राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं. १८१९ मा भव्य नौतले दरबार बनाउन लगाएका थिए । पछि ९० सालको महाभूकम्पले गर्दा दुई तला भत्किएर साततले मात्र हुन पुगेको थियो । पुरातत्वविद्का अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तला र सर्वसाधारण जनताले तीन तलासम्मको घर बनाउने गरेका थिए । काठमाडौँ उपत्यकाका मल्ल राजाहरूको घमन्ड तोड्नकै लागि पृथ्वीनारायणले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन् ।
साततले दरबारलाई गृष्मकालीन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालीन दरबारका रूपमा वि.सं. १८२२ मा शेरा दरबारको निर्माण भएको थियो । सातौँ तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्धबन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई महत्वपूर्ण रूपमा लिइन्छ । यस दरबारअघिल्तिरको तिलिङ्गा घर, जसलाई पछि गएर गारदघर भन्न थालियो, का साथै उत्तरपूर्व कुनाको रणबहादुर शाहको बैठक घर पनि शाहकालमा निर्माण भएको थियो ।
दरबारलाई पञ्चायतकालमै राष्ट्रियकरण गरिएको थियो । सांस्कृतिक महत्व बोकेको दरबार भएकाले पुरातत्व विभागमा राखिएको थियो । वि.सं. २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भएपछि २०६८ वैशाख १३ देखि नुवाकोट दरबार सङ्ग्रहालयका रूपमा परिणत भएको थियो । सहरको भिडभाड, कोलाहल, धुवाँधुलो, धपेडी पन्छाएर शीतल र स्वच्छ वायुमा रमाउनेका लागि नुवाकोट दरबार क्षेत्र उपयुक्त गन्तव्य हो । काठमाडौँसँगै जोडिएको नुवाकोट जिल्लाको यस क्षेत्रले सहरवासीलाई शीतलता मात्र प्रदान गर्दैन, सदियौँ पुरानो शिल्पकलाको नजिक पनि पुर्याउँछ ।
पृथ्वीनारायणद्वारा तत्कालीन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णालीपारिका बाइसे–चौबिसे भनिने ससाना राज्यलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कट अभिलाषा राखी उपत्यकाको पश्चिमतर्फको मूल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाका रूपमा रहेको नुवाकोटबाट अभियान सुरु गरियो । त्यसैबेला कान्तिपुर अधीनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । फलस्वरूप तेस्रोपटक (पिता नरभूपालबाट एकपटक) को व्यापक तयारीपछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो । इतिहासले भन्छ, कुनै बखत नुवाकोट काठमाडौँभन्दा शक्तिशाली थियो । यो पृथ्वीनारायणले बाइसे-चौबिसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो । त्यही वेला त हो नुवाकोट अनेकन शिल्पकलाले सजिएको । तर, विडम्बना त के छ भने प्राचीन हस्तशिल्पले खिपिएका संरचना अब सग्लो देख्न पाइनेछैन । गोरखा भूकम्पपश्चात् यहाँको साततले दरबारलगायत थुप्रै प्राचीन सम्पदा भूकम्पले हल्लाएर लथालिङ्ग भई हाल जीर्ण मात्र होइन, करिब ध्वस्त भइसकेको अवस्थामा छ । पुरातत्व विभागमार्फत चिनियाँ कम्पनीलाई पुनर्निर्माणको जिम्मेवारी दिइएकामा अहिलेसम्म पनि निर्माणले गति लिन सकेको छैन ।
पृथ्वीनारायणले काठमाडौँ उपत्यका विजय गर्नुअघि निकै शक्तिशाली राज्यका रूपले चिनिएको नुवाकोट इतिहासका विद्यार्थीको खुला सङ्ग्रहालय हो । नुवाकोट दरबारपरिसरमा धार्मिक हिसाबले महत्वपूर्ण भैरवी र तलेजु मन्दिर छन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक हिसाबले महत्वपूर्ण र मनोरम प्राकृतिक छटाले भरिपूर्ण यस जिल्लामा प्राचीन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । गोरखालाई नुवाकोटसँग सम्पर्क बढाउने महत्वपूर्ण मार्गका रूपमा हात्तीगौँडा, राईसिंगे, कागुने, सामरी, थर्पु, कटुन्जे, ब्याडुङ, पालुङटार, आरूघाट भएर गोरखाबजार पुग्ने परम्परागत पैदल बाटा छन् । नुवाकोट दरबार पुग्न पैदल रूपमा त्रिशूली, बान्द्रे (सिमुटार) हुँदै, शुभघाट, गेर्खुटार नेपाल एकीकरण पदमार्ग हुँदै तथा शेरा दरबार हुँदै जाने पुराना पैदल बाटा पनि हाल निर्माणका क्रममा छन् । उक्त पैदलमार्गलाई इतिहास झल्काउने गरी जीवितै राखेर पुनर्निर्माण गर्नु अहिलेको चुनौती छ । दरबार भने पुरानै शैली र स्वरूपमा पुनर्निर्माण भइरहेको सरोकारवाला बताउँछन् ।
परम्परागत वास्तुकला झल्काउने गरी निर्मित यस्ता दरबार र मन्दिर, चैत्य, स्मारक, ऐतिहासिक बाटोघाटो पुनर्निर्माण गर्दा हाम्रो इतिहासलाई जीवन्त बनाउने हेतुले निर्माण गरिनुपर्छ । यस अभियानमा विदुर नगरपालिका हरदम लागिरहेको छ । सरोकारवाला बताउँछन्, ‘नुवाकोटको साततले दरबार मौलिक शैली र स्वरूपमा नै बन्छ र यससँग जोडिएका अन्य रंगमहल, गारदघर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिरलगायत सम्पदामध्ये केही निर्माण भइसकेको छ भने केही निर्माणकै क्रममा रहेको छ, उक्त सम्पदा पनि इतिहास झल्कने गरी नै निर्माण गर्नु महत्वपूर्ण हुनेछ ।’ पुरातात्विक सम्पदा साततले दरबारलाई छिटोभन्दा छिटो चिनियाँ निर्माण कम्पनीसँग आवश्यक समन्वय गरी पुरानै शैलीमा पुनर्निर्माण सम्पन्न गरिदिन स्थानीयवासीले पुरातत्व विभागले पटक-पटक आग्रह गर्दै आएका छन् ।
विदुर-१०, नुवाकोट
प्रतिक्रिया