+
Search

ताजा अपडेट +

पपुलर +

सामुदायिक वनको जग्गामा कभर्ड हल

सामुदायिक वनको जग्गामा कभर्ड हल
त्रिशूली प्रवाह
१ महिना अगाडी

बट्टार । बागमती प्रदेश सरकारको बजेटबाट विदुर-२, नागटारीस्थित बाराही सामुदायिक वन उपभोक्ता समितिको जग्गामा बनेको सुविधासम्पन्न ब्याडमिन्टन कभर्ड हल शुक्रबार विदुर नगरपालिकालाई हस्तान्तरण भएको छ । बागमती प्रदेश, सामाजिक विकास कार्यालय गजुरी धादिङका कार्यालय प्रमुख लोकबहादुर वाइबाले नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठलाई सो हल हस्तान्तरण गरेका हुन् । जिल्ला वन कार्यालय र वन उपभोक्ता समितिको लिखित स्वीकृतिविना नै सो हल बनाइएको स्थानीय उपभोक्ता बताउँछन् । सो वनकै हाताभित्र विनास्वीकृति तेकान्दो कभर्ड हल र हिमालयन एकेडेमीको खेलमैदान, पार्किङस्थल र एक भवन बन्दा पनि समितिका पदाधिकारी रमिते बन्दै समर्थन गरेकामा समेत तीव्र आपत्ति जनाइएको छ ।

यस्तै, विभिन्न व्यक्तिले पनि सडक र बाटोसहित लगेर सामुदायिक वनको १० रोपनीभन्दा बढी जग्गा अतिक्रमण गरेको बताइन्छ । प्रदेश सरकारले पनि यस्ता संरचना निर्माण गर्दा कानुनी पक्ष हेर्नुपर्नेमा स्थानीय बुद्धिजीवीले जोड दिएका छन् । सामाजिक विकास कार्यालयबाट निर्मित ब्याडमिन्टन हलको स्वामित्व, व्यवस्थापन र उपयोगको दायित्व नगरपालिकाले पाएको छ । वि.सं. २०८० माघ २९ गते कार्यालय धादिङ र रत्नसन्तोषी जेभीबिच सम्झौता भई गत साल पुस २४ गते रु.दुई करोड ५० लाख लागतमा निर्माण सम्पन्न भएको हल चार महिनापछि सञ्चालनमा आएको कार्यालयले जनाएको छ । उक्त नयाँ हलमा जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा बागमती प्रदेशस्तरीय मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही वैशाख २१ गते सुरु भई २३ गते सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आइतबार प्रतियोगिता उद्घाटन गर्दै खेलबाट राष्ट्र चिनाउने र भावनात्मक सम्बन्ध कायम राख्ने बताए । प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा गराइएको खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए । बागमती प्रदेश खेलकुद परिषद् मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह