Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

मलमास र क्षयमासमा गर्न हुने र गर्न नहुने विषय

मलमास र क्षयमासमा गर्न हुने र गर्न नहुने विषय
आचार्य वासुदेव उपाध्याय नेपाल
२ घण्टा अगाडी

क्षयमासको उदाहरण
भाद्रकृष्ण औँसीको दिन आश्विन सङ्क्रान्ति परेको छ र त्यसपछि आश्विन महिनाको अधिकमास परेको छ अनि शुद्ध आश्विनको प्रतिपदाको दिन कार्तिक सङ्क्रान्ति र कार्तिक शुक्ल प्रतिपदाको दिन मङ्सिर सङ्क्रान्ति, त्यसपछि मङ्सिर शुक्ल प्रतिपदाको दिन पौष सङ्क्रान्ति अनि त्यसै महिनाको आउँदो औँसीको दिन माघ सङ्क्रान्ति पर्न आएको छ भने त्यस्तो अवस्थामा धनु र मकर अर्थात् पौष र माघ दुवै सङ्क्रान्ति एक महिनामा परेको हुँदा त्यो एक महिना क्षयमास हुन्छ । त्यसमा मङ्सिर र पुस दुवै महिना जोडिएर एक महिना भएको कुरा बुझ्नुपर्छ । त्यसमा प्रतिपदा आदि तिथिहरूको पूर्वार्ध मङ्सिर र उत्तरार्ध पुस हुन्छ । वचन छ – ‘तिथ्यर्धे प्रथमे पूर्वो द्वितीयार्धे तथोत्तरः ।’ यसै क्रमले सबै तिथिहरूका सम्बन्धमा बुझ्नुपर्छ किनभने ती सबै दुवै महिनाका तिथिहरू हुन् । त्यस्तोमा कुनै तिथिको पहिलो आधा भागमा कसैको मृत्यु भएको छ भने त्यसको वार्षिक श्राद्ध मङ्सिरको त्यही तिथिमा र पछिल्लो आधा भागमा मृत्यु भएको छ भनेचाहिँ त्यसको वार्षिक श्राद्ध पुस महिनाको त्यही तिथिमा गर्नुपर्छ । यसैगरी बालकको जन्म हुँदा जन्मोत्सव आदिको विधिमा पनि त्यही प्रक्रिया अपनाउनुपर्छ । त्यसपछि माघको औँसीका दिन फागुन सङ्क्रान्ति आउँछ भने फागुन अधिमास हुन्छ । अनि शुद्ध फागुन शुक्ल प्रतिपदाका दिन चैत सङ्क्रान्ति हुन्छ । यसरी अगाडि र पछाडि गरी दुईवटा अधिमास भएको क्षयमास जुन वर्षमा आउँछ, त्यो पुग-नपुग तीन सय ९० दिनको, तेह्र महिनाको वर्ष हुन्छ अर्थात् क्षयमास भएको वर्षमा लगभग तीन सय ९० दिन (एक-दुई दिन कम पनि हुन सक्छ) का जम्मा १३ महिना हुन्छन् । त्यस्तो क्षयमासभन्दा अगाडि आउने अधिमासलाई ‘संसर्प’ भनिन्छ र त्यसमा विधिअनुसार सबै धार्मिक कार्य गर्न हुन्छ । त्यो महिना शुभकर्मका लागि त्याज्य हुँदैन । क्षयमासभन्दा पछाडि आउने अधिमासलाई ‘अंहस्पति’ भनिन्छ र त्यो अधिमास सबै किसिमका धार्मिक कार्यका लागि वर्जित हुन्छ । यसैगरी प्रत्येक तीन वर्षको अन्तरालमा आउने केवल अधिमास पनि धार्मिक कार्यका लागि वर्जित हुन्छ । मलमासमा नगरी नहुने परिआएका नित्य, नैमित्तिक, काम्य कर्म अधिमास र क्षयमासमा पनि गर्नुपर्छ । तत्काल नगरे पनि हुने खालका नित्य, नैमित्तिक र काम्य कर्मचाहिँ अधिमास र क्षयमासमा गर्नुहुँदैन । जस्तो कि सन्ध्या, अग्निहोत्र आदि नित्यकर्म, ग्रहणस्नान आदि नैमित्तिक कर्म, वर्षाको उद्देश्यले गरिने ‘कारिरी’ यज्ञ आदि र कुनै राक्षसको चङ्गुलमा परेका व्यक्तिको जीवनरक्षाका लागि गरिने रक्षोघ्न यज्ञजस्ता काम्य कर्म पनि मलमासमा गर्न हुन्छ । तर, ज्योतिष्टोम आदि नित्यकर्म, जातेष्टि आदि नैमित्तिक कर्म र पुत्रकामेष्टि (पुत्रेष्टि) जस्ता काम्य कर्मचाहिँ मलमास वा क्षयमास सकिएपछि शुद्ध मासमा नै गर्नुपर्छ । पहिलेदेखि विधिपूर्वक सुरु गरिएको काम्य कर्म बिचमा मलमास परे पनि गर्न हुन्छ । मलमासमा नै नयाँ धार्मिक कर्मको थालनी र अन्त्य गर्ने हिसाबले चाहिँ गर्न हुँदैन । कुनै पूजाको लोप हुने अवस्था (मूर्ति हराउने आदि कारणबाट) फेरि मूर्तिको प्रतिष्ठा गर्नुपर्दा, गर्भाधानदेखि लिएर अन्नप्राशन (पास्नी) सम्मका संस्कार समयमै गर्नुपर्दा, अरू कुनै उपाय नभएर ज्वर अदि रोगको शान्ति गर्नुपर्दा अत्यन्त दुर्लभ योगमा श्राद्ध गर्नुपर्दा र व्रत आदि कार्य, कुनै कारणवश गरिने प्रायश्चित्त जस्तै दाम्लामा बाँधेका अवस्थामा गाईको मृत्यु भएमा गरिने प्रायश्चित्त आदि,
काकमैथुनदर्शन आदि जस्ता शान्ति, नित्यश्राद्ध, ऊनमासिकादि श्राद्ध
(ऊनमासिक, ऊनषाड्मासिक र ऊनाब्दिक श्राद्ध) दर्शश्राद्ध (औँसीको श्राद्ध) आदि कार्य मलमासमा पनि गर्नुपर्छ ।
चैत आदि महिनामा मलमास परेको वेला कसैको मृत्यु भएको छ र कुनै वेला धेरै समयपछि उही चैत आदि महिनामा नै मलमास पर्न गयो भने एकोद्दिष्टश्राद्ध त्यही मलमासकै तिथिमा गर्नुपर्छ । तर, चैत आदिमा मलमास नपरेको वेला शुद्ध मासकै अवस्थामा मृत्यु भएको छ भनेचाहिँ त्यस्ताको एकोद्दिष्ट श्राद्ध मलमासमा नगरी शुद्ध मासमा नै गर्नुपर्छ । कुनै व्यक्तिको मृत्यु शुद्धमासमा भएको र त्यसको पहिलो वार्षिक श्राद्धको समय आउँदा मलमास परेको छ भने त्यो वार्षिक श्राद्ध ११ दिनमा आद्याब्दिक श्राद्ध नगरी वर्ष दिनमा मात्र आद्याब्दिक श्राद्ध गर्नेले मलमासकै तिथिमा आद्याब्दिक श्राद्ध (प्रथम वार्षिक श्राद्ध) गर्नुपर्दछ । तर, ११ दिनमा आद्याब्दिक श्राद्ध गर्नेले शुद्धमासका तिथिमा १२औँ मासिक गरिएको भए मलमासका तिथिमा जुर्दछ भने ऊनाब्दिक श्राद्ध गरेर शुद्धमासकै सम्बन्धित तिथिमा दोस्रो वार्षिक श्राद्ध गर्नुपर्छ । ऊनमासिक जुर्दैन भने वार्षिक श्राद्ध गर्नुभन्दा १० जति अघिसम्ममा जुराएर ऊनाब्दिक श्राद्ध गरेर सम्बन्धित तिथिमा वार्षिक श्राद्ध गर्नुपर्दछ ।

गर्न नहुने र हुने कर्म
अधिकमासमा उपाकर्म, उत्सर्जनकर्म, अष्टका श्राद्ध, गृहप्रवेश, छेवर, व्रतबन्ध, विवाह, तीर्थयात्रा, वास्तुकर्म यी कुरा वर्जित छन् । देवताको प्राणप्रतिष्ठा गरी स्थापित गर्ने काम, कुवा (जलाशय बगैँचा आदिको आरम्भ, नयाँ वस्त्र गहना आदि धारण गर्ने काम, तुलापुरुष-दान (तुलामा मान्छे बराबरको महत्त्वपूर्ण वस्तु तौलेर गरिने दान) जस्तो महादान, यज्ञसम्बन्धी कामको थालनी, पहिले दर्शन नगरेका तीर्थ देवताको दर्शन, सन्न्यास लिने काम, कुनै विशेष कामना पूर्तिको उद्देश्यले गरिने वृषोत्सर्ग, राजाको अभिषेक नयाँ व्रतहरू, नगरी नहुने बाध्यात्मकबाहेक अरू कुनै समयमा पनि गर्न सकिने अन्नप्राशन (पास्नी), समावर्तनकर्म समय बितिसकेपछि गर्नुपर्ने नामकर्म आदि संस्कार, पवित्रारोपण, दमनाका फूल अर्पण गर्ने कार्य, श्रवणाकर्म सर्पवलि आदि पाकशास्त्रीय विधि, हरिशयनी वा परिवर्तनी एकादशीका उपलक्ष्यमा गरिने उत्सव, शपथ दिलाउने दिव्य विधि आदिको काम यी सबै कुरा मलमासमा वर्जित छन् । कुनै नैमित्तिक कर्म जस्तै राजोदोषशान्ति विच्छिन्न अग्निको आधान, देवमूर्ति आदिको पुनः प्रतिष्ठा आदि कार्य यदि त्यस्ता दोषको कारण देखिनेबित्तिकै गरिन्छन् भने त्यस्तोमा मलमास आदिको दोष लाग्दैन । त्यस्तो घटना भएको धेरै समय बितिसकेको अवस्था रहेछ भनेचाहिँ मलमासको सट्टा शुद्ध मासमा नै गर्नुपर्छ । अनिकालको सङ्कट आइपरेको छ भने आग्रायण कर्म मलमासमा गर्न हुन्छ । अन्यथा शुद्ध मासमा नै गर्नुपर्छ । युगादि श्राद्ध र मन्वादि श्राद्ध मलमास तथा शुद्ध मास दुवैमा गर्नुपर्छ । क्षयमासभन्दा अगाडि आउने अधिक मासलाई ‘संसर्पक’ भनिन्छ भनेर पहिले बताइसकिएको छ । त्यो अधिक मास (संसर्पक)मा चूडाकर्म, व्रतबन्ध, विवाह, अग्निस्थापन यज्ञोत्सव, महालय, राजाको अभिषेक यो कर्म वर्जित छन् : अरू कर्म होइन । पहिले नगरिएका व्रतको आरम्भ र व्रत समाप्ति गर्ने काम मलमासमा गर्नुहुँदैन । पहिले गरिँदै आएजस्तै माघस्नान आदिको आरम्भ र समाप्ति क्षयमासमा पनि गर्न सकिन्छ । यसो गर्दा मकर सङ्क्रान्तियुक्त क्षयमासको पूर्णिमाका दिन माघस्नान सुरु गरेर त्यसपछिको सङ्क्रान्तियुक्त पूर्णिमाकै दिन समाप्त गर्नुपर्छ । कार्तिकमा मलमास परे पनि यसै प्रकारले गर्ने कुरा बुझ्नुपर्छ । वैशाखमा अधिकमास परेको छ भने चैत पूर्णिमाका दिन वैशाख-स्नान आदि व्रत आरम्भ गरेर शुद्ध वैशाख पूर्णिमाका दिन मात्र समाप्त गर्नुपर्छ । यसरी अधिकमासमा र शुद्धमासमा गरी स्नान तथा ब्रतादिको अनुष्ठान दुई महिना नै गर्नुपर्दछ ।

मासिक तथा श्राद्ध
मृत्यु भएका दिनदेखि एक वर्षभित्र कुनै अधिकमास पर्न गयो भने त्यसवेला त्यस महिनाको मासिक श्राद्ध अधिकमासमा र शुद्धमासमा गरी दुईपटक गर्नुपर्ने हुँदा त्यस वर्ष सोह्र मासिकको सट्टा सत्र मासिक श्राद्ध हुन्छन् । कसैको मृत्यु मलमास परेका वेला भयो भने त्यसको एघारौँ दिनमा आद्यमासिक (प्रथम मासिक) गरेर मृत्युको महिना दिन पुगेर दोस्रो महिनाको सुरु हुने तिथिमा फेरि दोर्हाएरआद्यमासिक गरी दुई महिना पूरा हुनुभन्दा केही पहिले जुराएर ऊनमासिक गरी दुई महिना पुगेर तेस्रो महिना सुरु भएको दिन द्वितीय मासिक गरेर अनि साढे दुई महिना अर्थात् ७५ दिनका तिथिमा त्रैपाक्षिक (४५ दिने) मासिक श्राद्ध गर्नुपर्छ । त्यसपछि तीन महिना पुगेका दिनका तिथिमा तृतीय मासिक गरिसकेपछि क्रमशः अरू मासिक आ-आफ्ना निर्धारित समयमा नै गर्नुपर्छ । चार पुस्ताभित्रका सपिण्डी बन्धुहरूकोमा नान्दी श्रद्ध गर्नुपर्ने भयो भने त्यो श्राद्ध गर्नुपर्ने महिनामा एकै दिन बाँकी रहेका सबै मासिक अगाडि खिचेर गरी, सपिण्डी गरेपछि मात्र नान्दी श्राद्ध (आभ्युदयिक श्राद्ध) गर्नुपर्छ भन्ने शास्त्रको वचन छ । उदकुम्भ श्राद्ध पनि मासिकजस्तै नै भएकाले तिनीहरूलाई पनि अगाडि खिचेर गरेर मात्र नान्दी श्राद्ध गर्न सकिन्छ भन्ने कुरा शास्त्रमा बताइसकिएको छ । वृद्धिश्रद्ध (नान्दी श्राद्ध) गर्नुपरेको अवस्थामा बाहेक अरूवेला मासिक खिचेर गर्नुहुँदैन, गर्दा दोष लाग्छ भन्ने शास्त्रको वचन छ । जुन व्यक्तिले वृद्धि नपरेका वेलामा पनि मासिक खिचेर गर्दछ त्यो श्रद्ध गर्ने व्यक्ति आफ्ना पितृसँगै आफू पनि नरकमा पर्दछ । चारपुस्ते सपिण्ड बन्धुभित्र विवाह, व्रतबन्ध र चूडा (छेवर) आदि कर्म गर्नुपर्ने भएमा मासिक खिचेर गर्न सकिन्छ । जुन-जुन मासिक, सूतक आदिका कारणले छुटेका छन् ती मासिक त्यसपछि आउने मासिकसँग एकतन्त्रले एकैपटक गर्नुपर्छ भन्ने कुरा शास्त्रमा बताइएको छ ।

मलमासमा मृत्यु हुनेको कुनै वर्ष मृत्यु भएकै महिनामा फेरि मलमास पर्यो भने त्यस महिनाको मलमासमा नै एकोद्दिष्ट श्राद्ध गर्नुपर्दछ । शुद्धमासका तिथिमा भने ब्रह्मणलाई टीका लगाई भोजन मात्र गराउनुपर्दछ, सिधा र पिण्ड दिनुहुँदैन । शुद्धमासमा मृत्यु हुनेको आद्याब्दिक श्राद्ध (पहिलो वार्षिक श्राद्ध) गर्ने समयमा मलमास परेमा मलमासमा नै आद्याब्दिक श्राद्ध गर्नुपर्दछ, शुद्धमासमा गर्नुहुँदैन । तर, दोस्रो वार्षिक श्राद्ध भने मलमासमा गर्नुहुँदैन शुद्धमासमा नै गर्नुुपर्दछ । ११ दिनमा गर्ने आद्याब्दिक श्राद्ध नै हाम्रा लागि पहिलो वार्षिक श्राद्ध हुन्छ, वर्ष दिनमा गरिने वार्षिक श्राद्ध त हाम्रा लागि द्वितीय वार्षिक श्राद्ध हुन्छ । त्यसैले वार्षिक श्राद्ध गर्ने समयमा मलमास प¥यो भने हामीले मलमासमा वार्षिक श्राद्ध गर्नुहुँदैन, शुद्धमासमा नै वार्षिक श्राद्ध गर्नुपर्दछ । मलमासका तिथिमा ब्राह्मणभोजन गराउनुपर्दछ । तर, जसले ११ दिनमा आद्याब्दिक श्राद्ध नगरेर वर्ष दिनमा मात्र गर्नुहुन्छ, उहाँहरूका लागि वर्ष दिनमा गरिने आद्याब्दिक श्राद्ध नै पहिलो वार्षिक श्राद्ध हुन्छ । उहाँहरूले वार्षिक श्राद्ध गर्ने समयमा मलमास परेमा मलमासमा नै वार्षिक श्राद्ध गर्नुपर्दछ, शुद्धमासमा गर्नुहुँदैन । सपिण्डीसम्मका सबै क्रिया गर्ने समयमा मलमास परेमा पनि मलमासमा नै गर्नुपर्दछ । विदुर-५ द्वारपाल, देवीघाट, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

आचार्य वासुदेव उपाध्याय नेपाल