
विदुर । पछिल्लो ठुलो भूकम्प गएको १० वर्ष पूरा भएको छ । वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर आठ हजारभन्दा बढीको ज्यान गएको र झन्डै २२ हजार घाइते भएका थिए । भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको साततले दरबार (दुर्गरत्न) सहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माण बल्ल सुरु भएको छ । पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुर्याएको एक दशकमा बल्लतल्ल पुनर्निर्माण अघि बढेको हो ।
नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली यतिवेला विदुर-२ अवस्थित कार्यक्षेत्रमा फर्किएर पुनर्निर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको छ । साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक संरचनाको प्राविधिक आवश्यकताअनुसार जीर्णोद्धार, पुनर्निर्माण, प्रबलीकरण र संरक्षणको काम अघि बढाइएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले बताए । उनका अनुसार दरबारसहितको संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार र पुरातत्व विभागसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षबाट पुनर्निर्माणको काम सावधानीपूर्वक भइरहेको छ । ‘दरबार पुनर्निर्माणको काममा लक्ष्यअनुसार प्रगति नभए पनि अहिले भने काम तीव्र गतिमा अघि बढाइएको छ,’ प्रमुख पाण्डेले भने, ‘गत भदौदेखि कार्यक्षेत्रमा आएका चिनियाँ प्राविधिकसहितको कामदारले सावधानीपूर्वक काम थालेका छन् ।’

गोरखा भूकम्पले क्षति पुर्याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत साततले दरबारसहित यहाँका धार्मिक तथा पुरातात्विक महत्वका आठ संरचनाको जीर्णोद्धार, पुनर्निर्माण एवम् प्रबलीकरण गर्ने जिम्मेवारी चीन सरकारले लिएको छ । चिनियाँ पक्षले दरबारको पुनर्निर्माणका लागि चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजलाई पठाएको छ । दुई देशबिच भएको समझदारीअनुसार पुरातत्व विभाग र निर्माणको जिम्मेवारी पाएको एकेडेमीबिच वि.सं. २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । नयाँ सम्झौतामार्फत पुनर्निर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक भएपछि हाल काम सुरु गरिएको हो । यद्यपि, थप अवधि उल्लेख गरिएको छैन । पूर्ववत् समझदारीअनुसार नै काम सुरु गरिएको तीन वर्ष नौ महिनाभित्र पहिलो चरणको काम सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ । पहिलो चरणअन्तर्गत दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । चिनियाँ प्राविधिकको अध्ययनअनुसार दरबार र मन्दिर दुवैको जीर्णोद्वारमार्फत पुनर्निर्माण गर्ने तयारी छ । बाँकी अन्य गारदघर, रंगमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण, जीर्णोद्धार, प्रबलीकरण र संरक्षणका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ ।
नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले वि.सं. १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेका थिए । उनले त्यसैलाई राजधानी बनाई वि.सं. १८१९ मा दरबार निर्माण सम्पन्न गरेका थिए । काठमाडौँ उपत्यका विजय हुनुअघिसम्म पृथ्वीनारायणले नुवाकोट दरबारमार्फत नै आफ्नो कामकाज सञ्चालन गर्दै आएको इतिहासमा उल्लेख छ । दरबारलाई नै उनले राज्यको मुख्य प्रशासनिक केन्द्र बनाई देशको राजधानीका रूपमा नुवाकोट रहेको उल्लेख थियो । सो ऐतिहासिक दरबारसहितको संरचना गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको थियो । दरबारसहितको संरचना पुनर्निर्माणको जिम्मा लिएको चिनियाँ पक्षले वि.सं. २०७६ असारदेखि काम सुरु गर्न कार्यक्षेत्रमा आए पनि उक्त समयमा थप क्षति हुन नदिन खट बनाई (टेको दिएर) फर्किएको थियो ।

हाल नुवाकोट दरबार र दरबारसँगै रहेको लिच्छविकालीन तलेजुको मन्दिरको प्रबलीकरण अघि बढाइएको छ । चिनियाँ प्राविधिकसहितको कामदार टोली तुलजा भवानीको मन्दिरको पुनर्निर्माणका लागि चर्केका, भत्केका गाह्रो झिक्ने र झिकेका सामान सावधानीपूर्वक सुरक्षित राख्न सक्रिय छन् । पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय विदुर नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले पानी, निर्माण सामग्री रााखिने स्थान, स्थानीय निर्माण सामग्री सहज रूपमा उपलब्ध गराउने र बिजुलीलगायत व्यवस्था गर्ने जिम्मेवारी लिएको छ । सोहीअनुसार नगरपालिकाले काम गरिरहेको नगरप्रमुख राजनलाल श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।