+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा बागमती सभापतिमा अर्याल निर्वाचित

रास्वपा बागमती सभापतिमा अर्याल निर्वाचित
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा निवर्तमान प्रवक्ता अर्यालले निवर्तमान सभापति डा.अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचित हुनुभएको हो ।

Utsuk Books & Stationery

रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार मकवानपुरका अर्यालले चार सय १६ मत प्राप्त गर्नुभएको छ भने नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका लामिछानेले चार सय १४ मत प्राप्त गर्नुभएको थियो । अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएर मतदानतर्फ अघि बढिसकेको निर्वाचन प्रक्रिया केन्द्रीय निर्वाचन आयोगले चार कारण देखाएर रोकेको थियो । नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भएको हो । प्रदेश सभापति पदका लागि यसअघि निवर्तमान सभापति लामिछाने, अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा थिए । शनिबार भएको निर्वाचनमा निवर्तमान सभापति लामिछाने र अर्यालबिच मात्र प्रतिस्पर्धा भएको थियो । निर्वाचनअघि प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था रहे पनि प्रमुख उम्मेदवारबिच अघोषित रूपमा समूहगत प्रतिस्पर्धा भएको चर्चा चलेको थियो । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा नुवाकोटका सुरेन्द्र भट्ट र सहकोषाध्यक्षमा स्वस्तिका लामिछाने चयन हुनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह