+
Search

ताजा अपडेट +

पपुलर +

सिँचाइ होइन, अब सहरी विकास

सिँचाइ होइन, अब सहरी विकास
त्रिशूली प्रवाह
२ महिना अगाडी

जन्मथलो आएको चौथो दिन तल्लो पिपलटार डुल्दै गर्दा दुई फिट खाडल र सँगै पोलिथिन पाइप त्यो खाडलमा पुर्दै गरेको दृश्य देखियो । तल्लो पिपलटार विदुर नगरपालिका-५ मा पर्ने आदिवासी कुमाल जनजाति बाहुल्य बस्ती हो ।

बस्ती विकास गर्ने गरी चक्रपथको खाका तयार भइसकेको र बस्तीसमेत सोहीअनुसार बसिसकेको छ तल्लो पिपलटारमा । सुरुमा त लाग्यो – सहरीकरणका लागि सडकसँगै खानेपानीको पाइप अहिले नै बिछ्याइएको होला । पाँच इन्चजतिको पोलिथिन पाइप थियो । हाम्रो घरबाटै ठाउँठाउँमा माटो थुपारिएको दृश्य देखिएको थियो । नजिकै पाइप गाड्न खाडल खन्न र पोलिथिन पाइप जोड्न व्यस्त मानिसहरू भएछेउमा हामी पुग्यौँ । उनीहरूको जवाफ सुनेर म थप चकित परेँ । उनीहरू भन्दै थिए, ‘सिँचाइको निम्ति त्यसरी पाइप गाडिएको हो ।’ ‘अनि कहाँबाट ल्याउने हो त यति ठुलो टारमा सिँचाइ गर्न पानी ?’ मैले सोधेँ ।स्थानीय कुमाल जातिकै एक व्यक्तिले झन्डै तीन सय मिटरपरको ठाउँ देखाउँदै भने, ‘ऊ त्यहीँ बोरिङ गरेर पानी निकालिँदै छ । त्यहीँबाट निकालिएको पानीले सिँचाइ गर्नका लागि यहाँ पाइप गाड्दै छौँ हामी ।’

टोलभरि सिँचाइका लागि भनेर पाइप गाडिँदै थियो । तर, मानिसमा सिँचाइ आउँछ र खेतीपाती गर्न पाइन्छ, गाउँ हरियाली हुन्छ भन्ने उत्साह पटक्कै थिएन । त्यो काममा संलग्नहरूको एउटै ध्याउन्न देखियो– कहिले पाइप गाड्ने काम सकिन्छ र काम गरेको भुक्तानी पाइन्छ । अनि बोरिङको निर्माण कहिले सुरु हुन्छ र त्यसबाट कमाइ गर्न सकिन्छ भन्ने भन्दा न कुनै चासो, न कुनै सक्रियता नै थियो ।व्यापक बस्ती विस्तार हुँदै गइरहेको ठाउँमा सिँचाइका लागि भन्दै कसले बालुवामा पानी हाल्दै छ भन्नेतिर मेरो जिज्ञासा जाँदै गएन । नेपालले योजनाबद्ध विकास सुरु भएको सात दशकसम्म पनि कतिखेर, कहाँ के चाहिन्छ भन्नेतिर किन नीति–निर्माताहरूको ध्यान, बुद्धि, विवेक पुग्दैन भन्नेतिर मात्रै मेरो प्रश्न तेर्सिरह्यो । मैले नुवाकोटको चुनावी सरगर्मी अलिअलि बुझ्न थालेको ०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचनदेखि हो । तर, थोरै सम्झना भने ०३८ को राष्ट्रिय पञ्चायत र ०३९ को गाउँ पञ्चायतको चुनावको पनि छ । ०३८ को चुनाव हुँदा शायद तीन कक्षामा पढ्थेँ । त्यतिखेर उम्मेदवार भएका अर्जुननरसिंह केसी, जितसिंह खड्का, भद्रबहादुर खड्का, डा. प्रकाशचन्द्र लोहनीका पर्चा, पम्प्लेटहरू घरमा आइपुगेका थिए । जितसिंह खड्काको चार पेजको ठुलो चुनावी घोषणापत्रसहितको पर्चा त धेरै पछिसम्म पनि हाम्रो घरमा थुप्रै थियो । जसलाई मैले दुई–तीन वर्षसम्म किताबको गाता (कभर)समेत हालेको थिएँ । त्यो घोषणापत्रमा टारहरूमा सिँचाइको विषयलाई बडो जोड दिएर लेखिएको थियो ।

