धुन्चे । रसुवा जिल्लाको गोसाइँकुण्डमा पछिल्ला केही वर्षदेखि सबै महिना, सबै दिन तीर्थयात्री पुग्न थालेका छन् । जिल्लाको उच्च भूभागमा रहेको नेपालका प्रमुख पवित्र धार्मिक एवम् पर्यटकीयस्थलमध्येको गोसाइँथानमा हिउँदबाहेक तीर्थयात्रीको नियमित आगमनले व्यवसायी उत्साहित भएर लगानी बढाइरहेका छन् ।
यस वर्षको गङ्गादशहरा मेला मंगलबारबाट सुरु भएको छ । जेठ १३ देखि २४ गते एकादशीसम्म लाग्ने मेलामा पाँच हजारभन्दा बढी भक्तजन आउने अपेक्षा गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले गरेका छन् । गङ्गादशहराको दश दिन र जनैपूर्णिमाको पाँच दिन मात्र भक्तजन पुग्ने गोसाइँकुण्डमा तीन वर्षदेखि धार्मिक लाभका अलावा प्राकृतिक रसास्वादनका लागि दैनिक ५०-६० जनाको हाराहारीमा मानिस आउँदा होटेल बन्द गर्नु नपरेको व्यवसायी बताउँछन् । वर्षको दुईपटक मेला लाग्दा मान्छेको भिड लाग्ने र अरू समय शून्य भएर होटेल नै बन्द गर्नुपर्ने अवस्था रहेकामा अहिले त्यस्तो अवस्था नरहेको चन्दनबारीका रेडपान्डा होटेलका सञ्चालक सुब्बा लामाले बताए । ‘मानिस मेलामा मात्रै नभई दैनिक आइरहने भएकाले गोसाइँकुण्ड रुटमा होटेल बन्द गर्नुपरेको छैन,’ रेडपान्डा होटेलका सञ्चालक लामाले जानकारी दिए । गोसाइँकुण्डमा होटेल सञ्चालन गरिरहेका युवराज तामाङका अनुसार धुन्चेदेखि गोसाइँकुण्डसम्म सानाठुला गरी झन्डै एक सयभन्दा बढी होटेल सञ्चालनमा छन् । तीन वर्षअघि नेपाल टेलिकमको सेवा पुगेको कुण्डमा गत वर्षदेखि बिजुली पनि पुगेकाले मोबाइल र टेलिकमको टावरमा रहेको ब्याट्री चार्ज गर्न सुविधा पुगेको छ । आन्तरिक मात्रै नभई विदेशी पर्यटक पनि अन्य मौसममा फाट्टफुट्ट आइरहेकाले राम्र्रै आम्दानी भइरहेको चन्दनबारीका पुरानो होटेल व्यवसायी पासाङध्युर्मे तामाङले बताए । उनी भन्छन्, ‘यस क्षेत्रमा अलि चर्चित व्यक्तित्व ल्याउन पाए अझै धार्मिक र पर्यटकीय क्षेत्रको प्रचार हुन्थ्यो ।’
गोसाइँकुण्ड जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ हो । पौराणिक कथनअनुसार समुद्रमन्थन गर्दा कालकूट विष उत्पन्न भई सम्पूर्ण चराचर जगत् नै नष्ट हुने भएकाले सबैको रक्षाका लागि भगवान् शङ्करले विषपान गरेर घाँटीमा राख्दा डाहा भई पहिले बेत्रावती र पछि नीलाद्री पर्वतमा पुगेका थिए । त्यहाँ त्रिशूलले पहरामा हान्दा निक्लेको पानीले नील खेत भरिई गोसाइँकुण्ड बनेको थियो । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सदरमुकाम धुन्चेबाट करिब १८ किलोमिटर दूरीमा छ । सदरमुकाम धुन्चेबाट उकालो चढेपछि घट्टेखोला, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक, बुद्धमन्दिर, गणेशगौँडा हुँदै प्राकृतिक दृश्य र जङ्गली जनावरको दृश्यावलोकन गर्दै गोसाइँकुण्ड पुगिन्छ । यस्तै, सुन्दरीजल, सिन्धुपाल्चोक, नुवाकोटका दुप्चेश्वर, घ्याङफेदी, रसुवाका लोकिल, यार्सा हुँदै पनि गोसाइँकुण्ड पुग्न सकिन्छ । वि.सं. २०६३ मा विश्वसम्पदा सूची तथा सिमसार क्षेत्रमा गोसाइँकुण्डलाई सूचीकृत गरिएपछि यसको महत्व थप बढेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले बताए । उनी भन्छन्, ‘यो रुट एकदमै सुरक्षित छ, बाटोघाटो, वास र खाना समितिले तोकेको मूल्यमा उपलब्ध हुने भएकाले राम्रो रहेको छ ।’ लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्रभित्र पर्ने भएकाले जैविक विविधतालाई असर नपर्ने गरी यात्रा गर्न अनुरोध गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताए ।
ज्येष्ठ नागरिक एवम् हिँड्न नसक्नेका लागि गोसाइँकुण्ड दर्शन गर्न जान मन लागेमा घोडा, बोक्ने मान्छे र हेलिकोप्टरसमेत व्यवस्था गरिएको छ । त्रिशूली नदीको उद्गमस्थल त्रिशूलधारा, गोसाइँकुण्डलगायत एक सय आठ कुण्ड रहेको सो क्षेत्रमा अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्वका अनगिन्ती स्थल छन् । यस क्षेत्रको भ्रमण गर्दा वन्यजन्तु, चराचुरुङ्गी, एक दर्जनभन्दा बढी प्रजातिका पुतली, दुई दर्जनभन्दा बढी जडीबुटी, गुम्बा, विभिन्न वेशभूषा र ज्ञानगुनका विषयमा खोज, अध्ययन, अनुसन्धान गर्न सकिन्छ ।
प्रतिक्रिया