पिपलटार । नुवाकोट जिल्लाका ८८ वडामध्ये विदुर नगरपालिका-५ पहिलो प्लास्टिकमुक्त वडा घोषणा भएको छ । विदुर-५ लाई औपचारिक रूपमा ‘प्लास्टिकमुक्त वडा’ घोषणा भएपछि स्वच्छ, हरित र दिगो वातावरणयुक्त बनाउनेतर्फ उन्मुख छ ।

गत जेठ २८ गते बिहीबार वडा नं ५ का अध्यक्ष लीलानाथ न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा नगरप्रमुख राजनलाल श्रेष्ठले उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, डिभिजन वन कार्यालयका प्रमुख प्रदीपनाथ शर्मा, भू तथा जलाधार कार्यालयका प्रमुख महेश पौडेललगायत वडाध्यक्ष, वडाभित्रका विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, लामीबगैँचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेलसहित सरोकारवालाको सहभागितामा प्लास्टिकमुक्त वडा घोषणा भएको हो । प्लास्टिकजन्य वस्तुको न्यूनीकरण तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग निषेध अभियानअन्तर्गत ‘प्लास्टिकमुक्त वडा’ घोषणा गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायको संयुक्त प्रयासबाट मात्रै वातावरण संरक्षणका यस्ता अभियान सफल हुन्छन् ।’
प्लास्टिकजन्य वस्तुको न्यूनीकरण तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग निषेध अभियानअन्तर्गत औपचारिक रूपमा ‘प्लास्टिमुक्त वडा’ घोषणा कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा अभियानलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको भन्दै आयोजक वडा नं ५ को तर्फबाट विभिन्न व्यक्तित्वलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा डिभिजन वन कार्यालय नुवाकोटका अधिकृत कमल घिमिरे, लामीबगैँचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेललगायतका हुनुहुन्छ । उक्त अभियानलाई सार्थक बनाउन डिभिजन वन कार्यालय नुवाकोटबाट फोकल पर्सनको रूपमा कमल घिमिरे र सामाजिक सङ्घसंस्थाको तर्फबाट सुजन गजुरेलले पछिल्लो दुई महिनादेखि निरन्तर रूपमा कार्यक्षेत्रमा सक्रिय रहँदै अभियान सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँहरूलाई नगर प्रमुख श्रेष्ठले प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।






प्रतिक्रिया