धुन्चे । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठुलो जलविद्युत् आयोजना माथिल्लो त्रिशूली-१ जलविद्युत्ले निर्माणमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोरियाली कम्पनीको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।

उपकरण जडान सन् २०२६ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनामा हालसम्म ८२ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाइएको छ । गत बिहीबार हाइड्रो मेकानिकलतर्फ महत्त्वपूर्ण संरचनाअन्तर्गत तीन वेयर गेटमध्ये एउटाको जडान तथा परीक्षण सञ्चालन गरिएको छ । सन् २०२४ र २०२५ मा त्रिशूली नदीमा आएको बाढीका कारण निर्माण प्रभावित भए पनि सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण जारी छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वेयर गेट जडान तथा सञ्चालन सम्पन्न हुनु आयोजनाको महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै निर्धारित समयभित्र आयोजना सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो । नदीको पानीको बहाव नियन्त्रण गरी विद्युत् उत्पादनका लागि सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह कायम राख्ने तथा अतिरिक्त पानीलाई सुरक्षित रूपमा नदीमा पठाउने काम वेयर गेटमार्फत गरिन्छ । निर्माणका क्रममा गुणस्तर, सुरक्षा तथा वातावरणीय मापदण्डलाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।
कोरियाली कम्पनीका अगुवाइमा निर्माण भइरहेको सो आयोजनाको बाँध तथा सम्बन्धित संरचना रसुवाको आमाछोदिङ्मो-१, हाकु क्षेत्रमा छ । भूमिगत विद्युत्गृह उत्तरगया-१ मा निर्माण भइरहेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली-१ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन ठुलो जलविद्युत् आयोजना हो । आयोजनाको मुख्य निर्माण विसं २०७८ पुसदेखि सुरु गरिएको थियो । हाल ९.५ किलोमिटर लामो मुख्य सुरूङको कङ्क्रिट लाइनिङ भइरहेको छ । जटिल मानिएको दुई सय ९२ मिटर लामो ठाडो सुुरूङ खन्ने काम पनि सकिएको छ । त्यस्तै, विद्युत्गृहको सिभिल संरचना निर्माण सम्पन्न गरी टर्बाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान जारी रहेको आयोजना व्यवस्थापनले जनाएको छ ।
आयोजनाबाट वार्षिक एक अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युत्मध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको त्रिशूली-३ ‘बी’ हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र प्राधिकरणबिच विद्युत् खरिद-बिक्री सम्झौता भइसकेको छ । काठमाडौँ लोड सेन्टरनजिक रहेको तथा हिउँदमा समेत १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा उत्पादन हुने भएकाले माथिल्लो त्रिशूली-१ आयोजनालाई नेपालको विद्युत् प्रणालीका लागि महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ ।






प्रतिक्रिया