+
Search

ताजा अपडेट +

पपुलर +

कैलाश-मानसरोवर तीर्थाटनका लागि काठमाडौँ-केरुङमार्ग रोजाइमा

कैलाश-मानसरोवर तीर्थाटनका लागि काठमाडौँ-केरुङमार्ग रोजाइमा
शरण उत्सुक सापकोटा
१ महिना अगाडी

चीनको तिब्बत क्षेत्रको उच्च भेगमा पर्ने कैलाश-मानसरोवर धार्मिक आस्था र हिमाली भेगको भ्रमणमा अभिरुचि राख्नेका लागि महत्वपूर्ण गन्तव्यस्थल हो । मानसरोवर स्थलमार्गबाट भारतको सिक्किम तथा नेपालका हिल्सा, तातोपानी, रसुवागढी र काठमाडौँ-ल्हासा हवाई मार्गबाट पुग्न सकिन्छ ।

पछिल्लो दुई वर्षदेखि मानसरोवर तीर्थाटन जानेको रोजाइमा काठमाडौँ-रसुवागढी-केरुङ स्थलमार्ग परेको छ । यो मार्गबाट छोटो, छिटो र कम खर्चमा यात्रा गर्न सकिने ट्रेकिङ एजेन्सीका प्रतिनिधिले बताउने गरेका छन् । रसुवागढी नाका भएर कैलाश जानेको सङ्ख्या अहिले दैनिक ६० देखि सयको हाराहारीमा रहेको अध्यागमन कार्यालय टिमुरे रसुवाका प्रमुख लेखनाथ खतिवडाले जानकारी दिए । उनका अनुसार कोरोना महामारीपछि चीन सरकारले रसुवागढी नाका दुईतर्फ खुला गरेपछि कैलाश जाने यात्रुले काठमाडौँ-रसुवागढी-केरुङमार्ग रोजेका छन् । गत वर्ष वैशाखमा सो मार्गबाट एक हजारभन्दा बढी व्यक्ति गएको तथ्याङ्क अध्यागमन कार्यालयले सार्वजनिक गरेको थियो । यो मार्गबाट मानसरोवर जाने उपयुक्त समय वैशाखदेखि असोज महिना हो । साउन, भदौ, असोज महिना पानी बढी पर्ने र सडकमार्ग अवरोध भइरहने हुँदा वैशाख, जेठ, असारलाई उपयुक्त मानिन्छ ।

काठमाडौँदेखि रसुवागढी हुँदै केरुङको दूरी करिब एक सय ४५ देखि एक सय ७५ किलोमिटर छ । काठमाडौँदेखि त्रिशूली-धुन्चे-स्याफ्रुबेँसी-रसुवागढी नाका हुँदै केरुङ सातदेखि नौ घण्टामा पुग्न सकिने रसुवा ट्रेक्सका बलराम न्यौपानेले बताए । केरुङदेखि कैलाश पर्वतसम्मको ओभरल्यान्ड यात्रा करिब एक हजार नौ सय किलोमिटर छ । ट्रेकिङ एजेन्सीका प्रतिनिधिअनुसार केरुङदेखि सागा दुई सय ३० किलोमिटर (पाँच-छ घण्टा), सागादेखि मानसरोवर ताल करिब पाँच सय किलोमिटर (सात घण्टा), मानसरोवरदेखि दर्शन करिब ३५-४० किलोमिटर (एक घण्टा), कैलाश परिक्रमा पैदलयात्रा ५२ किलोमिटर सामान्यतया तीन दिन लाग्छ । मानसरोवर पर्वतको अधिकतम उचाइ डोल्मा ला भञ्ज्याङसम्म पाँच हजार ६ सय ३० मिटर छ ।

शनिबार सो मार्ग हुँदै नेपालका उद्योगी-व्यवसायीको टोली मानसरोवर गएको छ । टोयोटा एलाइट एक्सप्लोर नेपालका व्यवस्थापनमा टोयोटा जिप र पिकअप २४ वटामा ६० व्यवसायी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपालबाट नेपाली सवारीसाधन लिएर पछिल्लोपटक मानसरोवर यात्रा निस्केको टोलीलाई नुवाकोट उद्योग वाणिज्य सङ्घ र विदुर नगरपालिकाले विदुरमा तथा गोसाइँकुण्ड गाउँपालिकाले धुन्चेमा स्वागत र तीर्थयात्राको सफलताको कामना गर्दै बिदाइ गरेको थियो । यात्रामा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वाध्यक्ष कुशकुमार जोशी र सुरज वैद्य, पूर्वकोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, मनकामना केबलकारका सञ्चालक राजबाबु श्रेष्ठ, पञ्चकन्या ग्रुपका सञ्चालक ध्रुव श्रेष्ठलगायत उद्योगी-व्यवसायी रहेको एक्सप्लोररले जनाएको छ । तीर्थाटनमा निस्केको टोलीलाई विदुरका प्रमुख राजनलाल श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका व्यवसायी तथा जनप्रतिनिधिले विदुरमा र गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङलगायतका जनप्रतिनिधि र कर्मचारीले धुन्चेमा स्वागत र बिदाइ गरेका थिए । काठमाडौँका सामाखुसी, टोखा, नुवाकोटका गुर्जेभञ्ज्याङ, छहरे, त्रिशूली, रसुवाको रसुवागढी हुँदै केरुङ मानसरोवर जाने स्थलमार्गको प्रचारप्रसार एवम् प्रवद्र्धन गर्ने उद्देश्यले आफूहरू भ्रमणमा जान लागेको महासङ्घका पूर्वअध्यक्षद्वय जोशी र वैद्यले बताए । छिटो, छोटो र सहज रहेको काठमाडौँ–केरुङ स्थलमार्गबारे अध्ययन, अवलोकन गरी पर्यटन प्रवद्र्धन र व्यापार, व्यवसाय विस्तार गर्ने अपेक्षासहित सरकारलाई थप सडक पूर्वाधार विकास गर्न सुझाव दिने उनीहरूले स्पष्ट पारे । शनिबार काठमाडौँबाट निस्केको उक्त टोली आइतबार केरुङ हुँदै सागा पुगेको थियो ।

काठमाडौँ-केरुङमार्ग
यो रूटमार्फत स्थलमार्ग हुँदै कैलाश-मानसरोवर पुग्न सकिन्छ । यसका लागि काठमाडौँको टोखा, नुवाकोटको छहरे-बट्टार-त्रिशूली-रसुवागढी हुँदै केरुङ पुग्न सकिन्छ । केरुङबाट तिब्बती सीमा पार गरी सडक यात्रा गर्दै एक दिनमा सिगात्से पुगिन्छ । सिगात्सेबाट सडकमार्फत दुई दिनमा मानसरोवर पुग्न सकिन्छ । तिब्बती भेगमा सडकको अवस्था राम्रो रहे पनि नेपालतर्फ नाजुक रहेका कारण यात्रा केही कष्टकर हुने गरेको छ । खर्चका हिसाबले भने सो रूटबाट यात्रा गर्दा कम खर्चिलो हुन्छ । सो मार्गबाट कैलाश-मानसरोवर यात्रा प्रतिजवान रु दुई लाखसम्ममा गर्न सकिने ट्रेकिङ एजेन्सीले जनाएको छ ।

भारतको सिक्किम मार्ग
कैलाश-मानसरोवरमा भारतीय मूलका तर विश्वका विकसित देश अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियामा बस्ने गैरआवासीय भारतीय जाने गरेको पाइन्छ । उनीहरूसँग यस यात्राका लागि चाहिने यथेष्ट रकम हुनाका साथै धार्मिक आस्था पनि बलियो हुने भएकाले यस यात्रामा उनीहरूको उपस्थिति बढी हुन पुगेको हो । गैरआवासीय र खाट्टी भारतीय दुवैमध्ये अधिकांश नेपालको बाटो हुँदै यस यात्रामा निस्किन्छन् । भारतको सिक्किम सीमा हुँदै कैलाश, मानसरोवर जान सकिने भए पनि मौसमका कारण धेरै कठिन छ । भारत र चीनबिचको राजनीतिक उतारचढावले पनि छिट्टै प्रभावित हुने गरेको छ । सोही कारण यस यात्रामा जाने लगभग सबैजसो भारतीय नेपालकै बाटो जान रुचाउँछन् । यस यात्राका लागि नेपाल हुँदै जाने निश्चित रूट छन् । यात्रुले यिनै रूटमध्ये एक छनोट गर्नुपर्ने हुन्छ । यी मार्गमा यात्राका लागि लाग्ने अवधि, खर्च र यातायातको माध्यमका आधारमा शुल्क निर्धारित छन् ।

काठमाडौँ-ल्हासा हवाईमार्ग
कैलाश, मानसरोवर यात्राका लागि सबैभन्दा सजिलो यही माध्यम हो । यस रूटमा खर्च भने अरूमा भन्दा बढी लाग्छ । यो रूट काठमाडौँ-ल्हासा हवाई यात्राबाट सुरु हुन्छ । धेरैजसो अवस्थामा ल्हासामा एक दिन बस्ने तालिका मिलाइएको हुन्छ । त्यसपछि तीन दिनमा करिब एक हजार पाँच सय किलोमिटर सडक यात्रा गरेपछि मानसरोवर पुग्न सकिन्छ । मानसरोवर पुगेको दिन एक रात वास बस्न सकिन्छ वा स्नानपछि कैलाशको आधार शिविर दार्चेनमा वास बस्न सकिन्छ । दार्चेनबाट तीन दिन पैदल वा घोडामा यात्रा गरेपछि कैलाशको प्रदक्षिणा गरी फेरि दार्चेन फर्किन सकिन्छ । दार्चेनबाट फेरि सडक यात्रा गर्दै ल्हासा फर्किन र ल्हासाबाट हवाई मार्गबाट काठमाडौँ आउन सकिन्छ । यस रूटबाट यात्रा गर्न १३ देखि १६ दिनसम्म लाग्छ, जसको खर्च रु. तीन लाखभन्दा बढी हुन्छ ।

काठमाडौँ-हिल्सा स्थलमार्ग
यस रूटबाट कैलाश मानसरोवरको यात्रा काठमाडौँ-नेपालगन्ज हवाई यात्राबाट सुरु हुन्छ । नेपालगन्जबाट हुम्लाको सिमीकोटसम्म हवाई जहाजबाट यात्रा गर्नुपर्ने हुन्छ । यस रुटमा हवाईजहाजको टिकट पाउन एकदमै कठिन हुन्छ । छिटोछिटो मौसम परिवर्तन भइरहने हुँदा उडान ढिलाइ हुने जोखिम जतिबेलै रहन्छ । सिमीकोटबाट हिल्सासम्म हेलिकोप्टरबाट यात्रा गरिन्छ । त्यहाँ पनि मौसमको भूमिका महत्वपूर्ण हुन्छ । मौसमको अवस्थाअनुसार हेलिकोप्टरको उडान हुने-नहुने तय हुन्छ । यस रूटबाट यात्रा गर्दा समय लम्बिने सम्भावना रहन्छ । भनेको समयमा हवाई यात्रा भएमा यस रूटबाट कैलाश मानसरोवरको यात्रा सबैभन्दा थोरै समयावधिमा गर्न सकिन्छ । हिल्सा पुगेर नेपालबाट तिब्बती सीमा छिरेलगत्तै सडकबाट एक दिनमा मानसरोवर पुग्न सकिन्छ । फेरि मानसरोवरबाट हिल्सा हुँदै जाँदाकै रूट प्रयोग गरी काठमाडौँ फर्किन सकिन्छ । यस यात्राका लागि रु. दुई लाखदेखि रु.तीन लाख खर्च लाग्छ ।

काठमाडौँ-तातोपानी
हाल यो रुट बन्द छ । वि.सं. २०७२ को विनाशकारी भूकम्पले सो रुटमा पर्ने सडक बिगारेपछि अहिलेसम्म चालू हुन सकेको छैन । काठमाडौँबाट सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै खासा पुग्न सकिन्छ । खासाबाट सडक यात्रा गरी मानसरोवर पुग्न सकिन्छ । यस रुटबाट यात्रा गर्दा धेरै दिन लाग्छ ।

ट्रेकिङ एजेन्सीमार्फत मात्र जान सकिने
कैलाश मानसरोवरको यात्रा संसारका अरू स्थानको यात्रा गरेजस्तो सजिलो छैन । आपूmखुसी र जहिले मन लाग्यो तहिले यस यात्रामा जान सकिँदैन । साथै तिब्बतको भौगोलिक बनावट, फरक खाना र भाषाका कारण कुनै न कुनै माध्यमबाट यात्रा निर्धारण गर्नुपर्छ । तिब्बतीले आफ्नो भाषा मात्र बोल्ने र मानिससमेत फाट्टफुट्ट मात्र भेटिने हुँदा यात्राको मार्गदर्शन पाउन सकिँदैन । साथै सार्वजनिक यातायातमार्फत यात्रा गर्न सकिँदैन । खानेकुराको उपलब्धता जहाँ पायो त्यहीँ हुँदैन । पाएमा पनि उपयुक्त खाना पाइँदैन । यदि खाना पाइएमा पनि आफूलाई चाहिने खाना तिब्बती भाषामै माग्नुपर्ने हुन्छ । फेरि यो तीर्थयात्रा भएकाले खानेकुरामा पनि परहेजमा बस्नुपर्ने हुन्छ । राम्रोसँग संवाद गर्न नसके मासुजन्य खाना पर्न सक्छ । तसर्थ ट्रेकिङ एजेन्सीमार्फत मात्र यस यात्रामा जान सकिन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शरण उत्सुक सापकोटा