तत्कालीन उम्मेदवारहरूले आफ्नो घोषणापत्रहरूमा नुवाकोटका सुक्खा टारहरू बट्टार, पिपलटार, माझीटार, इनारपाटी, ढिकुरेफाँटलगायतमा सिँचाइ पु¥याउने भनेर प्रतिबद्धता जनाएका थिए । ०४३ को चुनावमा पनि ती सुक्खा टारहरू सुक्खै थिए । त्यसैले सिँचाइ पु¥याउने कुरा चुनावमा फेरि दोहोरियो । त्यतिखेर पनि डा. लोहनी, केसी, खड्का, गणेश पण्डित, शेरबहादुर घलेलगायत मुख्य उम्मेदवार थिए । विजयी भए डा. लोहनी र खड्का । त्यसबिचमा ढिकुरेमा सिँचाइ आयो । तर, विदुर नगरक्षेत्रका टारहरूमा भने आकासे वर्षाकै भर थियो । हरेक चुनावमा बट्टार, माझीटार, इनारपाटी, विदुरवासीलाई सिँचाइको आस देखाउने क्रम १० वर्षअघि दोस्रो संविधानसभाको निर्वाचनसम्मै निरन्तर रह्यो । ०७४ को स्थानीय निर्वाचनदेखि भने सिँचाइको ललिपप देखाउने क्रम सायद रोकियो । कारण, एक त नदीको तहभन्दा निकै माथि रहेका टारहरूमा सिँचाइ प्रविधि निकै महँगो देखियो । इनारपाटीमा केही समय चलेको लिफ्ट सिँचाइ नै दिगो र भरपर्दो बन्न सकेन ।

दोस्रो, सहरउन्मुख यी टारहरूमा करोडौँ रुपैयाँ लगानी गरेर सिँचाइ सुविधा ल्याए पनि पछि बस्ती विस्तारले सिँचाइ प्रयोजनहीन हुने सङ्केत देखियो । त्यसले गर्दा चुनावमा सिँचाइको एजेन्डा नै पर्न छाड्यो । बरु विदुर नगरक्षेत्रमा व्यवस्थित बस्ती विकासको कुराले प्रवेश पाउन थाल्यो । औद्योगिक क्षेत्रको विषयले चर्चा पाउन थाल्यो । त्यतिखेर चीनसँग जोडिन लागेको केरुङ राजमार्गका कारण व्यापारिक केन्द्रले चर्चा पाउन थाल्यो । ठिक १० वर्ष अघि गएको भूइँचालोले पुराना संरचना लगभग ध्वस्त नै बनायो । त्यसपछि नगरक्षेत्रका मानिसले पहिलेको घडेरी छाडेर अर्को ठाउँ खोज्न थाले । सोही क्रममा नगरपालिकालगायत अन्य सरकारी निकायबाट भित्री सडकहरूको नापनक्सा, फिल्डमा कामको थालनी गर्न थाले । भित्री सडकसँगै पक्की घरहरू बन्न थाले । पहिले नै बस्ती विस्तार भइसकेको बट्टार, विदुरभन्दा बाहेक इनारपाटी, माझीटार, पिपलटारलगायतका स्थानहरूमा भूकम्पपछि बनेका भित्री सडकहरूमा अहिले घरहरू बनिरहेका छन् ।

माथिल्लो पिपलटारलाई बिचभागमा चिरेर राजमार्ग गएको छ । बस्ती विस्तारका लागि तादी र त्रिशूली नदीको डिलडिलै चक्रपथ र भित्री सडकहरू अहिले व्यापक रूपमा विस्तार भएका छन् । ती सडकसँगै जोडेर पक्की, आधुनिक घर बनाउने होडबाजी चलेको छ । तर, सडकसँगै ढल निकास, पहिले नै खानेपानी पाइप, बिजुली र इन्टरनेट, टेलिफोनको लाइनलाई अन्डरग्राउन्ड गर्न ढिलाइ भइसकेको महसुस भयो । अहिले नै ढल, खानेपानी र बिजुलीको लाइन नराख्ने हो भने अबको २०–३० वर्षपछि विदुर नगरपालिका क्षेत्रको अवस्था काठमाडौंजस्तै अस्तव्यस्त हुने प्रवल सम्भावना देखिन्छ । सहरउन्मुख गाउँमा अन्य ठाउँबाट बसाइँ सरेर घर बनाउनेहरू पनि त्यत्तिकै छन् । दशकपछि फर्किएकाले गाउँमा अपरिचित अनुहारहरू अत्यधिक देखिए । तर, गाउँमा बस्नेहरूसमेत भन्दै थिए – गाउँमा बसाइँ सरेर आउनेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेकाले नचिनिएका अनुहारहरू धेरै छन् । यतिखेर विदुर नगरपालिका क्षेत्रको पिपलटार, माझीटार, इनारपाटी, बट्टारमा सिँचाइको भन्दा बढ्ता प्राथमिकता टाउन प्लानिङको हो, सडकको विस्तार हो । सडकसँगै माथि उल्लेखित ढल, खानेपानी र अन्डरग्राउन्ड केबुलिङको हो । जसले आउँदो ५० वर्षसम्म कुनै अप्ठ्यारो भोग्नु नपरोस् । मेरी छोरी अमेरिकाको ड्यालस सहरको एउटा विश्वविद्यालयमा अध्ययनरत छिन् । उनी घरबाट दैनिक ३५ माइल (५६ किलोमिटर) यात्रा गर्दै हरेक दिन विश्वविद्यालय जान्छिन् र क्लास सकिएपछि त्यही दिन त्यति नै दूरी ड्राइभ गर्दै फर्किन्छिन् । विकसित देशहरूमा अफिस पुग्नका लागि, कलेज जानका लागि ५०–५५ किलोमिटरको यात्रा सामान्य हो । मानिसहरू ठुला सहरहरूभन्दा पनि अलिक टाढाको एकान्त र भिडभाडमुक्त स्थानमा बस्न रुचाउँछन् ।

