दश वर्षपछि गँगटे-ढुङ्गे सडक स्तरोन्नति प्रक्रिया सुरु

दश वर्षपछि गँगटे-ढुङ्गे सडक स्तरोन्नति प्रक्रिया सुरु
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । दश वर्षअघि राष्ट्रिय गौरवको योजनामा परेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको पहिलो खण्डको विदुर नगरपालिकाको गँगटे–बट्टार–विदुर–ढुङ्गे क्षेत्रको पुनर्निर्माण कार्यको पहिलो चरणको काम बल्ल सुरु भएको छ । योजना कार्यालयले अघिल्लो बुधबार विदुर नगरपालिकाको वडा नं. ५ गँगटे, वडा नं. २ र ४ को बट्टार, विदुर र वडा नं. १ को ढुङ्गे क्षेत्रका सडकको दायाँबायाँ १५–१५ मिटरभित्रका घर, टहराको नापजाँच र मूल्य निर्धारण गराई क्षतिपूर्ति बुझ्न सरोकारवालालाई सूचना गरेको छ ।

सङ्घीयतासहितको पहिलो नेपालको संविधान २०७२ जारी भएपछि छिमेकी मित्रराष्ट्र भारतले असन्तुष्टि जनाई नाकाबन्दी गरेको थियो । उक्त नाकाबन्दी सामना गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको परनिर्भरता कम गर्न सुरु गरेको यो सडक योजना आव २०७२/०७३ मा सुरु भएको थियो । आव २०७७/०७८ मा निर्माण सम्पन्न गर्ने गरी योजनाको ८२ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । तीन खण्डमध्ये पहिलो गल्छी–त्रिशूली–मैलुङको ४६ किलोमिटर कोभेक–तुन्दी–रसुवा जेभीले पाएको थियो । यो खण्डले सुरुदेखि नै अवरोध झेल्दै नौ वर्षमा बल्लबल्ल टुक्राटुक्रा गरेर ३८ किलोमिटर निर्माण सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । यस खण्डमा सुरुदेखि नै स्थानीयवासीको मुआब्जा विवादले निर्माण कार्य धिमा गतिमा भएको स्थानीय उपभोक्ता इन्द्रबहादुर पण्डितले बताए । मुआब्जा विवाद सँगसँगै यो खण्डको निर्माणमा नाकाबन्दी, भूकम्प, बाढी, पहिरो, कोभिडले पनि असर गरेको निर्माण व्यवसायी (ठेकेदार) कम्पनीले बताउने गरेको छ । प्रभावितले अदालतमा दिएको मुद्दा छिनोफानो गर्न झन्डै चार वर्ष लाग्यो । अदालतको फैसला कार्यान्वयन गराउन योजना कार्यालयले स्थानीय प्रशासन, स्थानीय सरकार र जनप्रतिनिधिसँग हारगुहार गर्दै समन्वय गर्न दुई वर्ष लाग्यो । चालू आवको सुरुदेखि योजना कार्यालय, जिल्ला प्रशासन कार्यालय र विदुर नगरपालिकाको निरन्तर प्रयासपछि सदरमुकाम क्षेत्रको ८० प्रतिशत घर, टहराको नापजाँच गरी क्षतिपूर्ति निर्धारण गरेर सरोकारवालालाई क्षतिपूर्ति रकम बुझ्न आउने सूचना जारी गर्न सफल भएको छ ।

गँगटेदेखि ढुङ्गेसम्मको घर, टहराको नापजाँच सकेर क्षतिपूर्ति निर्धारण गरी गत आवदेखि प्रक्रिया सुरु गरेको यस क्षेत्रमा अझै करिब एक सय २५ घर, टहराको सूचना निस्कने प्रक्रियामा रहेका योजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । सदरमुकाम क्षेत्रको गँगटेदेखि ढुङ्गेसम्म पहिलो घर, टहरा हटाउने प्रक्रिया सुरु भएसँगै सडकमा पर्ने रुख काट्नका लागि वन, विद्युत् पोल सार्न नेपाल विद्युत् प्राधिकरण र टेलिफोनको पोल सार्न नेपाल टेलिकम, खानेपानी पाइप व्यवस्थापन गर्न विदुर खानेपानी उपभोक्ता समिति र ढलको पाइप गाड्न सम्बन्धित निकायलाई पत्राचार गरी समन्वय भइरहेकोसमेत उनले बताए । कार्यक्षेत्र खाली गर्न सबै पक्षबाट समयमै सहयोग भएमा डेढ वर्षभित्र सदरमुकाम क्षेत्रमा सडक निर्माण सम्पन्न हुने बताइएको छ । धादिङ, नुवाकोट र रसुवा जिल्लालाई समेटेर निर्माण गरिएको यो योजनाको मुख्य उद्देश्य उत्तर–दक्षिण व्यावसायिक नाकाका रूपमा विकास गर्ने थियो । नुवाकोट–रसुवाको आर्थिक समृद्धिसँग जोडिएको यो सडक निर्माणका लागि सुरुदेखि नै उद्योग वाणिज्य सङ्घ नुवाकोटले सम्बन्धित निकायलाई दबाब दिँदै आएको पूर्वअध्यक्ष धननारायण चित्रकारले बताए ।

योजनाको दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटर ठेक्का लिएको भारत जेभीले काम छाडेर गएपछि योजना कार्यालयले एक वर्षअगाडि नै ठेक्का रद्द गराएर पुनः ठेक्का लगाउने प्रक्रिया अगाडि बढाए पनि स्रोत सुनिश्चितता नहुँदा बेवारिस भएको छ । योजनाको तेस्रो खण्ड १७ किलोमिटर स्याफ्रुबेँसीबजारदेखि रसुवागढीसम्म चीन सरकारले निर्माण गर्ने सम्झौता भएको थियो । विगतमा कोभिड, बाढी, पहिरो र कार्यक्षेत्र खाली नभएको भन्दै चीन सरकारका निर्माण प्रतिनिधि आउँदै–जाँदै गरेका थिए । चालू आवको सुरुदेखि चिनियाँ निर्माण व्यवसायी कार्यक्षेत्रमै रहेर काम गर्नका लागि आवश्यक प्रक्रिया गरिरहेको योजना प्रमुख श्रेष्ठले बताए । एक वर्षअगाडि मन्त्रिपरिषद् बैठकले उक्त खण्डको स्याफ्रुबेँसीबजारमा ११ मिटर चौडाइमा सडक निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेपछि यो खण्डको काम अघि बढेको हो । उक्त क्षेत्रमा सडक निर्माण गर्ने अर्को वैकल्पिक स्थान नभएको आयोजनाको स्वीकृत डिजाइन १५ मिटरअनुसार निर्माण गर्दा बजार पूरै विस्थापन हुने भएपछि सरकारले सडक सीमा घटाएर डिजाइन गर्ने स्वीकृति दिएको हो ।

तत्कालीन भारतीय नाकाबन्दीसँगै नेपाल र चीनबिच रसुवागढी–केरुङबाट हुने आर्थिक तथा व्यापारिक कारोबारलाई छिटोछरितो र सहज तुल्याउने उद्देश्यले योजनाको पहिलो चरणअन्तर्गत गल्छी–त्रिशूली–मैलुङ सडक २०७३ साल कात्तिक ७ गतेदेखि निर्माण थालिएको थियो । पारित समय र तालिकाभन्दा निकै ढिलो गरी निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङको ४६ किलोमिटरमध्ये विभिन्न आरोह–अवरोहका बाबजुद अहिले लगभग ३८ किलोमिटर सडक अन्तर्राष्ट्रिय मापदण्डबमोजिम कालोपत्रे भइसकेको छ । सामुदायिक वनको रुख कटान तथा स्थानीय मुआब्जा विवादलगायत समस्याका कारण निर्धारित समय र तालिकाभन्दा निकै ढिलो निर्माण भइरहेको योजनाको हाल निर्मित संरचना तथा कालोपत्रेसँगै उक्त क्षेत्रको सौन्दर्य मनमोहक देखिएको छ । गल्छी–त्रिशूली–मैलुङअन्तर्गत धादिङको गल्छीदेखि रसुवा र नुवाकोट सीमा बेत्रावतीसम्मका विभिन्न क्षेत्रमा डबल लेनको चौडा सडक हाल विश्वमा प्रचलित अस्फाल्ट प्रविधिमा कालोपत्रे भइसकेको छ । सोका कारण विगतमा धुवाँ, धुलोले आजित सर्वसाधारण अहिले आफ्नो घरआँगनछेउमा अन्तर्राष्ट्रियस्तरको डबल लेयरसहितको फराकिलो र चौडा सडक निर्माणसँगै राहत मिलेको बताउँछन् । निर्माण कार्यतालिकाअनुसार २१ महिना अर्थात् २०७५ भदौ ७ गते निर्माण सम्पन्न गर्ने गरी २०७३ कात्तिक अन्तिमदेखि निर्माण थालिएको सो सडक योजनाको पहिलो खण्ड रु. तीन अर्ब ६३ करोडको लागतमा निर्माण भइरहेको छ । सो खण्डको निर्माण ८१ प्रतिशत सम्पन्न भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह