+
Search

ताजा अपडेट +

पपुलर +

धेरै सार्वजनिक बिदाले सेवाग्राही प्रताडित

धेरै सार्वजनिक बिदाले सेवाग्राही प्रताडित
त्रिशूली प्रवाह
१ महिना अगाडी

विश्वमा सबैभन्दा बढी सार्वजनिक बिदा दिने देशमध्येमा नेपाल पनि परेको छ । यहाँ अलि धेरै नै सरकारी बिदा छन् । धार्मिक तथा सांस्कृतिक पर्व र अन्य विशेष दिवसमा समेत बिदा दिने परम्पराले नेपालमा सरकारी बिदाको सङ्ख्या बढी नै छ ।

राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार २०८१ सालमा ५३ दिन शनिबारबाहेक ३५ दिन चाडपर्व आदि गरी ८८ दिन सरकारी बिदा परेको थियो । यस वर्ष २०८२ मा पनि ५२ शनिबार र अन्य ३६ दिन गरी देशभर लागू हुने गरी ८८ दिन नै सार्वजनिक बिदा परेको छ । यसपटकको सार्वजनिक बिदा तथा दिवसको सूचीबाट ‘जनयुद्ध दिवस’ भने हटेको छ । तर, पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदाले निरन्तरता पाएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिने÷नदिने भन्नेमा नेतृत्वपिच्छे फरक मत हुँदा सो बिदा अनियमितजस्तै हुँदै आएको थियो । त्यस्तै, जनयुद्ध दिवस पनि विवादमा पर्दै आएको थियो । यसअघि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा कायम गरिए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि यसलाई हटाइयो । अदालतले जनयुद्ध दिवसलाई संविधानले नै नचिन्ने भनेपछि माओवादीलगायत सशस्त्र द्वन्द्वमा जोडिएका अधिकांश रुष्ट बनेका थिए । सार्वजनिक बिदा नै नभए पनि तिनले उक्त दिनलाई मुख्य दिवसका रूपमा मनाउँदै आएका छन् ।

घोषित र अघोषित अर्थात् भैपरी आउने बिदासमेत गरी वर्षमा झन्डै एक सय दिन बिदामा बस्ने कर्मचारीको कार्यसम्पादन कसरी प्रभावकारी हुन सक्छ ? काम गरेरभन्दा बिदा मनाएर तलबसुविधा खाने कर्मचारीबाट कसरी देश विकासमा योगदान हुन सक्छ  ? अनि कसरी सेवाग्राहीले सहज रूपमा नियमित सेवा पाउन सक्छन् ?

बढी सरकारी बिदाले राष्ट्रिय उत्पादन वृद्धिमा समेत नकारात्मक असर परेको छ । सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसक्ने, त्यसकै लागि अतिरिक्त दिन पर्खिनुपर्ने र अतिरिक्त खर्च व्यहोर्नुपर्ने हुँदा सेवाको लागतसमेत बढ्ने गरेको छ । कार्यदिनमा पनि बिदाको दिनको गफ चुटेर समय व्यतीत गर्ने कर्मचारीतन्त्रको प्रवृत्तिबाट सेवाग्राही अनभिज्ञ छैनन् । कर्मचारीतन्त्रको कामचोर र भ्रष्टाचारी मनोवृत्तिबाट हायलकायल सेवाग्राही यस्ता सरकारी बिदाकै कारण थप प्रताडित छन् । अधिक सरकारी बिदाकै कारण सेवाग्राहीले हैरानी खेप्नुपर्ने, अमूल्य समयको बर्बादी र अमूल्य अवसरसमेत गुम्ने सम्भावना हुन्छ । सरकारी बिदाकै कारण सेवाग्राहीले मानसिक तनाव भोग्नुका साथै आर्थिक क्षतिसमेत व्यहोर्नु परिरहेको छ । विशेषगरी वैदेशिक रोजगारी, विदेशमा अध्ययन र भ्रमणमा जान लागेका, विभिन्न परीक्षामा सामेल वा प्रतिस्पर्धामा सहभागी हुन चाहेका सामाजिक सुरक्षा र निवृत्तिभरण बैंकबाट बुझ्ने सेवाग्राहीले अधिक सरकारी बिदा अथवा अकस्मात् आउने सरकारी बिदाले गर्दा सेवा पाउन नसक्दा अथवा सरकारी प्रक्रिया पूरा नहुँदा समस्या भोग्नुपरेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भई धर्मनिरपेक्ष मुलुक बनिसकेको अवस्थामा विभिन्न जातजाति र धार्मिक सम्प्रदायले आफ्नो इच्छा र आस्थाअनुसार धर्म अवलम्बन गर्ने अवसर पाएका छन् । कुनै पनि जातिलाई आफ्नो धर्म र संस्कृतिअनुसार धार्मिक वा सांस्कृतिक उत्सव मनाउने स्वतन्त्रता संविधानले नै प्रदान गरेको छ ।

नागरिकलाई संविधानप्रदत्त धार्मिक र सांस्कृतिक स्वतन्त्रता भए पनि सबै जाति, सम्प्रदाय र धर्मावलम्बीले सबै धर्म, संस्कृति र परम्परा अपनाउनुपर्छ भन्ने बाध्यता छैन । कुनै एक धर्मावलम्बी वा संस्कृति अनुसरणकर्ताले पाएको बिदा अर्कालाई आवश्यक नहुन सक्छ । उसले चाहेमा त्यस दिन आफ्नो नियमित काम, कर्तव्य र दायित्व निर्वाह गर्न पाउनुपर्छ अथवा काममा लगाउने व्यवस्था हुनुपर्छ । यस्तो व्यवस्था भयो भने सेवाग्राहीको निर्बाध सेवा पाउने अधिकार कुण्ठित हुन पाउँदैन । औचित्य नै नखुल्ने गरी सबैलाई सबै चाडपर्वमा बिदा दिएर समयको बर्बादी गर्नु वा सेवाग्राहीको निर्बाध रूपमा सहज सेवा पाउने अधिकारलाई कुण्ठित गर्नु मनासिब होइन ।

सरकारी बिदा घटाउँदै बिदामा पनि विकल्पको व्यवस्था गरेर कर्मचारीलाई बिदा रोज्ने स्वेच्छिक अवसर दिनु उपयुक्त हुन्छ । विशेष गरी पर्व बिदालाई स्वेच्छिक गर्न सकिन्छ । जो–जससँग सम्बन्धित छ, उसलाई मात्र बिदा दिने गरे वर्षैभरि सरकारी सेवाप्रवाहलाई नियमित बनाउन सकिन्छ जुन हाम्रोजस्तो अल्पविकसित देशका लागि उपयुक्त हुन्छ । कसैले कम र कसैले धेरै बिदा पाउने अवस्था आए वर्षमा कति दिन पर्व बिदा दिने भनेर निश्चित गर्न सकिन्छ । शनिबारबाहेक अरू बिदालाई सरकारी बिदा नभनेर वैकल्पिक बिदा मानी सम्बन्धित धर्म, संस्कृति र परम्पराका कर्मचारीलाई मात्रै बिदा बस्ने सुविधा दिएर अरू कर्मचारीलाई कार्यालयमा उपस्थित हुने व्यवस्था भएमा शनिबारबाहेकका अरू बिदा झन्डै आधा कटौती गर्न सकिन्छ । यसबाट सेवाग्राहीले सहज सेवा पाउनुका साथै देश पनि समृद्ध हुँदै जान्छ, थोरै बिदा र धेरै कार्यदिनले गर्दा कार्यसम्पादनको समय वृद्धि भई कर्मचारीको उत्पादकत्व वृद्धि हुनेछ भने राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव पर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह