काठमाडौँ उपत्यकामा देशको २० प्रतिशत जनसङ्ख्या बसोबास गर्नु विश्वका राजधानीहरूको मापदण्डअनुसार अस्वाभाविक र असन्तुलित विकासको सूचक हो ।
टोखा–छहरे सुरुङमार्गले नुवाकोटमा नयाँ, योजनाबद्ध राजधानी ‘नयाँ काठमाडौँ’ निर्माण गर्न सहयोग पु¥याउनेछ, जसले पुरानो काठमाडौँलाई ऐतिहासिक रूपमा संरक्षण गर्न सक्नेछ ।
यस सुरुङमार्गमार्फत चीनसँगको दूरी घट्ने र भारत तथा पश्चिम नेपालतर्फ पुग्ने मार्ग छोट्याएर रणनीतिक लाभ पुग्नेछ ।
नयाँ काठमाडौँ बनाउन नुवाकोटका छहरे, त्रिशूली र गँगटे क्षेत्रमा उपयुक्त समथर भूगोल, नदीकिनार र हरियाली फाँट उपलब्ध छन् ।
सरकारले बजेटमा बर्सेनि ‘सम्भाव्यता अध्ययन’ मात्र उल्लेख गर्दै आए पनि स्पष्ट बजेट, समयसीमा वा कार्ययोजना नराख्नु नीति र दूरदृष्टिको कमजोरी हो ।
कुनै पनि देशको राजधानी सहर चौडा सडक र व्यवस्थित मानव बस्तीको उदाहरण हो । काठमाडौँ संसारकै पुरानोमध्येकै ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नेपालको राजधानी सहर हो । मल्लकालीन काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, पाटन र भक्तपुर विश्वकै सुन्दर सहरमध्येकै उचाइमा गणना हुने सहर हुन् ।
विश्वका अधिकतम राजधानी सहर पुराना मानव बस्तीका उदाहरण हुन् । ग्रिसको राजधानी एथेन्स संसारकै सबैभन्दा पुरानो राजधानी सहर हो । इटलीको राजधानी रोम, संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डन संसारकै पुरानो मानव बस्ती र देशकै राजधानी सहरका रूपमा विकास गरिएका सहर हुन् । छिमेकी भारतको राजधानी दिल्ली पनि पुरानो मानव बस्तीको उदाहरण हो । सन् १९११ सम्म बेलायतको कब्जामा रहेको भारतको राजधानी कलकत्ता (हाल कोलकाता) थियो । त्यसपछि इस्ट इन्डिया कम्पनीकै मातहत भारतको राजधानी दिल्ली सारियो । सन् १९४७ सम्म भारत बेलायत शासित र भारतीय राजारजौटाबाट शासित गरी दुई भागमा विभाजित थियो । बेलायत शासित भारतबाट बेलायती शासनको अन्त्यसँगै राजारजौटा शासित भारतसहितको एउटा सिङ्गो भारत देश बन्ने बेलायती संसद्को घोषणासँगै राजारजौटा शासित भारतका ५६५ राजारजौटामध्ये कस्मिर स्वतन्त्र राज्यका रूपमा रहने, हैदराबाद र जुनागढका राजा पाकिस्तानमा विलय हुने भन्ने निर्णयमा थिए । बेलायतले भारत छाड्दै गर्दा एउटै गणतान्त्रिक भारत बनाउने उद्देश्य रहेको देखिन्छ । तर, पछि मुसलान र हिन्दु धर्मका आधारमा पाकिस्तान र हिन्दुस्तान दुई राष्ट्रका रूपमा भारतको एकीकरण र विभाजन टुङ्गिएको थियो ।
भारत वर्षको इतिहासमा दिल्ली निकै पुरानो र ऐतिहासिक सहर हो जहाँ सानाठुला राजारजौटाले आफूलाई सुरक्षित लाग्ने स्थलमा राजधानी सहर बसालेका थिए । दिल्लीवरिपरि ताजमहल रहेको आग्रा, लखनउ, जयपुर, उदयपुरजस्ता ऐतिहासिक सहर सबै मुसलमान शासकले निर्माण गरेका सहर हुन् । यी सहर पश्चिमाका लागि आश्चर्य लाग्ने कला र संस्कृतिले भरिएका सहर हुन् जसलाई हेर्न संसारभरका करोडौँ पर्यटक भारत भ्रमणमा आउँछन् । काठमाडौँ उपत्यकाका तीन सहर पनि विश्वका चर्चित सहरजस्तै ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सहर हुन् । ग्रिस, इटली, बेलायत, भारतजस्ता देशले यस्ता पुराना सहरलाई पुरानै शैलीमा जोगाइराख्ने हिसाबले संरक्षण गरिरहेको देखिन्छ । पुरानो सहरी संरचनालाई आधुनिकीकरणका नाममा तोडफोड र सडक चौडासमेत नगरी पुरानै शैलीमा संरक्षण गर्दै राजधानी सहरलाई पुरानो राजधानी सहरको नजिकै खुला ठाउँमा नयाँ आधुनिक राजधानी सहर व्यवस्थित रूपले निर्माण गरियो जसको राम्रो उदाहरण भारतको राजधानी नयाँदिल्ली हो ।
काठमाडौँ, पाटन र भक्तपुर एथेन्स, रोम, लन्डन र दिल्लीजस्तो ऐतिहासिक र पुरातात्विक महत्व बोकेको राजधानी सहरका रूपमा विश्वचर्चित छन् । उपत्यकाभित्र विश्वमा कहीँ नभएका सातसात विश्वसम्पदा सूचीमा सूचीकृत स्थल छन् जुन विश्वका पर्यटकका लागि तीर्थस्थल हुन् । यिनका पोखरी र हिटी प्रणाली विश्वकै सहरी खानेपानीको उत्कृष्ट वैज्ञानिक व्यवस्थापन प्रणालीका रूपमा स्थापित छन् । यी प्रणाली अव्यवस्थित सहरीकरणका कारण मानव बस्तीको अतिक्रमण भई पुनर्निर्माण गर्नै नसकिने अवस्थामा पुगिसकेको स्थिति छ । यहाँका मठमन्दिर मानवबस्तीभित्र कताकता हराइसकेको अवस्था छ । काठमाडौँ उपत्यका देशकै २० प्रतिशत जनसङ्ख्याको वासस्थानका रूपमा विस्तार भएको छ । संसारभरका राजधानी सहरमा यति धेरै जनसङ्ख्याको बसोबास रहेको काठमाडौँ एक मात्र राजधानी सहर हो ।
विश्वका राजधानी सहरमा देशको पाँच प्रतिशतभन्दा बढी बसोबास गर्नु अव्यवस्थित सहरीकरण र असन्तुलित विकासको एउटा उदाहरण हो । यस्तो सहर राजधानीका रूपमा रहनु न्यायसङ्गत हुँदैन । राजधानीलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने हो भने नयाँ काठमाडौँको अवधारणामा जानु उपयुक्त देखिन्छ । काठमाडौँलाई नयाँदिल्लीजस्तै नयाँ काठमाडौँका रूपमा विकास गर्ने खुला भूमि छहरे-टोखा सुरुङमार्गमार्फत नुवाकोटका तादी, लिखु र त्रिशूली खोलाकिनारमा उपलब्ध पहाडी र टारका समथर भूगोल नै हो । यी क्षेत्रमा नयाँ काठमाडौँ निर्माण गर्ने अवधारणामा जान टोखा-छहरे सुरुङमार्ग एक मात्र विकल्प हो । नागढुङ्गा सुरुङमार्ग निर्माणपछि काठमाडौँबाट बाहिरिने र भित्रिने सवारीसाधनले सजिलै काठमाडौँ भित्रन र बाहिर जान सहज हुनेछ । यस सुरुङमार्ग निर्माणपछि काठमाडौँलाई नयाँ काठमाडौँका रूपमा विकसित हुने भूगोल उपलब्ध छैन । तर, टोखा-छहरे सुरुङमार्ग निर्माणले एकैपटक काठमाडौँ–केरुङ हुँदै चीन जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्ग निर्माणसँगै छहरेदेखि बेत्रावतीसम्म नयाँ काठमाडौँका नाममा व्यवस्थित सहर निर्माण गर्न सकिन्छ । एकातिर लन्डनको थेम्स नदीको किनारमा अवस्थित लन्डन सहरजस्तै त्रिशूली नदीको किनारमा व्यवस्थित सहर निर्माण गर्न सकिन्छ भने छहरेदेखि गँगटेसम्मका विशाल फाँटभरि कृषि उत्पादन हुने हरियाली फाँटको निर्माण सम्भव हुन्छ । अझ टोखा-छहरे सुरुङमार्ग निर्माणले दक्षिणतर्फ चितवन-ठोरी हुँदै भारतीय सहरको पहुँच र पश्चिम नेपालतर्फको नारायणगढ-बुटवल हुँदै जाने राजमार्गको पहँुच पनि छोट्याउन महत्वपूर्ण योगदान गर्नेछ ।
बहुआयामिक महत्वपूर्ण योगदान गर्न सक्ने टोखा-छहरे सुरुङमार्ग निर्माणमा राज्यका नीतिनिर्माताको दृष्टि नपुग्नु अत्यन्त दुःखद कुरा हो । टोखा-छहरे सुरुङ निर्माणको पहल गर्न बेलैमा नीतिनिर्माता र जनप्रतिनिधिको ध्यान पुग्नुपर्छ । केही वर्षदेखि यो सुरुङमार्ग निर्माणको चर्चा बजेट प्रस्तुत गर्दा हुने, त्यसपछि वर्षैभरि ओझेलमा परिरहेको छ । सङ्घीय सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमा यो मार्ग सम्भाव्यता अध्ययन गर्ने मात्र उल्लेख भएको छ । यसका लागि कति बजेट छुट्याइएको, कहिलेसम्म गरिसक्नुपर्ने, कुनै उल्लेख छैन । सरकारले चालू आवका लागि पनि सम्भाव्यता गर्ने शब्द बजेटमा उल्लेख गरेको थियो ।
प्रतिक्रिया