Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

पाठकपत्र : द्वारपाल कुवाको संरक्षण र देवीघाट-सिन्दुरेजात्राप्रति राज्यको अपनत्वका लागि आग्रह

पाठकपत्र : द्वारपाल कुवाको संरक्षण र देवीघाट-सिन्दुरेजात्राप्रति राज्यको अपनत्वका लागि आग्रह
त्रिशूली प्रवाह
१२ महिना अगाडी

सम्पादकज्यू,
‘त्रिशूली प्रवाह’ साप्ताहिकको गत अङ्कमा स्तम्भकार रीना खनालले ‘भविष्यवाणीपछि उल्टो हिँड्ने धामी’ शीर्षकमा प्रथम पृष्ठमा नुवाकोट जिल्लाको वैशाखपूर्णिमा मेला तथा सिन्दुरे जात्राका अवसरमा भैरवीमाईका धामी बहिनी भैरवीको रथका साथ दिदी जाल्पामाईलाई भेट्न देवीघाट आउने र धार्मिक विश्वास रहेको उल्लेख गर्नुभएको रहेछ । सो दिन साँझतिर नुवाकोट भैरवीस्थानबाट लच्याङका तामाङ समुदायले भैरवीका पुजारी र धर्मपत्नी धमिनीलाई बोकेर देवीघाट पु¥याएपछि धामीबाट भविष्यवाणी हुने कुरा सञ्चारमाध्यमबाट थाहा पाइयो । तर सो भविष्यवाणी के हो भन्नेबारे न त स्थानीयवासी न त देशवासीले नै थाहा पाउँछन् । थाहा पाउनेमा राजप्रतिनिधि भनिने द्वारे हुन् र तिनले पहिले राजतन्त्रकालमा राजालाई र अचेल राष्ट्रपतिसमक्ष सो भविष्यवाणी पेस गर्नुुपर्ने बताइन्छ ।

देश र जनतासँग सरोकार राख्ने त्यस्तो भविष्यवाणी गुपचुप राख्दा सर्वसाधारण जनता र राज्यका विभिन्न निकाय र तिनका प्रमुखले सावधानी अपनाउन सक्दैनन् । त्यसैले कमसेकम भविष्यवाणीको विषय जस्तै राजनीतिक परिवर्तन, दैवीप्रकोप, मौसममा आउने फेरबदली, कुनै अनिष्टको सङ्केतबारे साङ्केतिक रूपमा जानकारी दिएमा मुलुकका लागि असलै हुन्थ्यो होला । यदि चालु सालमा सूचना नदिइए पनि अर्काे वर्षचाहिँ ‘धामीबाट यस्तो यस्तो भविष्यवाणी भएको थियो’ भनी बताइदिए के हुन्छ होला ?

अर्काे कुरा अघिल्लो रात देवीघाटमा भोग खाएका धामी बिहानै उल्टो हिँडेर ठुलो बगैँचास्थित पृथ्वीनारायण शाहको सालिकनेर रहेको द्वारपाल कुवासम्म जाने र स्नान गरेपछि भैरवीको रथटोलीलाई खबर गर्ने नयाँ कुरा पनि सो अङ्कमा लेखिएको रहेछ । उल्टो हिँडेका धामीमा रहेको तान्त्रिक शक्तिका कारण मानिसहरू नजिक पर्न नहुने वा हेर्न नहुने भएकाले राति देवीघाट बसेका भक्तजन धामी फर्कनुभन्दा पहिले नै फर्कनुपर्ने अनौठो कुरा पनि जानकारीमा आयो । तथापि धामीले स्नान गर्ने कुवाबारे भने यसअघि कतै उल्लेख भएको थाहा भएन । नुवाकोट मात्र नभई मुलुककै प्रमुख जात्राअन्तर्गत पर्ने देवीघाट जात्रा र सिन्दुरेजात्रासँग जोडिएको सो कुवाको संरक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ । धार्मिक आस्थासँग जोडिएको कुवामा स्थानीयवासी वा जो कसैले जथाभाबी गर्न सक्ने तथा अन्य कारणले पुरिन सक्ने हुनाले नगरपालिकाले नै सोको संरक्षणका लागि पहल लिनुपर्ने हुन्छ । पत्रिकाकै अर्का स्तम्भकार रामलाल श्रेष्ठले ‘सिन्दुरे जात्रा र राज्यको दायित्व’ शीर्षकमा पहिलो पानामै जात्रालाई राज्यको अपनत्व गराउन नगरपालिकाका पदाधिकारीकै संयोजकत्वमा मूल जात्रा व्यवस्था समिति गठन गरिनुपर्ने र खर्च व्यवस्था पनि मिलाउनुपर्ने भनी दिइएको सुझाव पनि मननयोग्य छ । यस पर्वप्रति समस्त देशवासीलाई आकर्षण गरी धार्मिक पर्यटन विकास गर्ने अवसर पनि मिल्ने हुनाले अर्काे वर्षका लागि विदुर नगरपालिका र बागमती प्रदेश सरकारले बजेट विनियोजन गर्न र शान्तिसुरक्षासहित व्यवस्थापनको जिम्मा लिन अहिले नै गृहकार्य गर्न आग्रह गर्दछु ।

रेशमनन्दन सोमवंशी
बुढानीलकण्ठ, काठमाडौँ

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह