+
Search

ताजा अपडेट +

पपुलर +

लागुऔषध नियन्त्रणका लागि तिनमहिने अभियान

लागुऔषध नियन्त्रणका लागि तिनमहिने अभियान
त्रिशूली प्रवाह
१ महिना अगाडी

धादिङबेंसी । धादिङ जिल्लामा लागुऔषध नियन्त्रणसम्बन्धी तीनमहिने सचेतनामुलक अभियान गत बुधबार सिद्धलेक गाउँपालिकाबाट सुरू भएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा सिद्धलेक-४ स्थित गाउँपालिकाको सभाकक्षमा कार्यक्रम गरेर अभियान सुरू गरिएको हो । अभियानको नेतृत्व जिल्ला प्रशासन कार्यालय धादिङले गरेको र यसमा स्थानीय प्रशासन, प्रहरी कार्यालय र धादिङ जिल्लाका १३ वटै स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ । लागुऔषधका कारण समाजको ठूलो हिस्सा दलदलमा फसेको र त्यसले सामाजिक संरचनात्मक विकासलाई नै नकारात्मक दिशातर्फ धकेलेकोले लागुऔषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै सरोकारवालको प्रभावकारी समन्वयबाट मात्र नियन्त्रण गर्न सम्भव विषय भएकाले हामीले अभियान सुरू गरेका हौँ । उत्पादन, वितरण, प्रयोग गर्नमा प्रतिबन्ध लगाउने र यसको प्रयोग, उत्पादन र वितरण गर्नेलाई कारबाही गरिने भएकोले लागु औषधबाट सुरक्षित रहन आग्रह गर्नुभयो । लागुऔषध नियन्त्रणका लागि स्थानीय सरकारले शिक्षा, सचेतना, अभिमुखीकरणलगायतका कार्यक्रम योजना बनाएर लागू गर्नुपर्ने लागुऔषध नियन्त्रणका लागि अब पण्डितहरूले सप्ताह, एकाहा लगाउँदा, चर्चमा पाष्टरले सचेतना गरेर वा अन्य धर्मावलम्बीले पनि सचेतना गराएर अभियानकै रूपमा अघि बढ्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा धादिङ प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी विषय प्रस्तुती गर्दै यस आर्थिक वर्षको वैशाख ३० गतेसम्म एक सय ७० वटा सवारी दुर्घटना भएको धादिङ जिल्लामा २४ जनाले ज्यान गुमाएको र चार सय १७ जना घाइते भएको उल्लेख गर्नुभयो । प्रहरी उपरिक्षक शाहीले २६ हजार पाँच सय वटा सवारी साधन धादिङ जिल्लामा हरेक दिन गुड्ने र एक जना ट्राफिक प्रहरीले चार सय ३४ सवारी साधन हेर्नुपर्ने जानकारी दिँदै शाहीले सवारी दुर्घटना चालकको कारणले, सवारी साधनको कारणले, पैदलयात्रीको कारणले, सडकको कारणले र मौसमको कारणले हुने गरेको बताउनुभयो । उहाँले स्थानीय जनतासँग सरोकार राख्ने स्थानीय सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि योजना निर्माण, कार्यक्रम तय र बजेट समेत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लागुऔषध दुव्र्यसनी ओसारपसारको समग्र अवस्था, कानुनी व्यवस्था र यसले समाजमा पार्ने नकारात्मक प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । धादिङमा लागुऔषधको समस्या नियन्त्रणका लागि प्रहरीको सक्रियता र समुदायको सहयोग अपरिहार्य रहेकामा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा सिद्धलेक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले स्थानीय सरकार बजेट निर्माणको तयारीमा रहेकोले सवारी दुर्घटना न्यूनीकरण, लागुऔषध रोकथामका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफल कार्यक्रममा वडाध्यक्ष सानु गिरी, शम्भु गुरूङ, शिक्षक लालबहादुर विश्वकर्मालगायतले सबै पक्षको सहयोग गर्न सके नागरिकलाई बचाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह