नुवाकोटको सिन्दुरे जात्राका नामले प्रख्यात भैरवी जात्रा प्रसिद्ध देवी भैरवीसँग सम्बन्धित छ । यस अवसरमा पुजारी धामी र धमिनीको पनि जात्रा गरिन्छ । हरेक वर्ष चैतशुक्ल पूर्णिमाका दिन अर्थात् बालाजु पूर्णिमाकै दिन भव्य सिन्दुरे जात्रासहित शक्तिशाली देवी भैरवी र जीवित देवताका रूपमा धामी–धमिनीको जात्रा गरिन्छ । यस वर्षको सिन्दुरे जात्रा वि.सं. २०८२ वैशाख १ गते नयाँ वर्षकै दिन सम्पन्न भएको छ ।
यस जात्राबारे एउटा किंवदन्ती छ – एकपटक काठमाडौँबाट एक बोरा खुर्सानी बेच्न त्रिशूली पुगेका डङ्गोल थरका ज्यापुले खुर्सानीको बोरा तादी–त्रिशूली दोभानमा बिसाएर सुस्ताइरहेका वेलामा उसका शरीरमा नुवाकोट भैरवी प्रकट भई पुजारी राख्ने आदेश दिइछन् । अनि त्यसवेलाको नियमअनुसार नुवाकोट दरबारका द्वारेले त्यस डङ्गोललाई भैरवीका धामीमा नियुक्त गरेछन् । त्यस धामीलाई पूर्व–दक्षिण तादी, पश्चिम त्रिशूली, उत्तरमा भैरवी क्षेत्र नाघेर गाउँबाट बाहिर जान नपाइने प्रतिबन्ध लगाइएछ । द्वारेले छानिदिएको धमिनीसँग त्यस धामीले विवाह गर्नुपर्ने नियम पनि रहेछ । प्रत्येक वर्ष चैतशुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म मनाइने भैरवी जात्रामा धामी र धमिनीले भाग लिनुपर्छ । सिन्दुर जात्रा सुरु गर्नुअघि मध्यरातमा देवीघाटमा धामीलाई राँगा, बोका र माछाको बलि दिने गरिन्छ । यसरी दिइएको राँगा, बोका र माछाको घाँटीमा दाँतले टोकेर रगत चुसी धामीले बलि ग्रहण गर्छन् । उनले त्यतिवेला गोप्य रूपमा आगामी वर्षमा मुलुकमा आइलाग्ने विपत्ति, राम्रा–नराम्रा राजनीतिक एवम् दैनिक विभिन्न घटनाको भविष्यवाणी गर्छन् । त्यसैले धामी र धमिनीलाई जिउँदो देवताका रूपमा मानिँदै आएको हो भनिन्छ । भोग खाएको रोचक दृश्य हेर्न भक्तजनको भिड लाग्ने गर्छ । धामीको जात्रा हेर्न हजारौँ मानिस भेला हुन्छन् । धामी–धमिनीको पूजा गर्दै सबैले दर्शन गर्छन् । आ–आफ्ना भाकल पूरा हुने विश्वासका साथ भैरवीको रथमा रहेका देवीदेवतालाई कुखुरा बलि चढाउने गरिन्छ । देवीघाटबाट फर्किएका धामी र भैरवीको रथ नुवाकोटको भैरवी मन्दिरमा आएपछि सिन्दुर हाली सिन्दुर जात्रा गरिन्छ । नुवाकोट जिल्लाका सम्पूर्ण सरकारी कर्मचारी र प्रमुखसहित जात्रास्थलमा पुग्छन् । सयौँको सङ्ख्यामा उपस्थित जनका सम्मानमा नेपाली सेनाले १२ तोपको सलामी अर्पण गर्छ ।
त्यसपछि धामी र धमिनीलाई नेपाली सेना र प्रहरीको बाक्लो सुरक्षाघेरामा राखेर रथयात्रा गरिन्छ । धर्मपानीबाट धामी-धमिनीसहितको रथयात्रा भैरवी मन्दिरमा पुगेपछि एक–अर्कामा सिन्दुर खेलिन्छ । रथयात्रा तलेजु भवानीको मन्दिरमा पुगेपछि पूजाआजा गरी पुनः भैरवीको मन्दिरमा ल्याइन्छ । मन्दिरबाट सिन्दुर जात्रासहित नजिकैको गाइड घरमा रथसहित पुर्याएपछि नेपाली सेनाले तोप पड्काएर सलामी दिन्छ । सोही दिन मध्यरातमा धामीलाई दर्जनभन्दा बढी पशुपक्षीको बलि दिइन्छ । धामीले पनि सबै पशुपन्छीको तातो रगत पिउँदै बलि ग्रहण गर्दछ । नुवाकोट देवीघाटका जालपादेवी र भैरवीलाई दिदीबहिनीका रूपमा लिने गरिन्छ ।
भैरवी मन्दिर रहेको स्थान नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले ऐतिहासिक साततले दरबार निर्माण गरेका थिए । उनले गोरखाबाट सारेर नुवाकोटलाई नेपालको पहिलो राजधानी बनाए । जालपादेवीको मन्दिर रहेको देवीघाटमा भने पृथ्वीनारायणले देहत्याग गरेका थिए । सो समाधिस्थल (शिला) त्रिशूली र तादीको दोभानमा अद्यापि छँदै छ । भैरवी मन्दिरका धामी हरिमानसिंह डङ्गोल र धमिनी मन्दिरको रथ र बाजागाजासहित देवीघाट आउँदा हजारौँ मानिसको भिडले गर्दा मेलाको विशेष रूपमा रौनक छाउँछ । धामी–धमिनी देवीघाटसम्म जाने वेलामा बाटामा हजारौँ भक्तजनले दर्शन, पूजा गर्ने गर्छन् । सिन्दूरे जात्रा चतुर्दशीका दिन नुवाकोटको गुह्येपाटी र भैरवी मन्दिरअगाडि विधिपूर्वक सल्लाको लिङ्गो ठड्याएपछि सुरु गरिन्छ । पन्ध्र दिनसम्म मनाइने नुवाकोटको सबैभन्दा ठुलो धार्मिक र ऐतिहासिक पर्व विशेष गरेर पाँच दिन भव्य रूपमा मनाइने गरिन्छ । जात्रामा धामी, धमिनी, गणेश, कुमारलाई मुकुट र गहना लगाइदिएर तलेजु भवानीमा लगी बज्रयानी गुरुजुले पूजा गरेपछि पूर्णिमाकै दिन भैरवीको खट जात्राका साथै गणनाच पनि नचाउने गरिन्छ । जात्रामा नुवाकोट, लच्याङका तामाङले खट तान्ने चलन छ । तर, केही वर्षअघि तामाङले विद्रोह गरेर रथ तान्न छाडेपछि सैनिकले तान्दै आइरहेका छन् । सिन्दूरे जात्रा जिल्लाको पुरानो सदरमुकाम नुवाकोटको भैरवी मन्दिर प्राङ्गणमा मनाइन्छ । विदुर– २ स्थित भैरवीको मन्दिरछेउ, महिषासुरमर्दिनी मन्दिरमा कुमारीका उपस्थितिमा तान्त्रिक विधिअनुसार गुभाजुले धामी–धमिनी, गणेशलाई विधिपूर्वक पूजा गरेपछि गाजल लगाइदिएर जात्रा मनाउने चलन छ ।
सिन्दूरे जात्रामा सहभागी सबैलाई प्रसाद तथा टीका दिने प्रचलन सदियौँदेखि चलिआएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेको खुसियालीमा सिन्दुर जात्राको प्रचलन सुरु गरिएको इतिहास छ । राजप्रतिनिधि एवम् द्वारे महेन्द्रकुमार शाहीका अनुसार भैरवीमा सिन्दुर जात्रा गरेपछि बाजागाजासहित भैरवीको खट, धामी, धामिनी, द्वारेसहित भैरवी मन्दिरको उत्तरतर्फको तुलजा भवानी पुर्याइन्छ । यस अवसरमा भैरवीको खटलाई साततले दरबारमा सेनाले भैरवी सलामी दिने चलन छ । जात्रामा नेपाली सेनाको श्री शेर गणका सैनिकबाट भैरवीलाई सलामी अर्पण गरेपछि जिल्लाका सरकारी अधिकारीसहित सेनाको व्यान्ड बाजा, देवीको चाडपर्वमा बजाइने बाजा तथा धिमे बाजा बजाउँदै मन्दिरपरिसर पुगेर सिन्दूर अर्पण गर्ने चलन छ । वैशाख पूर्णिमामा सुरु भएको यो जात्रा एक सातासम्म मनाइन्छ । काठमाडौँ वसन्तपुरमा रहेको कँडेलचोकको भगवतीलाई नुवाकोट ल्याइएसँगै यो जात्रा समापन गरिन्छ ।
विदुर–१०, नुवाकोट
प्रतिक्रिया