चौघडा । तराई-मधेशमा मात्र फल्ने तरबुजा/खरबुजा फल नुवाकोटको पञ्चकन्या-१ मा केही वर्षदेखि उत्पादन भइरहेको छ । गैरसरकारी संस्था ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले चार वर्ष अगाडि बिउ ल्याएर बेर्ना तयार गरी यस क्षेत्रका कृषकलाई प्राविधिक सहयोग गरेर तरबुजा खेतीको परीक्षण सुरु गरेको थियो ।
सो संस्था बाहिरिएपछि इन्द्रायणी मावि, पञ्चकन्या-१, बानियाँटारले तीन वर्षदेखि तरबुजालगायत अन्य नगदेबाली यस क्षेत्रमा प्रवद्र्धन गरिरहेको छ । वि.सं. २०७९ देखि इन्द्रायणी माविमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषयको पढाइ हुन थालेपछि यस क्षेत्रका कृषकले कृषि प्राविधिकको निःशुल्क सेवा पाइरहेका छन् । विद्यालयले गाउँपालिका र वडा कार्यालयको अनुदान सहयोगमा वाटरमेलोनको बर्सेनि बेर्ना उत्पादन गरी यस क्षेत्रका कृषकलाई वितरण गर्ने गरेको प्रधानाध्यापक कुमार खड्काले बताए । पञ्चकन्या-१ का बानियाँटार, सिमरा, कल्छे, महाकाल, आठबिसे फाँटका कृषकलाई अहिले तरबुजा टिपेर बजार पु¥याउन भ्याइनभ्याइ छ । यस वर्ष विद्यालयले एक लाख ७० हजार बेर्ना दुई सयभन्दा बढी कृषकलाई बिक्री गरेको बताइएको छ । यस क्षेत्रमा नवकिरण र मस्ताना, दिव्य र सरस्वती जातका तरबुजाको खेती हुने गरेको छ । यस वर्ष विद्यालयले नवकिरण रु. सात, मस्ताना रु. ६ तथा दिव्य र सरस्वती रु. १३ प्रतिबेर्ना बिक्री गरेको थियो । गत २०८० सालमा बानियाँटार क्षेत्रका कृषकले मात्र लगभग रु. एक करोड ३० लाख मूल्यका तरबुजा बिक्री गरेको कृषक उत्तम पाठकले बताए । विषादी प्रयोग नगरी शुद्ध तरिकाले प्रतिकूल मौसमका बाबजुद उत्पादन गरिएका रसिलो र गुलियो स्वस्थकर तरबुजाबाट हिउँदे धान खेतीबाट भन्दा पाँच गुणा बढी आम्दानी हुनेसमेत जनाइएको छ । गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल नभए पनि उत्पादन बढी भएको उनले जानकारी दिए । यस वर्ष फलेको तरबुजा नुवाकोटका ढिकुरे, छहरे, बट्टार, विदुर, त्रिशूली, देवीघाट बजारमा रु. ५० प्रतिकेजीमा बिक्री हुँदै गरेको कृषक बताउँछन् । यहाँ फलेका तरबुजा काठमाडौँ र धादिङसम्म बिक्रीका लागि पुगेको छ ।
प्रतिक्रिया