+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नपाको नयाँ भवनबाट सेवा सञ्चालन

विदुर नपाको नयाँ भवनबाट सेवा सञ्चालन
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

विदुर । सङ्घीयता लागू भएसँगै सिंहदरबारको अधिकार गाउँगाउँमा आएको नौ वर्ष पुगिसकेको छ । स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि विदुर नगरपालिकाले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन बल्ल सुरु गरेको छ । गत हप्तादेखि विदुरले सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाह दिइरहेको छ ।

साबिकको कार्यालय रहेको स्थानमै नयाँ प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि कार्यालय सरे पनि भवनको औपचारिक उद्घाटन हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले जानकारी दिनुभयो । नवनिर्मित भवनमा उपप्रमुख प्रभा बोगटी र प्रमुख प्रशासकीय अधिकृत पौडेलले शुभसाइतमा गर्नुभएको थियो । नयाँ भवन रु.१७ करोड नौ लाख ५४ हजार ६ सय २९ को लागत स्टमेट भए पनि प्रतिस्पर्धामा रु.१० करोड ५८ लाख ६७ हजार दुई सय ५६ मा न्यु टेक जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । भवन चार तलाको रहेको छ । भवनमा अन्डरग्राउन्ड पार्किङसहित अत्याधुनिक सेवा-सुविधा रहेका छन् । भवनमा एक सय क्षमताको सभाहल, नगर प्रमुख तथा उपप्रमुख कक्ष, शाखा कार्यालय कक्ष, प्रशासनिक कक्षलगायतका संरचना समावेश छन् । साथै, भवन अपाङ्ग तथा बालमैत्री संरचना निर्माण भएको छ । सेवाग्राहीलाई सेवा लिनका लागि लिफ्टको समेत व्यवस्था हुने नगरपालिकाले जनाएको छ ।

नयाँ भवनबाट सेवा सुरु भएपछि नगरवासीलाई एउटै छानामुनिबाट सेवा प्राप्त गर्न सहज हुने नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो । कार्यालयलाई थप व्यवस्थित बनाउन मुख्य प्रशासनिक भवन निर्माण गरिएकोसमेत उहाँले बताउनुभयो । नयाँ भवनबाट सेवा लिँदा नगरपालिकाका सबै विषयगत शाखा, समितिलगायतका कार्यालय एकै ठाउँबाट प्राप्त गर्न सकिने उपप्रमुख बोगटीले बताउनुभयो । विनाशकारी भूकम्पका कारण पुरानो भवनमा क्षति पुगेपछि तत्कालीन डिभिजन सहकारी कार्यालयका लागि निर्माण भएको भवनमा वि.सं. २०७५ देखि सेवा प्रदान गर्दै आइरहेको थियो ।

जिल्लामा १२ पालिकामध्ये विदुरसहित किस्पाङ, शिवपुरी, दुप्चेश्वर, तादी, ककनी, म्यागङ, पञ्चकन्याले आफ्नै भवनबाट कार्यालय सञ्चालन गरिरहेका छन् भने सूर्यगढी, बेलकोटगढी र तारकेश्वरको भवन निर्माण भइरहेको छ । सङ्घीयता लागू भएसँगै सिंहदरबारको अधिकार गाउँगाउँमा आएको नौ वर्षमा पनि लिखु गाउँपालिकाले बनाउने जग्गा छनोट गर्न सकेको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह