काठमाडौँ । सबैभन्दा पुराना दल नेपाली काङ्ग्रेसको आन्तरिक विवाद मिल्न नसक्दा पूर्वसभापति शेरबहादुर देउवा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइरालालगायतका नेताले म्याद सकिँदासम्म पनि सदस्यता अद्यावधिक गर्नुभएको छैन । सदस्यता अद्यावधिक गर्ने म्याद गत बिहीबार नै सकिएको हो ।

सदस्यता अद्यावधिक प्रक्रियामा शीर्ष नेता नै बाहिर रहेपछि उहाँहरूको सदस्यता स्वतः निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो काङ्ग्रेस वृत्तमा अहिले देखिएको छ । सदस्यता अद्यावधिक अभियानका संयोजकसमेत रहनुभएका महामन्त्री प्रदीप पौडेलले भन्नुभयो, ‘नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकालाई अद्यावधिकमा समावेश गरिने, नयाँ सदस्यता वितरणको समयसीमा असार २० सम्म तोकिएको छ, त्यस अवधिसम्म छुटेका कसैले अद्यावधिक गर्न चाहे केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ, त्यसपछि मिलाउँछौँ ।’ नेताहरूका हकमा अझै सहज वातावरण बनाउनेसमेत उहाँले बताउनुभयो ।
काङ्ग्रेसका पाँच लाख ३८ हजार ६ सय २२ जनाले सदस्यता अद्यावधिक गरेका छन् । गत बिहीबार राति विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले सदस्यता अद्यावधिकताबारे जानकारी गराएको हो । एक लाख ४९ हजार तीन सय नौजनाले स्वयम् अद्यावधिक फाराम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख छ । पार्टीका संस्थापन इतरका नेताहरू सदस्यता अद्यावधिकको विपक्षमा छन् । सोही विषयले काङ्ग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै गएको छ, तर संस्थापन पक्षले भने पार्टी सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ क्रियाशील सदस्यता अद्यावधिक गरिएको जनाएको छ । काङ्ग्रेसका अनुसार अद्यावधिक गर्न योग्य क्रियाशील सदस्यको सङ्ख्या सात लाख ८२ हजार दुई सय नौ रहेको उल्लेख गरेको छ । तीमध्ये पाँच लाख ३८ हजार ६ सय २२ जनाले अद्यावधिक गरिसकेको काङ्ग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिअनुसार एक लाख ४८ हजार तीन सय नौजना अद्यावधिक प्रक्रियामा छन् ।
सदस्यता अद्यावधिक नगर्नेमा नुवाकोटका जिल्ला कार्यसमितिका सचिव श्रीराम श्रेष्ठ, सहसचिव उत्तम पाठक, बागमती प्रदेश सभाका पूर्वसांसद एवम् महिला सङ्घकी पूर्वकेन्द्रीय सदस्य कल्पना नेपाली, जिल्ला कार्यसमितिका पूर्वसभापति धु्रव अधिकारी, पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वकेन्द्रीय समितिका प्रवक्ता डा. प्रकाशशरण महत रहनुभएको छ । नुवाकोटका १९ हजार सात सय ८३ सदस्यमध्ये तोकिएको अवधिमा लगभग १४ हजारले अद्यावधिक गरेको जिल्ला कार्यसमितिका सचिव वैकुण्ठ मिश्रले जानकारी दिनुभयो ।






प्रतिक्रिया