+
Search

ताजा अपडेट +

पपुलर +

लाङटाङ-स्याफ्रुबेँसी दौडका विजेतालाई रु.एक लाख

लाङटाङ-स्याफ्रुबेँसी दौडका विजेतालाई रु.एक लाख
रमेश सिलवाल
२ हप्ता अगाडी

काठमाडौँ । स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रसुवा-नुवाकोट पर्यटन समाजले यही जेठ २४ गते पहिलोपटक लाङटाङ ट्रेल रन गर्न लागेको छ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ क्यान्जिन भ्यालीको क्याङजिन गुम्बा ३८ सय ४० मिटरबाट सुरु भई १९ सय मिटरमा रहेको स्याफ्रुबेँसीमा पुगेर टुङ्गिनेछ । ट्रेल रन ३२ किलोमिटर हुने आयोजकले गत बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमा जानकारी दियो ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी एक सयभन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । उक्त प्रतियोगितामा राष्ट्रिय खेलाडीको सहभागिता खुला गरिएको रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । महिला र पुरुष दुवैतर्फका विजेतालाई रु.एक लाख, दोस्रोलाई रु.७५ हजार, तेस्रोलाई रु.५० हजार, चौथाोलाई रु. २५ हजार र पाँचौँलाई रु. १५ हजार नगद पुरस्कार दिइनेछ । यस ट्रेल रनका लागि प्राविधिक समूह गठन गरिएको आयोजकले जनाएको छ । लाङटाङ क्याजिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गर्न लागिएको लाङटाङ ट्रेल रनमा स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । रसुवा र नुवाकोटका पर्यटनकर्मी मिलेर सन् २०१६ मा रसुवा नुवाकोट पर्यटन समाज स्थापना गरेका थिए । समाजले स्थानीय पर्यटन प्रर्वद्धनमा समेत काम गर्दै आएको छ ।

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य हो – लाङटाङ । हिमालैहिमालको बिचमा रहेको क्यान्जिन भ्यालीबाट लाङटाङ ट्रेल रन सुरु गरिएको समाजका अध्यक्ष न्यौपानेले जानकारी दिए । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले ट्रेल रनका लागि सहकार्य गर्ने बताइएको छ । लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । लाङटाङ ट्रेल रनमा सहभागी हुन जेठ २० गतेसम्म अनलाइनमार्फत फाराम भरिसक्नुपर्नेछ । बागमती प्रदेश पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा समाजले लाङटाङ ट्रेल रन आयोजना गर्न लागेको हो । लाङटाङ ट्रेल रन आयोजनाका लागि करिब रु. ४० लाख खर्च अनुमान गरिएको छ । नेपाली खेलाडीले प्रतिव्यक्ति रु. तीन हजार पाँच सय र विदेशीले प्रतिव्यक्ति अमेरिकी ६० डलरको सहभागिता शुल्क तिर्नुपर्नेछ ।

लाङटाङ ट्रेल रनसँगै त्यहाँ पैदलयात्रा पनि हुनेछ । जेठ २० गते स्याफ्रुबेँसी, दोभानदेखि बम्बुसम्म पैदलयात्रा, जेठ २१ गते बम्बुबाट लाङटाङसम्म पैदलयात्रा, जेठ २२ गते लाङटाङदेखि क्याजिन गुम्बासम्म पैदलयात्रा र जेठ २३ गते क्याजिन गुम्बामा तयारी तथा लेक पचाउने कार्यक्रम रहेको छ । अन्तिम दिन जेठ २४ गते क्यान्जिन गुम्बाबाट स्याफ्रुबेँसीसम्म दौड प्रतियोगिता हुने भएको छ । २०७२ सालको भूकम्प र कोभिड-१९ का कारण लाङटाङको पर्यटन निकै प्रभावित भएको थियो । त्यसैले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

रमेश सिलवाल