+
Search

ताजा अपडेट +

पपुलर +

जन्म–कर्म र कर्म–जन्मको चक्र

जन्म–कर्म र कर्म–जन्मको चक्र
हरिप्रसाद रिमाल
१ महिना अगाडी

पूर्वजन्ममा गरिएका शुभ र अशुभ कर्म भोग्न पुनः शरीर रूपमा जीवको जन्म हुन्छ । मानिस जन्म भएपछि रागी हुन्छ अर्थात् विभिन्न विषयमा असक्त हुन्छ, धार्मिक र पाप कर्म पनि गर्छ । अनि संसारको भोग सकिएपछि यहाँबाट बिदा हुन्छ । यस जन्ममा गरेको पाप र पुण्य भोग गर्न फेरि ऊ यस जगत्मा जन्मन्छ । यसरी जन्म त्यसपछि कर्म र कर्मपछि फेरि जन्मको चक्र चलिरहन्छ ।

चार्वाकबाहेक सबै पूर्वीय दर्शनले संसारलाई दुःखको घर मानेका छन् । भगवान् श्रीकृष्णले गीतामा यस जगत्लाई ‘जन्म-मृत्यु बुढ्याइँ आदिले गर्दा दुःखको घर’ भन्नुभएको छ भने रामगीतामा श्रीरामले पनि यस संसारलाई ‘आदि, मध्य र अन्त्यमा पनि भय र शोकको कारण’ भन्नुभएको छ । त्यसरी नै महर्षि पतञ्जलिले पनि योगसूत्रमा यस संसारलाई दुःखमय नै ठान्नुभएको छ भने जैन र बौद्धदर्शनमा ‘संसार दुःखैदुःखले ढाकिएको’ उल्लेख छ । यसप्रकार धर्म र अधर्म कर्मद्वारा शरीर र शरीरद्वारा धार्मिक र अधार्मिक कर्म भइरहन्छन् । यो चक्र संसारमा चलिरहेको छ । यस जन्ममा कसैले पापैपाप ग¥यो भने त्यसको नरकको बास, धर्म नै धर्म गरे स्वर्गको बास र धर्म र अधर्म आधा-आधा गरेमा मनुष्य योनिमा पुनर्जन्म हुने पनि बताइएको छ । यो जन्म र कर्मको चक्रबाट मुक्त हुन बुझ्नुपर्ने कुरा परब्रह्म वा परमात्माको ज्ञान र आफू पनि परमात्माकै अंश हुँ भन्ने बोध गरी उनै परमेश्वरमा नदीहरू समुद्रमा मिलेजस्तै मिल्ने सद्बुद्धिको विकास गर्न सकेमा हामी त्यो जन्म-कर्मको चक्रबाट मुक्त हुन सक्छौँ ।

श्रीराम भन्नुहुन्छ, ‘मेरा प्रिय भाइ लक्ष्मण १ जसलाई अलिकति सत् चेतनाले छोएको हुन्छ, तिनीहरू थाहा पाउँछन् यस नरलोकको तिरिमिरी झ्याइँ र भौतिक सुख अस्थायी हुन् र क्षणिक हुन् । उनीहरूलाई यस दुनियाँमा आउने-जाने गर्दाका हन्डर र पीडा स्पष्ट थाहा हुन्छ । त्यसैले उनीहरू यस भवसागरमा जन्मनु-मर्नुका दारुण दुःखबाट कसरी छुटकारा पाउन सकिन्छ र त्यो अनुपम सुख-परमानन्द कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित हुन्छन् । मेरा प्रिय भाइ, तिमी पनि ती ज्यादै थोरै मनुष्यमा पर्छौ जसलाई मुक्तिमार्गको बटुवा बन्ने र शाश्वत सत्यका खोजीमा लम्कने हुटहुटी पैदा भएको छ र त समयमै सचेत हुन सकेका छौ, त्यस परम् तत्वको खोजीमा चिन्तित बनिरहेका छौ ।’ श्रीराम आज्ञा हुन्छ, ‘भाइ, अब तिमीलाई त्यो ‘सत्यं ज्ञानमनन्तं ब्रह्म’को बोधका उपाय क्रमशः बताउँदै जानेछु । यो तिम्रा निम्ति मात्र होइन कि अरू मुमुक्षुहरूका निम्ति यस युग र पछिका युगका लागि समेत अति महिमामय मुक्तिमार्ग सिद्ध हुनेछ ।’

‘जो मुक्ति-मार्गका यात्री बन्न चाहन्छन्, उनीहरूले सर्वप्रथम भित्री मन पवित्र बनाउनुपर्छ । यसका लागि आ-आफ्ना वर्ण र जातिअनुसारका कर्म गर्नुपर्छ । यसका साथै नित्यकर्म-सन्ध्यावन्दनादि, देवीदेवताको पूजापाठ आदि गर्नुपर्छ । यसरी नै नैमित्तिक कर्म श्राद्ध आदि र सूर्य-चन्द्रग्रहणका वेला गरिनुपर्ने स्नान, दान आदि गर्नुपर्छ । यसप्रकारका नित्य र नैमित्तिक कर्म गर्नाले हाम्रो अन्तस्करण वा भित्री मन पवित्र एवम् चोखो तुल्याउन मद्दत मिल्छ ।’ ‘उपर्युक्त नित्य र नैमित्तिक कर्मका साथै साधन चतुष्टयको ज्ञान गर्नु र तिनको अवलम्बन गर्नु पनि मुक्तिमार्गमा हिँड्न खोज्नेका लागि अत्यावश्यक हुन्छ । यी सबै अवलम्बन गरेपछि मन पवित्र भएर परम् तत्वतर्फ मन लगाउन सहज हुन्छ ।’ ‘त्यसपछि आत्मज्ञान प्राप्त गर्न सद्गुरुको आश्रयमा जानुपर्छ । सद्गुरु-श्रोत्रिय र ब्रह्मनिष्ठ गुरु नै सद्गुरु कहिन्छन् । ती गुरुका शरणमा गएर उहाँहरूको यथोचित सेवा गरी उहाँहरूका ज्ञानमय उपदेश-प्रवचनमा ध्यान दिएपछि परमार्थ परम् तत्वको सहजै बोध गर्न सकिन्छ ।’

माथि उल्लिखित चार प्रकारका साधनको सङ्क्षिप्त परिचय
विवेक–नित्य र अनित्य वस्तु के–के हुन् भन्ने कुराको ज्ञान र त्यसको अवलम्बन, वैराग्य–यस पृथ्वी तल र स्वर्गको सुखभोगको इच्छा नगर्नु । शमदमादि ६ प्रकारका सम्पत्ति : शम–जताततै भौँतारिन चाहने मनलाई नियन्त्रण गर्नु । दम–आँखा, कान, जिब्रो, नाक र छाला यी पाँच ज्ञानेन्द्रियलाई काबुमा राख्नु । उपरति– गाना सुन्ने, नाच हेर्ने आदि विषयबाट मन र इन्द्रियलाई आत्मचिन्तनमा लगाउनु । तितिक्षा–चिसो, तातो, सुखदुःख, मान–अपमान आदिलाई धैर्य गरी सहनु, श्रद्धा–गुरुवचन र वेदान्तका उक्तिमा विश्वास गर्नु, समाधान–चित्तलाई यताउता भाग्न नदिनु र मुमुक्षुत्व–मोक्षको इच्छा गर्नु ।

(लेखक पूर्वप्रशासक, साहित्यकार तथा आध्यात्मिक चिन्तक हुन् ।)

प्रतिक्रिया

लेखकको बारेमा

हरिप्रसाद रिमाल