि उनीहरूको अक्षरखेती त्रिशूली प्रवाहको सुन्दरताका रङहरू पक्कै थिए । उनीहरूले पनि यसमार्फत नुवाकोटेली पत्रकारितमा योगदान गर्दै आफ्नो श्रेष्ठता र उचाइ लिइसकेका छन् ।

नेपालमा पत्रपत्रिकाको वर्तमान अवस्था र त्रिशूली प्रवाह
सय वर्षभन्दा बढीको नेपाली पत्रकारिताको इतिहासलाई हेर्दा अहिले नेपालमा १० हजारभन्दा बढी पत्रिका दर्ता भएका छन् । पत्रपत्रिकाको प्रकाशन सुरु भएसँगै नेपाली पत्रकारिताले थुप्रै समस्या पनि झेल्दै आएको छ । नेपालको राणाशासनको व्यवस्था हुँदै तीसवर्षे लामो पञ्चायती व्यवस्था र शाहीकालमा पत्रिकामाथि लगाइएको अङ्कुशको कारण नेपाली पत्रकारिताले समस्याहरू झेल्न बाध्य भयो । वि.सं. २०४६ सालको प्रजातन्त्रको पुनस्र्थापना पछि नेपालमा पत्रपत्रिका प्रकाशनमा बाढी नै आएको हो । वि.सं. २०४७ सालको संविधानले प्रकाशन–प्रसारणमा स्वतन्त्रता प्रदान गरिए पनि संविधानको विभिन्न धारा र उपधारालाई आधार बनाउँदै बेलाबेलामा प्रकाशन–प्रसारण स्वतन्त्रतामाथि समेत अङ्कुश लगाउने काम भएका छन् । ६२ र ६३ को लोकतन्त्रको स्थापनासँगै पत्रिका प्रकाशनमा बाढी नै आए पनि थुप्रै पत्रिकाहरू प्रकाशन हुने र बन्द हुने क्रम पनि उत्तिकै छ । लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सम्पूर्ण प्रेस, सञ्चार जगत् उत्साहित त भएको छ नै, तैपनि राजनीतिक सङ्क्रमणकाल लम्बिँदै जाँदा र दिगो शान्तिको अभावमा नेपाली पत्रकारिताको भविष्य पनि अन्योलमै छ ।

अब नेपालमा नयाँ संविधान छ । नेपाल सङ्घीय (प्रान्तीय) भइसकेको छ । त्यस्तोवेला मोफसलको पत्रकारिताका दिनहरू आउनेछन् । त्यसकारण समयको हाँकलाई स्वीकार गर्दै आफ्नो साख बचाइराख्नु र ती महान् सम्भावनामा त्रिशूली प्रवाहजस्ता पत्रिकाले मोफसलबाट प्रान्तीय पत्रकारिताको स्वरूपमा प्रवेश गरेर पत्रकारिताको इतिहासमा नयाँ फड्को मार्दै छ । यसले सामुदायिक पहिचानलाई स्थापित गर्ने, विविधता र बहुलतालाई सम्पदाको रूपमा स्वीकार गर्ने, समाजको लोकतान्त्रीकरणलाई बल पु¥याउने काममा आफूलाई अब्बल बनाएको मेरो आफ्नै निष्कर्ष छ । गाउँगाउँसम्म चेतनाको लहर नपुगेसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव छैन । स्थानीय सञ्चारमाध्यमको शक्ति, प्रविधि र क्षमताको आधारमा मुलुक र लोकतन्त्रको मापन गर्न सकिन्छ । मोफसलका जिल्लाहरूबाट प्रकाशित हुने स्थानीय अखबारहरूमा नै ‘सच्चा नेपाल’ झल्किन्छ । स्थानीय प्रेसले स्थानीय नजिकपनलाई बढी प्राथमिकता प्रदान गर्दछ, त्यसलाई नै बढी फोकस गरेर काम गर्दछ ।

स्थानीय तहका वास्तविक सत्यतथ्य पत्तो लगाई त्यसलाई जनतासमक्ष पुर्याउने दायित्वलाई स्थानीय पत्रिकाहरूले जिम्मेवारीपूर्वक निर्वाह गरिरहेका हुन्छन् । त्यो निर्वाह त्रिशूली प्रवाहले पुर्याइरहेको यथार्थ भुल्न मिल्दैन । स्थानीय विकास निर्माणका सवालमा जनमत सिर्जना गर्ने, एकीकृत गर्ने र प्रतिबिम्बित गर्ने गरी स्वस्थ जनमत निर्माण गर्न स्थानीय छापा केन्द्रित रहेको हुन्छ । स्थानीय पत्रिकालाई बचाउन सकेमा प्रजातन्त्र रहन्छ, प्रजातन्त्र बचाउन पनि स्थानीय पत्रिकालाई टिकाउनुपर्ने खाँचो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह