Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

गणेश हिमालको फेदीमा न्यायिक सम्मेलन

गणेश हिमालको फेदीमा न्यायिक सम्मेलन
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

सोमदाङ । रुबीभ्याली-३, सेर्तुङमा बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलन-२०८३ ‘रुबीभ्याली घोषणापत्र’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । गणेश हिमालको फेदीमा अवस्थित धादिङ जिल्लाको रमणीय गाउँ सेर्तुङमा यही जेठ १६ र १७ गते सञ्चालित सम्मेलनमा बागमती प्रदेशअन्तर्गतका १११ स्थानीय तहका न्यायिक समिति संयोजक, उपप्रमुख, उपाध्यक्ष तथा सरोकारवालाको सहभागिता रहेको नुवाकोट, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले जानकारी दिनुभयो ।

सम्मेलनमा स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज, छिटोछरितो र नागरिकमैत्री बनाउने विषयमा व्यापक छलफल गरिएको थियो । न्यायिक समितिका अनुभव, चुनौती, असल अभ्यास तथा मेलमिलाप प्रक्रियाका विषयमा सहभागीले आ-आफ्ना अनुभव प्रस्तुत गरेका थिए । सम्मेलनको समापनसँगै जारी गरिएको ‘रुबीभ्याली घोषणापत्र’मार्फत स्थानीय तहको न्यायिक प्रणालीलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै न्यायमा नागरिकको पहुँच विस्तार, मेलमिलाप संस्कृतिको प्रवद्र्धन तथा न्यायिक समितिको क्षमता अभिवृद्धिमा जोड दिइएको छ । रुबीभ्यालीका उपाध्यक्ष फेलामा तामाङले सम्मेलनले स्थानीय तहका न्यायिक समितिबिच अनुभव आदान-प्रदान र सिकाइको अवसर प्रदान गरेको बताउँदै यसबाट न्यायिक सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले रुबीभ्यालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउनसमेत महत्त्वपूर्ण योगदान पु¥याउने उहाँले बताउनुभयो ।

‘विचार, संवाद र एकता : भेदभावरहित न्यायप्रति प्रतिबद्धता’ भन्ने नारासहित आयोजित सम्मेलनले स्थानीय सरकारमार्फत प्रवाह हुने न्यायिक सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा न्यायिक समितिबिच समन्वय र सहकार्यलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको नुवाकोट, म्यागङकी उपप्रमुख सीता तामाङले बताउनुभयो । गणेश हिमालका काखमा अवस्थित सेर्तुङमा पहिलोपटक प्रदेशस्तरीय न्यायिक सम्मेलन आयोजना गरिएकाले यसले रुबीभ्यालीलाई न्यायिक तथा पर्यटकीय गन्तव्यका रूपमा समेत चिनाउन सहयोग पुगेको स्थानीय बमबहादुर तामाङले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह