+
Search

ताजा अपडेट +

पपुलर +

सिस्नोको व्यापारमा शिक्षिका

सिस्नोको व्यापारमा शिक्षिका
त्रिशूली प्रवाह
१ साल अगाडी

गत्लाङ । रसुवा जिल्लाको कालो गाउँले परिचित गत्लाङ गाउँकी एक शिक्षिकाले पाँच वर्षदेखि सिस्नु पाउडर उत्पादन गरेर वार्षिक रु. तीन लाखभन्दा बढी कमाइरहेकी छिन् । गत्लाङमा जन्मिएकी सुम्निमा लामा शिक्षण पेसासँगै लोपलाग्दो सिस्नुको व्यापार गरेर गाउँलेका लागि उद्यमी बन्ने प्रेरणा दिइरहेकी छिन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

वि.सं. २०७६ देखि उत्पादन सुरु गरे तापनि २०७७ साल माघमा उघोग तथा वाणिज्य कार्यालय रसुवामा गत्लाङ सिस्नो पाउडर उत्पादन उद्योग दर्ता गरी काम गरिरहेकी लामालाई उत्पादन गरेको सिस्नु पाउडर बिक्रीमा समस्या छैन । गाउँमा नै पाउडर बनाएर काठमाडौंको रैथाने बजार, बौद्ध, स्वयम्भू, गोठाटार, माछापोखरीलगायतबाट माग भइरहेको उनी बताउँछिन् । मागअनुसार सामान दिन धौधौ परिरहेको लामाले केजीको रु.पाँच सयदेखि रु.सात सयसम्म बिक्री गर्ने गरेको बताउँछिन् । सुम्निमा एक निडर, साहसी र एकल महिला भए तापनि केही गर्छु भन्ने अठोटले गर्दा २०७३ सालदेखि गत्लाङमा रहेको नेपाल राष्ट्रिय माविमा प्रावि शिक्षक पदमा पढाउन थालिन् । शिक्षण पेसासँगै अन्य काम गर्ने क्रममा उनको ध्यान सिस्नुतिर गयो र यो सिस्नु उनको अहिले वैकल्पिक पेसा बनेको छ । गाउँघरमा खेर गइरहेको सिस्नुमा उनले पैसा देखिन् र त्यसकै प्रयोग गरेर मोहर कमाउँछु भन्ने सोचले गर्दा उनी आज सफल उद्यमी बनेकी छिन् । उनले श्रीमान्को नाममा रहेको लालपुर्जा धितो राखेर फर्म दर्ता गरेकी रहिछिन् । उनका श्रीमान्को २०७२ साल कात्तिक १७ गते रसुवाको ग्राङमा बस पल्टिएर मृत्यु भएपछि एकल जीवन बिताइहरेकी उनको जीवनमा मानसिक, शारीरिक रूपमा धेरै दुःखकष्ट भोगाइ रहेको छ । त्यसको बाबजुद केही गर्छु भन्ने आँट र भरोसाले अहिले सिस्नु व्यापारी दिदी भनेर परिचित हुन् । उनको दुईवटा छोरा र छोरी रहेका छन् । गरे के हँुदैन भनेर शिक्षण पेसासँगै सिस्नोको व्यापार थालेकी उनलाई गाउँपाखामा खेर गइरहेको सिस्नुले राम्रै आम्दानी दिइरहेको वडा नम्बर-३ का अध्यक्ष सुरेन्द्र तामाङले बताए ।

Suzuki New Bike & Scooter

आमाछोदिङ्मो गाउँपालिकाकी उपप्रमुख चण्डिका तामाङले भनिन्, ‘पाँच सय घरधुरी रहेको गाउँकै सफल उद्यमी बनेकी सुम्निमा गाउँका महिला दिदीबहिनीको लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।’ पुरुषप्रधान हाम्रो देशमा झनै एकल महिला भएर बाँच्न गाह्रो छ, हिम्मत गर्दै उनले शिक्षण पेसा र सिस्नु व्यवसायलाई निरन्तरता दिइरहेको गाउँपालिका प्रमुख बुचुङ तामाङले बताए ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह