रुबीभ्याली (धादिङ) । जनताको सुरक्षा राज्यको पहिलो प्राथमिकता रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । नेपालले चीनको सीमा क्षेत्रमा रहेको धादिङ जिल्लाको उत्तरी क्षेत्र तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) शुक्रबार उद्घाटन गर्दै उनले सीमा क्षेत्रको सुरक्षाका लागि विकट क्षेत्रमा स्थापना भएको प्रहरी पोस्टको क्षमता विस्तारलाई प्राथमिकता दिने बताए ।

बिओपीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनताको साथ–सहयोगमा मात्र प्रहरीले काम गर्न सक्ने हुँदा स्थानीयले सुरक्षा निकायलाई साथ दिनुपर्ने र यहाँको बहुमूल्य जडीबुटी, वन्यजन्तु आदिको सुरक्षामा स्थानीयको साथमा सुरक्षा निकायले काम गर्नेछ ।’ सोही कार्यक्रममा बोल्दै धादिङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवम् कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बल स्थापनाले जिल्लाको उत्तरी क्षेत्रको शान्तिसुरक्षामा बल पुग्ने बताए । उनले भने, ‘बहुमूल्य धातु, जडीबुटी, वन्यजन्तुको चोरीनिकासी हुने कार्य अब रोकिनेछ ।’ रुबीभ्याली गाउँपालिका–१, लब्दुङमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट स्थापना कार्यक्रममा पूर्वमन्त्री टेकबहादुर गुरुङ, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलगायतको सहभागिता थियो । सीमा सुरक्षा बलको स्थापनासँगै सीमा इलाका सुरक्षाको मजबुती, स्थानीय बासिन्दाको शान्तिसुरक्षामा सुधार आउने गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापको रोकथाम र विपत् व्यवस्थापनमा राहत तथा उद्धारको व्यवस्था सहज हुने गाउँपालिका अध्यक्ष तामाङले बताए । बिओपी स्थापनासँगै जिल्लाको दुर्गम सीमा क्षेत्रमा सुरक्षा प्रत्याभूति र नागरिक सेवामा थप सहजता हुने अपेक्षा गरिएको छ ।
धादिङ सदरमुकामबाट लगभग ७० किलोमिटर दूरीमा रहेको २२ सय मिटर उचाइमा रहेको बिओपी अहिले पालिकाले उपलब्ध गराएको भाडाको घरमा बसेको छ । सशस्त्र प्रहरीले उत्तरतर्फ दार्चुलाको टिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी स्थापना गरिसकेको छ । योसँगै छिमेकी मुलुक चीनतर्फको सीमातर्फ ११ र भारतर्फको सीमामा दुई सय ४४ गरी दुई सय ५५ वटा बिओपी स्थापना भइसकेको सशस्त्रका सहप्रवक्ता एसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया