धुन्चे । रसुवा जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीले किसानको घरघरमै पुगेर खरिद गर्न थालेको गत्लाङका कृषक रामकाजी थोक्राले बताउनुभयो ।

आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार अहिले किसानले प्रतिपाथी करिब रु. एक सय २० का दरले आलु बिक्री गरिरहेका छन् । बजारमूल्य गत विगतदेखि स्थिर रहेकाले किसान उत्साहित भएका छन् । फागुनमा रोपिएको आलु यस वर्ष हिउँदे वर्षा राम्रो भएकाले माटोमा पर्याप्त चिस्यान कायम रहँदा उत्पादन गत वर्षको तुलनामा बढेको छ । उत्पादन बढेसँगै किसानले राम्रो आम्दानीको अपेक्षा गरेका छन् । नुवाकोटका उपभोक्ता जनार्दन न्यौपानेले भन्नुभयो, ‘रसुवामा प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिने आलु स्वादिष्ट र गुणस्तरीय हुने भएकाले वर्षायामभर रसुवाकै आलु उपभोग गर्ने गरेको छु ।’
जिल्लाका यार्सा, भोर्लेको माथिल्लो क्षेत्र, राम्चे, धुन्चे, हाकु, नेसिङ, ग्रे, भार्खु, स्याफ्रु, वृद्धिम, टिमुरेको खैदी, थुमन, चिलिमेको टेचाङ्दे, गोल्जुङ तथा गत्लाङलगायतका क्षेत्रमा बर्खे आलुको व्यावसायिक उत्पादन हुँदै आएको छ । गत्लाङका किसान मी लामाका अनुसार यस वर्ष अधिकांश क्षेत्रमा आलुको उत्पादन गत वर्षको तुलनामा वृद्धि भएको छ । उत्पादन बढेसँगै बर्खे आलु नुवाकोट, धादिङ, काठमाडौँलगायत क्षेत्रमा दैनिक १०–१२ गाडी गइरहेको व्यवसायी बृजकिशोर (भिखारीप्रसाद) गुप्ताले जानकारी दिनुभयो ।






प्रतिक्रिया