+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

झोलेहरू कस्ता हुन्छन् भने मालिकले जस्तो भाषा बोल्यो, उस्तै लवज र वाणीमा बोलिदिने, जस्तो जिउ चलायो, उस्तै चलाउने । कपाल, दाह्री, जुँगा पनि त्यस्तै बनाउने । जेल लगाए जेल, तेल लगाए तेल । ग्रे कलरको कोट लगायो, ग्रे कलर नै खोजी-खोजी लगाइहाल्ने । कहिलेकाहीँ त मालिक कुन हो, चम्चे कुन हो, भेउ नै नपाउने भन्या । हामीकहाँ गणेश, हनुमान, दास, चम्चे, झोले, हुक्के, बैठके, छाते अनेकथरीका पछुवा मनुष्य जन्मेका छन् । साहित्यकार र पत्रकारलाई जति शब्द भयो, त्यति नै मजा पनि आउने ।

पहिले अलि चल्तीमा चम्चे थियो, अब झोले जन्म्यो । जन्माउने को त भन्दा मालिक नै । भारतमा मोदीले ‘मै भी चौकीदार’ के लेखेका थिए, यहाँका मोदी पनि लेख्न थाले ‘म झोले हो’ । खासमा मोदीका झोले पो रहेछन् हाम्रा मालिक त । उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा भनी घोकाए, घोकाए, चुच्चे नक्सा पाठ्यपुस्तकबाट नै गायब गराइदिए । अहिले त नामै लिँदैनन् हाम्रा बा । जति खेर नि भारत जान्छु भन्थे, उताबाट बोलाहट नआई जान मिलेन त के गरून्, हरे । खासै कुरा गर्ने हो भने त ‘म’ पुरुषलाई क्रियापद त ‘हुँ’ लाग्नुपर्ने हो । बुझ्दो न सुझ्दो, केका पछाडि कुद्यो भन्ने उखान थियो एउटा, अरू झोले पनि ‘हुँ’ का सट्टा ‘हो’ तिर नै दौड्या देखेर पो दया लाग्छ । मिडियामा आदरार्थी वचन लगाउन सिकाउने बा झोले काण्डमा भने नराम्ररी फसे । चौरासी-चौरासी भन्थे, अब बहुमत नआउने देखिसकेकाले अनेक नाराबाजी ल्याउने कुन धुनमा भाषा नै पो बिगारे बुढाले । अब भाषा सिक्न फेरि रामनामी ओढेर पशुपति, शङ्कराचार्य मठमा बस्ने संस्कृतविद् केएन स्वामीकहाँ पो कहिले पुग्ने हुन् हाम्रा बा, प्यारा बा, अजम्बरी बा । यो पाराले जोतिषले भनेझैँ ठ्याक्कै राजा आउलान् कि गणतन्त्रवादी जेल जालान्, पशुपतिनाथले नै जानून् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह