नेपालको राजनीतिक इतिहासमा समय–समयमा जनताले स्थापित राजनीतिक शक्तिलाई सशक्त सन्देश दिएका छन् । पछिल्लो संसदीय निर्वाचनले पनि त्यस्तै एउटा ऐतिहासिक मोड सिर्जना गरेको छ । नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको नयाँ पार्टी अप्रत्याशित रूपमा सत्ता सञ्चालनको केन्द्रमा पुग्नु र लामो समयदेखि राज्यसत्ताको नेतृत्व गर्दै आएका पुराना दलहरू कमजोर अवस्थामा पुग्नु सामान्य राजनीतिक घटना मात्र होइन, यो नेपाली राजनीतिको चरित्र परिवर्तनको सङ्केत पनि हो ।

विशेषगरी यो निर्वाचनपछि नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), सम्मिलित नेकपालगायतका वामपन्थी दलहरू संसद्मा निकै कमजोर अवस्थामा पुगेका छन् । यसले आमकार्यकर्तामा अन्योल, निराशा र भविष्यप्रतिको चिन्ता बढाएको छ । अर्कातर्फ, अर्को ठुलो राजनीतिक दल, नेपाली काङ्ग्रेस पनि आन्तरिक विवाद, नेतृत्व प्रतिस्पर्धा र वैचारिक अस्पष्टताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ । गत फागुनको त्यो निर्वाचनपछि नेपालको परम्परागत राजनीतिक संरचनामाथि नै पुनर्विचार गर्नुपर्ने परिस्थिति सिर्जना गरिदिएको छ । यो परिस्थितिको मूल कारण केवल चुनावी रणनीतिको असफलता मात्र होइन, न यो भनिएझैँ बाह्य शक्तिको खेल मात्र नै हो । यो लामो समयदेखि थुप्रिँदै आएका राजनीतिक कमजोरीको परिणाम हो । पहिलो, जनताले राजनीतिक स्थायित्वभन्दा बढी राजनीतिक इमानदारिता खोज्न थालेका छन् । विगत तीन दशकमा सरकार फेरिए, गठबन्धन बने र भत्किए, तर जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन सकेन । बेरोजगारी, युवा पलायन, महँगी, कृषि सङ्कट, सुशासनको अभाव र भ्रष्टाचारका मुद्दा समाधान हुन सकेनन् । दोस्रो, राजनीतिक दलहरू विचार र व्यवहारबिचको ठुलो अन्तरबाट ग्रसित भए । समाजवाद, समानता, सामाजिक न्याय र समृद्धिको नारा दिने दलहरू स्वयम् सत्ताकेन्द्रित, व्यक्तिकेन्द्रित र अवसरवादी बनेको आरोपबाट मुक्त हुन सकेनन् । तेस्रो, नयाँ पुस्ताको मनोविज्ञान बुझ्न पुराना भनिएका दलहरू असफल भए ।
गत फागुन २१ गते सम्पन्न संसदीय निर्वाचन र त्यसको परिणामपश्चात् एमाले, नेकपालगायत वामपन्थी राजनीतिक दलहरूको भविष्य अब के हुन्छ ? यो पराजयले नेपालको कम्युनिस्ट आन्दोलनले सिक्नुपर्ने पाठ के-के हुन् ? कम्युनिस्ट आन्दोलन अब कसरी अगाडि बढ्न सक्छ भन्ने प्रश्न पनि अगाडि तेर्सिएका छन् । किनकि, नेपालको वामपन्थी राजनीति लामो समयदेखि देशको राजनीतिक धारलाई निर्देशित गर्ने प्रमुख शक्ति रहँदै आएको छ । विशेषतः मूल प्रवाहका रूपमा रहेको एमाले, माओवादी केन्द्रलगायतका कम्युनिस्ट दलहरूले शासन, नीति निर्माण र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । तर, गत फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा देखिएको अप्रत्याशित पराजयले यी दलहरूको वर्तमान अवस्था मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनको भविष्यबारे गम्भीर प्रश्न उठाएको छ । यो निर्वाचन परिणामले हिजो संसद्मा करिब दुईतिहाइको प्रभाव जमाएका नेपालका वामपन्थी दलहरू जनताको भरोसाबाट क्रमशः टाढिँदै गएको सङ्केत गर्छ । विशेषतः नेकपा एमालेजस्तो शक्तिशाली दल संसद्मा कमजोर अवस्थामा पुग्नु केवल चुनावी हार मात्र होइन, राजनीतिक विश्वसनीयता र सङ्गठनात्मक कमजोरीको प्रतिफल हो । कम्युनिस्ट दलहरूबिचको बारम्बारको फुट, आन्तरिक कलह, नेतृत्वमा केन्द्रीकरण तथा सैद्धान्तिक विचलनले जनतामा निराशा बढाएको छ । साथै, सत्ताकेन्द्रित राजनीति, भ्रष्टाचारका आरोप, र जनजीवनका मुद्दालाई प्राथमिकता नदिनुले पनि नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्दै गएबाट अब आन्दोलन कसरी पुनर्गठित र सुदृढ भएर अगाडि बढ्छ भन्ने जिज्ञासा सतहमा छ ।
‘के नेपालको कम्युनिस्ट आन्दोलन आफैँलाई बदल्न तयार छ, कि परिवर्तनको माग गर्ने आन्दोलन आफैँ परिवर्तनबाट टाढा रहनेछ ?’ एक गम्भीर राजनीतिक प्रश्न पनि त्यत्तिकै अगाडि आएको छ । यो वाक्य केवल एउटा प्रश्न होइन, नेपालको कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र भविष्यलाई एकैसाथ चित्रण गर्ने गहिरो राजनीतिक चेतावनी पनि हो । विडम्बना के छ भने, जसले दशकौँसम्म समाज परिवर्तन, राज्य पुनर्संरचना, सामाजिक न्याय र नयाँ राजनीतिक संस्कृतिको आन्दोलनको कठिन नेतृत्व गर्यो, आज त्यही आन्दोलन समयलाई सही ढङ्गले चिन्न नसक्दा, लक्ष्य भ्रष्ट भएर आफैँ परिवर्तनको दबाबमा परेको छ । कुनै पनि आन्दोलन तबसम्म जीवित रहन्छ, जबसम्म उसले समाजको परिवर्तनशील चरित्रलाई बुझ्न सक्छ । तर, जब आन्दोलन आफ्नै विगतका उपलब्धिमा मात्र रमाउन थाल्छ, तब ऊ बिस्तारै समाजभन्दा पछाडि पर्न थाल्छ । भएको यही हो । परिवर्तनको आन्दोलन किन सङ्कटमा पुग्यो भनेर नेपालका कम्युनिस्टले गम्भीर समीक्षा गर्न ढिला भइसकेको छ । नेपालको कम्युनिस्ट आन्दोलनले विगतमा धेरै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । राणाशासन कालदेखि निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष, लोकतान्त्रिक आन्दोलन, गणतन्त्र स्थापना, सङ्घीयता, समावेशिता र सामाजिक न्यायका मुद्दा स्थापित गर्ने कुरामा यसको भूमिका महत्त्वपूर्ण थियो । तर, एउटा आन्दोलनले विगतका उपलब्धिका आधारमा मात्र भविष्य निर्माण गर्न सक्दैन । जनताले अहिले एउटा नयाँ प्रश्न सोधिरहेका छन्, ‘तपाईंहरूले देशलाई बदल्ने कुरा त धेरै गर्नुभयो, तर आफूलाई कति बदल्नुभयो ?’ समस्या यहीँबाट सुरु हुन्छ ।
