बट्टार । नेकपा (एमाले) की निलम्बित नेतृ डा. विन्दा पाण्डेले लेखेको गैरआख्यानात्मक कृति ‘आश्रय, सुरक्षा र सम्पर्कका सारथि : भुइँमान्छे’माथि उनको गृहजिल्लामा नेपाल बुद्धिजीवी परिषद् नुवाकोटले शुक्रबार विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
मदन-आश्रित स्मृति दिवसको पूर्वसन्ध्यामा नेपाल बुद्धिजीवी परिषद्, नुवाकोटले बट्टारमा आयोजना गरेको कार्यक्रममा लेखिका डा. पाण्डेले पार्टीले इतिहासलाई अभिलेखीकरण गर्दै जाने योजनाअनुसार ‘भुइँमान्छे’ लेखिएको बताइन् । किताब तयार गर्दा विगतमा बास बसेका क्षेत्रमा पुगेर वास्तविक पात्रलाई पुनः भेट्ने अवसर पाएको उनले जानकारी दिइन् । उनले ‘भुइँमान्छे’ पढेर नुवाकोट, धनकुटाका छिन्ताङलगायत केही स्थानका नागरिकले आफूहरूको कुरा छुटेको भनी दिएको प्रतिक्रियालाई समेत पूरा गरिने बताइन् । निलम्बित पार्टी स्थायी कमिटी सदस्य पाण्डेले आफूले खासगरी तत्कालीन पार्टी मालेको केन्द्रीय कमिटी बैठक बसेको झापा, मोरङ, बारा, धनुषा, महोत्तरी, धादिङ, कास्की आदि ठाउँमा नेता-कार्यकर्तालाई आश्रय, सुरक्षा र विभिन्न सम्पर्क गराइदिने निम्नस्तरका श्रमिक, महिला आदिका बारे र तीसँग जोडिएका घटना–प्रसङ्गलाई मात्र समेटेको बताउँदै पुस्तक अङ्ग्रेजी, इबुक र अडियो बुकका रूपमा पनि आउने जानकारी दिइन् । ‘नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्न गत वैशाख २ गते म अध्यक्षकहाँ गएकी थिएँ, त्यहाँ आफ्नो कुरा राखेँ । हामीले पार्टी कार्यालय जाँदा ठाडो शिरले छिर्न पाउनुपर्छ । नेताकार्यकर्ताबाट उठाइएको रु. एक-एक सयबाट नै सानो घर भए पनि बनाउनुपर्छ । त्यसपछि उहाँले अलिअलि मात्र टाउको हल्लाउनुभयो,’ एक प्रसङ्गमा लेखिका पाण्डेले भनिन् । प्राप्त सुझावका आधारमा केही महिनामा कृतिको अर्काे संस्करण ल्याइने बताइएको छ ।
कार्यक्रममा नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष रामेश्वर उपाध्याय, एमाले स्कुल विभाग सदस्य रामशरण प्याकुरेल र साहित्यकार तथा पत्रकार श्याम रिमालले कृति समीक्षा गर्दै कम्युनिस्ट आन्दोलनका कृति धेरै भए पनि ‘भुइँमान्छे’को चर्चा अतुलनीय रहेको बताए । उनीहरूका अनुसार उक्त कृति शैक्षिक सामग्री बन्न सक्छ । विचार कसैको पनि पेवा नभएको धारणा राख्दै वक्ताले पार्टीको मूल्यमान्यतामा लाग्ने हो भने पुस्तकको सन्देश सबैले ग्रहण गर्नुपर्नेमा जोड दिए । कृतिमा पुनरुक्ति र तथ्य–तथ्याङ्कमा भएका दोष हटाउँदै यसलाई अझ पूर्णता दिन नेतृ तथा कृति लेखकलाई सुझाव दिइयो । कार्यक्रममा एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विचार निर्माण गरेपछि वैज्ञानिक ढङ्गले पुष्टि हुनुपर्ने तथा अध्ययन गरेको कुरा बुझेर विश्लेषण गर्नुपर्नेमा जोड दिए । कसैका अघिल्तिर सत्य कुरामा कहिल्यै टाउको नझुकाउन पनि लेखिकालाई उनले सुझाव दिए । बागमती प्रदेशका पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज केशवराज पाण्डेले नेता र पार्टीप्रतिको विश्वास जोगाउनका लागि कृति अध्ययन गर्न आग्रह गरे । अर्का निलम्बित एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको कृति पुर्खाले गरेको समर्पण र त्यागको श्वेतपत्र भएको विचार राखिन् । पार्टी नेताकार्यकर्तालाई आ-आफ्ना कामबाट दायाँबायाँ लाग्यौँ कि भनी आत्मसमीक्षा गर्न पनि तिम्सिनाले आग्रह गरिन् । परिषद् नुवाकोटका अध्यक्ष रामहरि रिमालले लेखकले पत्थरको जवाफ फूलले दिएर उदारता प्रदर्शन गरेको विचार राखे ।
राजनीतिमा महिला सहभागिताको सशक्तीकरणका विषयमा काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त लेखक पाण्डेको यसअघि ‘धर्तीमाथिको दाबी : अधिकारको लडाइँ’, ‘नेपाली राजनीतिमा महिला’, ‘समानताका पाइलाहरू’, ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’लगायत कृति प्रकाशित छन् । कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष बद्री मैनालीसहित अधिकांश एमालेका प्रदेश, जिल्ला तथा नगर कमिटीका नेता र कार्यकर्ताको सहभागिता थियो । गत कात्तिक २५ गते एमालेले कीर्तिपुरमा नयाँ मुख्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले जग्गा दिने र बनाउने सर्तमा भवन शिलान्यास गरिएकाले सोको विरोधमा आवाज उठाएपछि पाण्डे र तिम्सिनालाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो । तर, आजसम्म कारबाहीको पत्र नदिइएको र तोकिएको अवधिसमेत नाघिसकेको अवस्था छ । कार्यक्रममा मालेकालमा नुवाकोट र धादिङमा भूमिगत रहेर सङ्गठन विस्तार गर्ने युवराज कार्की, नरनाथ लुइँटेल र सुरेशकुमार कार्कीलगायत एमालेका नेता एवम् कार्यकर्ता र बुद्धिजीवीको सहभागिता थियो ।
प्रतिक्रिया