नुवाकोटको विदुर नगरपालिका क्षेत्र भोलिको विस्तारित काठमाठौं बन्न सक्ने आधार धेरै छन् । काठमाडौँको कोलाहल, अभावबाट मुक्ति चाहनेहरू नुवाकोटमा आउन सक्छन् । केही वर्षदेखि चर्चामा रहेको नुवाकोटको छहरदेखि काठमाडौँको टोखा जोड्ने सुरुङमार्ग बन्ने हो भने काठमाडौँबाट सदरमुकाम विदुर आइपुग्न सवा घण्टाभन्दा बढी समय लाग्दैन । छहरेदेखि गँगटेसम्मको सडक चार लेनको बनाउने हो भने एक घण्टाभन्दा बढी समय लाग्दैन । अबको ५० वर्षमा विदुर नगरपालिकाले चीन वा अमेरिकाको आधुनिक सहरको स्वरूप लिन सक्ने आधारहरू धेरै छन् । त्यसका लागि बस्ती विकास, प्लानिङको दीर्घकालीन सोच राखेर अहिलेबाटै काम थाल्न ढिला भइसकेको छ । अहिले नै मनलाग्दी रूपमा बनाइएका भित्री सडक, जग्गा नदिने र किचकिच गर्ने सर्वसाधारणको सोच बाधक बनिरहेका छन् । त्यसलाई समयमै निकास दिन नसक्ने हो भने अहिले जसरी काठमाडौं अस्तव्यस्त, चाहेर पनि गर्न नसक्ने अवस्था छ भोलि विदुरले त्यही अवस्था भोग्नुपर्नेछ । सिँचाइमा लगानी गर्नु बालुवामा पानी हाल्नुजस्तै हो । खेती गर्ने मानिस छैनन्, अर्कोतिर बिजुलीबाट तानिएको पानी आफैँमा महँगो हुन जान्छ । कसले खेती गरिदिने ?केही दिनअघि तत्कालीन विदुर नगर पञ्चायतका प्रधानपञ्च शिवप्रसाद गजुरेलसँग सङ्क्षिप्त कुराकानी भएको थियो । उहाँ भन्दै हुनुुहुन्थ्यो– धेरै काम, प्लानिङका लागि ढिला भइसकेको छ । उहाँ विदुरलाई नगर पञ्चायत बनाएपछिको पहिलो प्रधानपञ्च हुनुहुन्थ्यो । आफ्नो कार्यकालमा केही उल्लेखनीय प्लानिङ भए पनि पछिल्ला समयमा समयानुकूल अघि नबढेको उहाँले बताउनुभयो ।

तराईतर्फ जानका लागि पनि सहज, केरुङ जोडिएको राजमार्गले गर्दा आउँदो ५० वर्षमा विदुर नगरपालिका नेपालको सबैभन्दा सम्भावना भएको स्थान बन्ने निश्चित छ । तर, त्यसका लागि नगरपालिकाले मात्र धान्न सक्दैन, थेग्न सक्दैन भने एउटा बृहत् विदुर विकास प्राधिकरण गठन गर्न स्थानीय राजनीतिक दलहरू, विकासप्रेमी, प्रबुद्धवर्ग अहिलेबाटै लाग्नुपर्ने जरुरी देखिएको छ । सिँचाइमा लगानी गरेर स्रोत, साधन र समय खेर फाल्नेतिर कसैको पनि ध्यान नजाओस् । बाह्रै महिना सिँचाइ लाग्ने खेत बाँझो छ, घरमा गाईवस्तु पालिएको छ, गोबरग्यास प्लान्ट नबनाएर खाडी र रुसबाट आयात एलपी ग्यासका सिलिन्डर घरघरमा पुगेको छ । नगरक्षेत्रकै नदीकिनारका केही उर्वर भूमिमा बस्ती विकास रोक्नुपर्छ । अनि पिपलटार, माझीटार, इनारपाटी, बट्टारजस्ता स्थानमा सिँचाइ होइन, पूर्वाधारसहितको बस्ती विकासमा सबैले आजैबाट ध्यान दिनु अहिलेको प्राथमिकता हो । नत्र पछि काठमाडौंकै जस्तो हविगतमा विदुर पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह