अमेरिकाबाट संस्कृत माविलाई आर्थिक सहयोग

  • त्रिशूली प्रवाह
  • २६ बैशाख २०८२, शुक्रबार १४:२०

विदुर । नुवाकोट-अमेरिका सम्पर्क समितिले विदुर-५, देवीघाटस्थित जिल्लाको एक मात्र संस्कृत भाषा विद्यालय सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई रु. एक लाख ८० हजार आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले गत वर्ष पनि नुवाकोटको सो संस्कृत माविलाई आर्थिक सहयोग गरेको थियो । सो सहयोगले विद्यार्थी र विद्यालयको शैक्षिकलगायत विभिन्न कार्यमा थप ऊर्जा र साहस थपिएको विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन् ।

विगत एक दशकदेखि प्राकृतिक प्रकोप, महामारी र अन्य आर्थिक समस्यामा परेका समुदाय र विशेषगरी आर्थिक हिसाबले कमजोर विद्यालयलाई समितिले आर्थिक सहायता गर्दै आइरहेको संस्थाका अध्यक्ष डा.दीपेन्द्र दाहालले बताए । समितिका महासचिव जनकराज ढुङ्गाना ‘कालु’का अनुसार संस्थाले हालसम्म जिल्लाका आर्थिक रूपमा कमजोर २० भन्दा बढी विद्यालयलाई आर्थिक सहयोग र विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । सरकार र नगरपालिकाले दिने बजेटले शिक्षकको तलबलाई मात्र पुग्ने र वटुकका व्यवस्थापनमा आर्थिक समस्या भएको भनी विद्यालयले बताएकाले आफूहरूले सहयोग जारी राखेको संस्थाका निवर्तमान अध्यक्ष विज्ञान खनालले बताए ।