+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक रूपान्तरणको आधार पुस्तकालय

सामाजिक रूपान्तरणको आधार पुस्तकालय
देवराज सिंखडा
१ महिना अगाडी

विषय प्रवेश
भनिन्छ, ‘राम्रा साथी र राम्रा पुस्तकले जीवन सुन्दर बनाइदिन्छन् ।’ बुद्धि र विवेकको समुचित प्रयोग गर्ने क्षमताको विकास पुस्तकले गर्छ । अध्ययनका लागि पुस्तक एउटा भरपर्दो र सजिलै प्राप्त गर्न सकिने साधन हो । वेदव्यास, गौतम बुद्ध, पाणिनि, कौटिल्य, कन्फ्युसियस आदिले चिन्तन, मनन र अध्ययनको महत्व दर्शाएका छन् । पाश्चात्य विचारकमा मार्कस सिसेरोको भनाइ स्मरणीय छ, ‘पुस्तकविनाकोे घर आत्माविनाको शरीरजस्तै हुन्छ । ’ पुस्तकालय अब किताबको घर भन्ने अर्थमा सीमित रहेन । यसलाई सूचना केन्द्र, ज्ञानकेन्द्र, वाचनालय, सिकाइ केन्द्र, अध्ययन केन्द्र, पढ्ने घर, ज्ञानकुञ्ज, मिलन केन्द्र, सूचना तथा सञ्चारकक्ष आदि विभिन्न नामले बुझ्न सकिन्छ । हाम्रा पुर्खाले हामीलाई नासोका रूपमा सुम्पेर गएका ज्ञान, सिप र अनुभव हाम्रा अमूल्य सम्पदा र बौद्धिक सङ्ग्रहालय हुन् । ती सङ्गृहित सामग्री नै पुस्तकका आकारमा प्रकाशन हुन थाले । ती पुस्तकको सङ्ग्रहलाई पुस्तकालय भन्न थालियो । पूर्वीय वाङ्मयमा पुस्तकको लेखन, प्रकाशन, सङ्कलन, व्यवस्थापन र प्रयोगको विशेष महत्व थियो र अद्यापि छ । सुरुमा ऐतिहासिक र धार्मिक पुस्तक लेखेर र पछि छपाइ गरेर बिक्री–वितरण हुन थाल्यो । यसबाट पढ्ने र लेख्ने परम्परा स्थापित हुन पुग्यो । त्यसपछि मानिसका मनमनमा पुस्तकमोह बढ्न थाल्यो र समाजमा पुस्तकप्रेमीको सङ्ख्या बढ्दै गयो । अनि घरघरमा, टोलटोलमा, मठमन्दिर, विद्यालयमा पुस्तकालय खुल्न थाले, पठन संस्कृतिको विकास हुन थाल्यो ।
पुस्तकालयको आवश्यकता
सभ्य समाजमा पुस्तकालयको ठुलो महत्व हुन्छ । यो समयको सदुपयोग गर्ने राम्रो थलो हो, विभिन्न किसिमका सूचना र ज्ञानको राम्रो स्रोत हो । यसले पठनबानीको विकास गर्न मद्दत गर्छ । पुस्तकालयबाट जीवनमा आवश्यक पर्ने र मौकामा काम दिने अनेक ज्ञान र सिप आर्जन तथा वृद्धिमा सहयोग पु¥याउँछ, कृषि, उद्योग तथा अन्य विभिन्न पेसा, व्यवसायमा सुधार र नयाँपनको वृद्धि गर्छ । यसले नियमित तथा जीवनपर्यन्त सिकाइको अवसर सिर्जना गर्दै साक्षरता वृद्धि गर्न टेवा दिन्छ । सामाजिक प्रतिष्ठा बढाउन र मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि पनि पुस्तकालयको योगदान महत्वपूर्ण हुन्छ ।

पुस्तकालय कहाँ–कहाँ आवश्यक
नागरिकलाई सेवा दिन खडा भएका देशका तीनवटै सरकारका मातहतमा रहेका सरकारी, अर्धसरकारी र गैरसरकारी निकायले आफ्ना सेवाग्राही र कर्मचारीको सहज पहुँच हुने गरी कार्यालयमा नै अध्ययन कक्ष बनाउन जरुरी छ । जहाँ मानिसको नियमित उपस्थिति रहन्छ, ती स्थानमा स्तरयुक्त पुस्तकालय हुनुपर्छ । हामी सबैले आफू र अरूलाई पठनशील बनाउने अभियानमा जुटेर यसलाई सफल पार्न प्रभावकारी भूमिका खेल्नुपर्छ ।

घर र परिवारमा पुस्तकालय
घर पहिलो पाठशाला मानिन्छ । पुस्तकविनाको पाठशाला कसरी होला ? घरमा एकै उमेर, अवस्था र क्षमताका मानिस पक्कै पनि हुँदैनन्, पढ्ने कुरा पनि उस्तै हँुदैनन् । घरका सबैले वर्षमा दुई–चार किताब किन्ने, पढ्ने र तिनै किताबलाई एकै ठाउँमा व्यवस्थित गरेर राख्ने हो भने भयो नि । अर्को कुरा घरमा विद्यालय र महाविद्यालयमा पढ्ने छोराछोरी छन् भने उनीहरूले पढेका पाठ्यपुस्तकलाई समेत सङ्ग्रह गरेर पुस्तकालयको रूप दिन सक्छौँ । यसो गर्दा धेरै विषयका धेरै पुस्तक जम्मा हुन सक्छन् । घरमा सानो पुस्तकालय हुनु सामाजिक मर्यादाको विषय बन्न सक्छ । अभिभावक पठनशील भए केटाकेटी अध्ययनशील बन्छन् । यसो गर्दा पारिवारिक वातावरण र सम्बन्ध सप्रिन सक्छ ।

गाउँटोल र समूहमा पुस्तकालय
सहर होस् या गाउँ, विभिन्न टोल सुधार समितिमा आफ्ना टोलवासी र समूहका सदस्यका परिवारका सुविधाका लागि उमेर, पेसा र मानव विकास आदि विषयका पाठ्यवस्तु र सूचना तथा प्रविधिसहितको पुस्तकालय स्थापना गर्नुपर्छ ।
सामाजिक क्लब, लघुवित्त कम्पनी र बैंकमा पुस्तकालय बालक, युवा, प्रौढ नागरिकलाई दैनिक सेवा प्रदान गर्ने संस्थामा अध्ययनकक्षको व्यवस्था गर्नु जरुरी देखिन्छ । सेवा लिन पुगेका र कुपन लिएर पालोे पर्खिरहेका सेवाग्राही पुस्तक तथा पत्रपत्रिका पढेर समयको सदुपयोग गर्न सक्छन् ।

विद्यालय र महाविद्यालयमा पुस्तकालय
देशभरका सबै विद्यालय, महाविद्यालयमा सबै विद्यार्थीको सजिलै पहुँच हुने गरी आधुनिक र सुविधायुक्त पुस्तकालयको व्यवस्था हुनुपर्छ । ती संस्थामा रहेका पुस्तकालयलाई आधुनिकीकरण गरेर प्रयोगयोग्य बनाई नियमित खुल्ने व्यवस्था मिलाउनु जरुरी छ । विद्यालय तहका साना विद्यार्थीका लागि कक्षाकोठामा नै बालमैत्री पुस्तकको उचित प्रबन्ध गर्न स्थानीय तह र विद्यालय प्रशासन सधैँ इमानदार र प्रतिबद्ध बन्नुपर्छ ।
यसैगरी हिन्दुका मठमन्दिर, बौद्धका गुम्बा, चैत्य, इस्लामका मस्जिद, इसाईका चर्च, किराँत तथा अन्य सम्प्रदायका भक्तजनको नियमित र बाक्लो आउजाउ हुने स्थानमा सोहीअनुसारका पुस्तकसहितको पुस्तकालय स्थापना हुनुपर्छ । विभिन्न स्थानमा रहेका बालआश्रम, वृद्धाश्रम, मानव सेवा आश्रम, असहाय सहायता केन्द्र, पुनस्र्थापना केन्द्र, सुधारगृह आदि स्थानमा सजिलोसित मन बहलाउन, नयाँ कुरा सिक्न र सकारात्मक सोच विकास गर्न सान्दर्भिक पुस्तक पढ्ने वातावरण बनाउन अपरिहार्य हुन्छ । त्यस्ता ठाउँलाई सिकाइ केन्द्रका रूपमा विकास गर्न व्यवस्थित पुस्तकालय हुनुपर्छ । बिरामीलाई मनोवैज्ञानिक सहजताका लागि पनि प्रतीक्षालयमा बसेर निःशुल्क रूपमा बिरामीमैत्री पाठ्यवस्तु, पत्रपत्रिका पढ्न पाउने प्रबन्ध गर्नुपर्छ । त्यस्तै बिरामी कुरुवाका लागि पनि बसेर पढ्न पाउने गरी सुविधाजनक पुस्तकालय आवश्यक छ । स्वास्थ्यचौकीमा पनि बिरामी र सहयोगीलाई मानसिक तनाव कम र समयको सदुपयोग हुने गरी वाचनालय वा अध्ययनकक्ष स्थापना गर्नुपर्छ ।

