विसं २०८२ लागेसँगै विवाहको लगन सुरू भएको छ । नयाँ सालको सुरूदेखि नै सुनको मूल्यले नयाँ नयाँ अभिलेख कायम गर्दै तोलाको रू दुई लाख पुग्न लागेको छ । पछिल्लो समय आर्थिक मन्दीसँगै सुनको मूल्य बढिरहेको छ । सुनको मूल्य बढ्दा र आर्थिकमन्दीले गर्दा विवाह जस्ता सामाजिक संस्कार हुनेखानेका लागि वैभव प्रदर्शनको माध्यम बनेको छ भने नहुनेका लागि ऋण बोकाएर हरिकङ्गाल बनाउने संस्कार भएको छ ।
विवाह सामाजिक मर्यादा कायम गर्दै सृष्टिलाई निरन्तरता दिने वैधानिक पद्धति हो । मानव समाजलाई अनुशासनहीन हुनबाट बचाउनकै लागि विवाह संस्था आरम्भ गरिएको मानिन्छ । सृष्टि संरचनाको अनुशासित र व्यवस्थित निरन्तरताका लागि यस पद्धतिको सुरूआत गरिएको मानिन्छ । पुराणमा प्रथम मनु दक्ष प्रजापति र विरणीका बिच भएको विवाह नै मैथुनमार्फत सन्तान जन्माउन गरिएको पहिलो विवाह भएको उल्लेख छ । यसलाई पूर्वीय दर्शनले महिला र पुरूषबिचको आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्छ । यस विपरीत आजभोलि विवाहको अर्थ, परिभाषा र विधि भने शास्त्रानुरूप नभएर वैभव प्रदर्शनको होडबाजी गर्ने कुप्रथाका रूपमा स्थापित हुन पुगेको छ । आधुनिक समाजले विवाह यौन सुखको अनुमतिपत्र वा जीवन बिताउने सम्झौता मात्र मान्न थालेको छ । यो सुख भोग, धनसम्पत्तिको प्रदर्शन जस्ता विकृतिमा सीमित हुन पुगेको छ । आजभोलि वैदिक विधिपूर्वक विवाह संस्कार गर्नेको सङ्ख्यामा ह्रास हुँदै गएको छ, हुँदै नभएको संस्कार भित्र्याउन थालिएको छ । अरूको देखासिकीमा धनराशि खर्च गरेर पवित्र विवाह समारोहलाई निर्धक्क मांस–मदिरा सेवन गर्ने अवसरका रूपमा लिन थालिएको छ । विवाहको साइतअघि नै कतै ‘मेहन्दी’ त कतै ‘हल्दी’ का नाममा भोजभतेर गरेर शास्त्रीय अभ्यासलाई विकृत बनाउँदै आयातीत संस्कृतिमा रमाउने प्रचलन बढ्दो छ । हिन्दू विवाह पद्धतिमा विशेषतः मूल विवाहअघि नै पूर्वाङ्ग विधिका रूपमा दीप, कलश र गणेशको पूजाका साथ मातृकाको पूजा र नान्दीमुखी श्राद्ध गर्नुपर्छ । यो विवाह अर्थात् कन्यादानअघि घरमा गर्नुपर्ने विधि हो जुन दुलही र दुलाहा दुवैकामा गरिन्छ । प्रायः वैदिक सनातन धर्म मान्ने र शास्त्रीय कर्मकाण्ड अपनाउनेले विवाहको यस पद्धतिलाई पालना गरेका हुन्छन् तापनि आयातीत प्रचलनका रूपमा हल्दी र मेहेन्दी पनि थपिन थालेको छ । यसले एकातिर मौलिक संस्कृति छायामा पर्दै छ भने अर्कातिर आर्थिक बोझ थपिंँदै छ । संस्कारका नाममा अपसंस्कृति भित्रिएको छ । यस प्रवृत्तिले नेपालीको पहिचान र संस्कृति लोप त हुने नै भयो, परिवार र समाज पनि कङ्गाल बन्ने छन् ।
विवाहलाई सम्झौता मान्ने वा यौन सुखका लागि मात्र हो भन्नेहरूले विवाह नगरी पनि सन्तान जन्माउन पाउनुपर्छ भन्ने अधिकार खोज्न थालेका छन् जुन विधान विपरीत छ । विवाहमा जसरी कन्यादान गरिन्छ, त्यसैगरी कुमारदान पनि हुन्छ जहाँ कन्या र कुमार अर्थात् दुलाहा÷दुलही दुवैले एकार्काको साथ–समर्थन दिने शपथ खान्छन् । कन्यादान अर्थात् पाणिग्रहण गर्दा वरले बधुको दाहिने हातको बुढीआँैंलो समातेर प्रतिज्ञा गर्नुपर्छ । आजदेखि मेरो शरीरको आधा भागमा तिम्रो शरीरको अङ्गप्रत्यङ्ग छ, आफ्नै शरीर ठानेर तिम्रो शरीरको ख्याल राखी आपूmलाई जस्तै तिमी र तिम्रो शरीरलाई माया गर्छु, तिमी मेरो घरकी स्वाभिमानी हौ, तिम्रो सरसल्लाह, मञ्जुरी र इच्छामुताबिक गृहस्थीका सबै कामकुरा अबदेखि व्यवस्थित गर्ने निर्णय गर्छु, तिमीसँग कुनै कुरा वा काममा पनि दोषदृष्टिले तर्ककुतर्क गर्ने छैन, तिम्रो कुनै खोट, कमजोरी, भूल, त्रुटिलगायत अवगुण भए, देखिए पनि त्यस्ता कमीलाई औँल्याएर दन्तबझान गर्ने छैन, बरू प्रेमपूर्वक दोष सच्याउन म सहयोग गर्नेछु, धर्मपत्नीका रूपमा तिमीलाई स्विकारेँ, पत्नीव्रत पालना गर्ने छु आदि भनी दुलहाले कसम खान्छन् । दुलहीले पनि त्यस्तै प्रतिज्ञा गर्छिन् ।
विवाहको यस पद्धतिको अर्थ, महत्त्व र सार भनेको नारी र पुरूष दुवैको समान दायित्व हो । दुवैले सृष्टि संरचनाको निरन्तरताका लागि बराबर योगदान दिनुपर्छ, परिवार र समाजलाई व्यवस्थित बनाउन एकले अर्काको साथ दिनुपर्छ र अनुशासन, मर्यादित भएर जीवनरूपी रथ हाँक्नुपर्छ । समाजका ठुलाबडा, प्रतिष्ठित, बुद्धिजीवी भनिनेहरूले तडकभडकका साथ विवाहका साथै अन्नप्रासन, ब्रतबन्ध, इही–गुफा, जन्मदिन मनाउने चलन बढेको छ । यसमा अझ राजनीतिक दलका नेताहरू नै अग्रसर भइरहेको देखिन्छ । केही वर्षअघि ठुलै राजनीतिक दलकी एक नातिनीको विवाह ठुलै रिसोर्टमा भएको थियो जसमा हजारौँ अतिथि संलग्न थिए । समाज सुधार ऐनमा जन्तमा ५२ जनाभन्दा बढी लान नपाइने उल्लेख भए पनि त्यसको उल्लङ्घन नै भएको छ । यस्ता ऐननियममा सुधार ल्याई उल्लङ्घन गर्नेलाई कारबाही गर्न सक्नुपर्छ । ठुलाठालु भनिनेहरूले पनि समाजमा आदर्शको उदाहरण दिन सकेमा अरूले पनि त्यही अनुसरण गर्न बाध्य हुने छन् ।
प्रतिक्रिया