अनुभवले हामीलाई भनेको छ, परिवर्तनको पर्याय रहेका कम्युनिस्ट नै आफैँ परिवर्तन हुनबाट भने किन डराउँछन् ? राजनीतिमा एउटा मनोवैज्ञानिक सत्य छ, ‘जुन शक्ति लामो समयसम्म प्रभावशाली रहन्छ, उसलाई परिवर्तन स्वीकार गर्न सबैभन्दा कठिन हुन्छ ।’ किनभने परिवर्तनले शक्तिको अभ्यास, सुविधा, प्रभाव र स्थापित संरचनामाथि प्रश्न उठाउँछ । आज सत्तामा राज गरेका र नगरेका धेरै कम्युनिस्ट दलहरूमा यही समस्या देखिन्छ । किनभने उनीहरूबिच नेतृत्वको पुस्तान्तरण सहज छैन, आन्तरिक लोकतन्त्र कमजोर छ, आलोचनालाई विरोधका रूपमा बुझ्ने प्रवृत्ति बढेको छ, सङ्गठनभन्दा व्यक्ति ठुलो बन्न थालेको छ । सैद्धान्तिक र वैचारिक बहसभन्दा सत्तागठबन्धन र समीकरणले प्राथमिकता पाएको छ । यो अवस्था कुनै एक दलको मात्र समस्या होइन; नेपालको समग्र वाम आन्दोलनको साझा चुनौती हो । अर्को महत्त्वपूर्ण कुरा, नयाँ पुस्ताले हामीसँग किन दूरी बढाउँदै छ, कम्युनिस्ट आन्दोलनको विरासत काँधमा बोक्ने नयाँ पुस्ताको तयारी खोइ ? भनेर प्रश्न सोध्नु नै नेतृत्वको कोपभाजनमा पर्नु हो भन्ने मान्यता खासगरी कम्युनिस्ट पार्टीमा कसरी स्थापित भयो ? जस्ता स्वाभाविक प्रश्नमाथि कम्युनिस्ट पार्टीले छलफल गरिरहेका छैनन् । जेन-जी आन्दोलनलाई उनीहरूले कसरी मूल्याङ्कन गरिरहेका छन् ? आजको युवा पुस्ता इतिहासको सम्मान गर्छ, तर इतिहासकै आधारमा भविष्य सुम्पिन तयार छैन, त्यो पुस्ता परिणाम खोज्छ भन्ने त प्रमाणित भयो होइन र ? किन लाखौँ युवा विदेश जान बाध्य छन् ? किन हाम्रो शिक्षा र स्वास्थ्य अझै महँगो छ ? किन सुशासनको कुरा गर्ने नै भ्रष्टाचारका आरोपमा मुछिन्छन् ? किन एउटै नेतृत्व दशकौँसम्म दोहोरिइरहन्छ ? जस्ता युवापुस्ताले गर्ने यी प्रश्नलाई ‘केटाकेटीको रमिता वा राजनीतिक अपरिपक्वता’ भनेर अस्वीकार गर्ने होइन, अब ढिलो नगरी आत्मसात् गर्ने समय आएको छ ।
नेपालका धेरै दलहरूले चुनावपछि आत्मसमीक्षाको कुरा गर्छन् । सबैभन्दा कम्युनिस्ट पार्टी यसमा अगाडि छन् । तर, प्रायः त्यो औपचारिक प्रक्रिया मात्र बन्ने गरेको छ । नेकपा एमालेले पनि चार महिना ढिलो गरी चुनावी समीक्षा भर्खरै सुरु गरेको छ । आत्मसमीक्षा नेताहरूको पट्यारिलो थप भाषण होइन, पार्टी सङ्गठन र राजनीतिक संस्कारमा आएका गम्भीर विचलनको साँचो समीक्षा हो । दलहरूले अब कम्तीमा तीनवटा कुरा स्विकार्नुपर्छ, पहिलो, ‘हामीबाट गल्ती भएको छ’, दोस्रो, ‘अहिलेको शैलीले काम गर्दैन’ र तेस्रो ‘अब नयाँ बाटो अपनाउनुपर्छ ।’ यदि आत्मसमीक्षाले नेतृत्व, कार्यशैली र सङ्गठनात्मक संस्कार परिवर्तन गर्न सकेन भने त्यो केवल राजनीतिक कर्मकाण्ड मात्र बन्न पुग्छ । अब नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नै संरचनामा क्रान्ति गर्नुपर्छ । आन्दोलनले विचारमा परिवर्तन होइन, विचारलाई कार्यान्वयन गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ । कम्युनिस्ट आन्दोलन अब व्यक्तिकेन्द्रित होइन, संस्थाकेन्द्रित बन्नुपर्छ । पार्टी कुनै एक नेताको पर्याय बन्नुहुँदैन । संस्था बलियो भए नेतृत्व स्वाभाविक रूपमा स्थापित र विकसित हुन्छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्नुपर्छ । अनुभवलाई सम्मान गर्दै पुस्तान्तरणलाई अवरुद्ध गर्नुहुँदैन । अबको अभियान र आन्दोलनलाई डिजिटल युगसँग जोड्नुपर्छ । २१औँ शताब्दीको समाजवाद डिजिटल अर्थतन्त्र, प्रविधि, नवप्रवर्तन र ज्ञानमा आधारित हुनुपर्छ । नेता सत्तामुखी होइन, समाजमुखी बन्नुपर्छ । कार्यकर्ता पनि पार्टी सरकारमा हुँदा मात्र सक्रिय हुने, जनता छोड्ने, नेताको स्तुतिमा मात्र रमाउने संस्कृतिको अन्त्य हुनुपर्छ । आलोचनालाई दुस्मनी होइन, सुधारको अवसर मान्नुपर्छ । किनकि, आलोचना स्वीकार गर्ने दलहरू नै दीर्घकालीन रूपमा बलिया बन्छन् ।
अहिले, नेपालको कम्युनिस्ट आन्दोलनका लागि सबैभन्दा ठुलो खतरा बाह्य प्रतिस्पर्धी शक्ति होइन, हाम्रा आन्तरिक कारण नै धेरै हदसम्म जिम्मेवार छन् । यदि कम्युनिस्ट पार्टीले ‘हामीले धेरै योगदान गरेका छौँ, त्यसैले जनता सधैँ हामीसँग नै रहन्छन्’ भन्ने सोच राखिरह्यो भने त्यो सबैभन्दा ठुलो भ्रम हुनेछ । राजनीतिमा कुनै पनि दल स्थायी हुँदैन । स्थायी हुने कुरा भनेको जनताको साथ मात्र हो । तर, नेपालको कम्युनिस्ट आन्दोलन अहिले आफ्नो अस्तित्वको अन्त्यतिर होइन, आत्मरूपान्तरणको निर्णायक मोडमा उभिएको छ । यो सङ्कटभन्दा पनि अवसरको समय हो । नयाँ वैकल्पिक शक्तिको उदयले पुराना दलहरूको अन्त्य भएको होइन, तर उनीहरूलाई गम्भीर चेतावनी दिएको अवश्य हो । यो परिणामले जनताले अब केवल इतिहास, त्याग र पुराना उपलब्धिका आधारमा मत नदिने स्पष्ट सन्देश दिएका छन् । विशेषगरी एमाले, नेकपालगायत सम्पूर्ण वामपन्थी शक्तिले यो पराजयलाई हारको रूपमा मात्र होइन, पुनर्जागरण र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्छ । तर, यो अवसर त्यतिवेला मात्र सम्भव हुन्छ, जब आन्दोलनले अरूलाई परिवर्तनको पाठ पढाउनुअघि आपूmभित्र परिवर्तनको साहस पैदा गर्छ ।
अन्ततः, नेपालको राजनीतिमा अब नयाँ युगको एउटा कठोर सत्य स्थापित हुँदै छ, ‘परिवर्तनको नेतृत्व गर्ने अधिकार उसैलाई हुन्छ, जो स्वयम् परिवर्तन हुन तयार हुन्छ ।’ यदि नेपालको कम्युनिस्ट आन्दोलनले इमानदार आत्मसमीक्षा, वैचारिक स्पष्टता, पुस्तान्तरण, पारदर्शिता र जनमुखी राजनीतिलाई व्यवहारमा उतार्न सक्यो भने आन्दोलन फेरि सशक्त बन्दै जनविश्वास प्राप्त गर्न सक्छ । तर, यदि पुरानै शैली, गुटगत स्वार्थ, व्यक्तिकेन्द्रित नेतृत्व र सत्तामुखी राजनीतिमा अल्झिरह्यो भने विगतमा प्रभावशाली रहेको यो आन्दोलन क्रमशः आफ्नो प्रभाव गुमाउँदै जाने खतरा रहिरहनेछ र जनताले नयाँ विकल्प खोज्ने क्रम अझ तीव्र हुँदै जानेछ । (प्याकुरेल यस साप्ताहिकका नियमित स्तम्भकार एवम्ं एमालेका बौद्धिक व्यक्तित्व हुनुहुन्छ ।)






प्रतिक्रिया