धुन्चे । रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिकाले जिल्लामै पहिलो पटक क्षयरोग (टिवि) पहिचानका लागि कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्सरे परीक्षण शिविर गत हप्ता सम्पन्न गरेको छ । पालिकाको वडा नं ५ स्याफ्रुवेशीमा र वडा नं ६ को धुन्चेमा गरिएको परीक्षण शिविरमा तीन सय ३० जनाले सेवा पाएका छन् ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र सानोठिमी भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविर वंैशाख १६ गते उक्त गाउँपालिका वडा नम्बर-५ स्याफ्रुबेँसीमा एक सय ४४ जनाको परीक्षण गरेकोमा ६५ को छातीको एक्सरे गर्दा १५ जनामा सम्भावित क्षयरोग देखिएको शाखा प्रमुख बिमल घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी, वैंशाख १७ गते वडा नम्बर-६ को रसुवा स्वास्थ्यचौकी धुन्चेमा एक सय ८६ जनाको चेकजाँच गर्दा २८ जनामा सम्भावित क्षयरोग देखिएको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार प्रारम्भिक परीक्षणपछि सम्भावित देखिएका बिरामीलाई जिन-स्पट परीक्षणमार्फत थप पुष्टि गरिने छ । सङ्कलित नमुना नुवाकोटको त्रिशूली अस्पता र राष्ट्रिय क्षयरोग परीक्षण प्रयोगशाला सानोठिमी भक्तपुर पठाईने समेत बताइएको छ । क्षयरोग भए/नभएको पुष्टि भएपछि बिरामीलाई निःशुल्क औषधि तथा उपचार गरिने तयारीमा पालिका रहेको छ । घर दैलोमै निःशुल्क टिविको चेकजाँच गर्न पाउँदा खुशी लागेको ८६ वर्षिय वृद्धा पेमादोर्जे तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो ।
प्रतिक्रिया