सबै स्थानीय तहमा पुस्तकालय
देशका सात सय ५३ वटै स्थानीय तहमा कम्तीमा एक–एक नमुना पुस्तकालय स्थापना गर्नुपर्छ । स्थानीय सरकारले मानव विकासका लागि रु. १०–२० लाख खर्च गर्न अवश्य मुस्किल पर्दैन र पर्नुहुँदैन । स्थानीय तहका कुल ६ हजार सात सय ४३ वडामा अत्याधुनिक उपकरणसहितका सुविधासम्पन्न पुस्तकालय स्थापना गरिनुपर्छ । स्थानीय तहले कृषकका लागि कृषि ज्ञानकेन्द्र, उद्यमीका लागि सामुदायिक सिप विकास केन्द्रजस्ता सेवाप्रदायक निकायमा पुस्तकालय खडा गर्नुपर्छ । यी संस्थामार्पmत स्थानीय बासिन्दालाई व्यावसायिक तालिम, साक्षरता शिक्षा, सचेतना कार्यक्रम सञ्चालन गरी सेवा दिन सक्छन् ।

प्रहरी कार्यालय र कारागारमा पुस्तकालय
देशका सबै प्रहरी कार्यालयमा अपराध–अनुसन्धानको क्रममा हिरासतमा रहेका बन्दी र कारागारमा मुद्दाको पुर्पक्षका लागि रहेका कैदीबन्दीलाई पढ्न, लेख्न र समकालीन सूचना पाउने मौलिक हकको संवद्र्धनको मौका दिइनुपर्छ । यस्ता प्रकारका पुस्तकालयबाट प्रहरी कर्मचारी पनि लाभान्वित हुन सक्छन् । जिल्ला प्रशासन, कर र भन्सार कार्यालयमा पनि पुस्तकालय भएमा समय बिताउन सजिलो पर्छ । यसका लागि त्यहाँ व्यवस्थित पुस्तकालय हुनुपर्दछ । त्यस्तै, कर तथा भन्सार कार्यालयमा राजस्व बुझाउन जानेको सम्मान र सुविधालाई मध्यनजर राखी आधुनिक पुस्तकालयको व्यवस्था गरिनुपर्छ ।
त्यस्तै, विमानस्थल, बसपार्क र किरियापुत्री घर तथा राजनीतिक दल र भ्रातृ सङ्गठनका कार्यालयमा धर्म, संस्कृतिसम्बन्धी पुस्तक राख्न सकिन्छ । दर्शनशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, विज्ञान, संस्कृति र समकालीन साहित्यसम्बन्धी पुस्तक, पत्रपत्रिकाको यथोचित सङ्ग्रह गर्नु साङ्गठनिक जिम्मेवारी हो र सामाजिक उत्तरदायित्व पनि ।

डुलुवा/घुमन्ते पुस्तकालय
जहाँ बस्ती छ, बस्तीमा धेरै मानिसको बसोबास छ, ती स्थानमा उपयुक्त हुने पाठ्यवस्तु पु¥याई पढ्ने अवसर प्रदान गर्न सकिन्छ । चाडपर्व, मेला, जात्रा तथा स्वास्थ्य शिविर, सभा–सम्मेलन, हाटबजार र लामो दूरीमा चल्ने ठुला सवारीसाधनमा पुस्तक पु¥याएर सेवा दिन सकिन्छ । खेतीपातीको मौसममा सोहीअनुसारका वा किसानको रुचि र आवश्यकताअनुसारका पुस्तक बस्ती–बस्तीमा लगेर व्यवसायमा सहयोग दिँदै पढाइतर्फ आकर्षित गर्न सकिन्छ । यस कार्यमा पुस्तक प्रकाशनगृह, पुस्तक बिक्रेता, सहकारीका बचत सङ्कलक, मेला, जात्रा र उत्सवका आयोजक र सामाजिक सङ्घसंस्थाले स्वस्फूर्त जिम्मेवारी लिनुपर्छ ।

निष्कर्ष
जन्मोत्सव, विवाहोत्सव, बधाई तथा शुभकामना अर्पण गर्ने अवसरमा एउटा असल पुस्तक उपहार दिएमा जीवनको मार्गचित्र बदल्ने उत्प्रेरक खुराक बन्न सक्छ । अहिले विश्वका अति विकसित मुलुकहरूले पनि पुस्तकालय बन्द गरेका छैनन्, बरु झन् व्यवस्थित बनाएका छन् । वैज्ञानिक उपकरण थपी सूचना तथा सञ्चार प्रविधि जोडेर यसलाई थप प्रभावकारी बनाएका छन् । त्यसैले घरघरमा पुस्तकालयको श्रीगणेश होस्, ज्ञानको विस्तार होस् ।

 

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

देवराज सिंखडा