विदुर । नेकपा (एमाले) ले पार्टी सङ्गठनलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यले ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले उक्त अभियानलाई सफल बनाउन देशभरका ६ हजार सात सय ४३ वडासम्म पुगेर कार्यक्रम सञ्चालन गर्दै छ ।
अभियान सफल बनाउन पार्टीका केन्द्रीय नेतालाई जिम्मेवारी दिएको छ । अभियान सफल बनाउन र जनतामा बालेन नेतृत्व सरकारका गलत क्रियाकलापविरुद्ध खबरदारी गर्दै पार्टी सङ्गठन विस्तार गर्ने जिम्मा नुवाकोटका चार नेतालाई दिएको जिल्ला अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । एमाले सचिवालय बैठकको निर्णयपछि शुक्रबार सार्वजनिक गरिएको आन्तरिक परिपत्र (अपानि) मार्फत कार्यविभाजन सार्वजनिक भएको छ । कार्यविभाजनअनुसार अध्यक्ष केपी ओलीनिकट तीनजना र अध्यक्षमा पराजित ईश्वर पोखरेलनिकट एकजना नेतालाई पार्टी बढाउने जिम्मेवारी दिइएको छ ।
ओलीनिकट एमालेका सदाबहार नेता एवम् पूर्वपराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई विदुर नगरपालिका, शिवपुरी र लिखु गाउँपालिकामा पार्टी सङ्गठन विस्तार र पुराना कार्यकर्ता तथा मतदातालाई सङ्गठित गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी, अर्का केन्द्रीय सदस्य ओलीनिकट केशव पाण्डेलाई बेलकोटगढी नगरपालिका, ककनी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका पाण्डे गत फागुन भएको निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । विसं २०७४ मा बागमती प्रदेश सभा निर्वाचित सांसद तथा मन्त्री रहेका पाण्डे अध्यक्ष ओलीनिकट नेता हुनुहुन्छ । ओलीनिकट अर्का केन्द्रीय सदस्य विन्दा ढुङ्गानालाई तादी, पञ्चकन्या र तारकेश्वर गाउँपालिकामा पार्टी सङ्गठन विस्तार र पुराना कार्यकर्ता तथा मतदातालाई सङ्गठित गर्ने जिम्मा दिइएको छ । एमालेले अर्का पूर्वकेन्द्रीय सदस्य प्रभावशाली युवा नेतृ उषाकिरण तिमिल्सिनालाई म्यागङ र किस्पाङ गाउँपालिकाको जिम्मेवारी दिइएको छ । उहाँ पुसमा सम्पन्न ११औँ महाधिवेशनमा ईश्वर पोखरेल नेतृत्वको टिमबाट केन्द्रीय सदस्यमा पराजित नेता हुनुहुन्छ । पार्टी निर्णयको विरुद्ध वेलावेलामा आवाज उठाउँदै चर्चामा आउनुभएकी तिमिल्सनालाई जिल्लाको माथिल्लो भेगका दुई पालिकाको कमान्डर बनाइएको छ भने ‘मिसन पार्टी जागरण’ अभियानका लागि नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य ढुङ्गानालाई दिइएको छ ।
एमालेले सङ्गठन सुदृढीकरण पार्टी गतिविधिलाई जनस्तरसम्म विस्तार तथा कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ मा चौथो र क्षेत्र नम्बर २ मा तेस्रो मत पाएको एमालेले विसं २०७९ को स्थानीय निर्वाचनमा १२ वटा पालिकाको प्रमुख, उपप्रमुखमध्ये किस्पाङको प्रमुख मात्र जितेको थियो । किस्पाङमा केन्द्रीय निर्देशनविपरीत उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रको स्थानीय कार्यकर्ताले गठबन्धन रहेको थियो । त्यसैगरी, २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लाको चारवटा क्षेत्रमा पराजय भोगेको एमालेलाई पहिलो बनाउने जिम्मा केन्द्रले पाण्डेद्वय, ढुङ्गाना र तिमल्सिनालाई दिएको छ । आगामी स्थानीय तहको निर्वाचनमा जिम्मा पाएको पालिकामा उम्मेदवार सिफारिस गर्नेसमेत अधिकार नेतारूले पाएका छन् ।







प्रतिक्रिया