धुन्चे । रसुवा जिल्लामा रहेको एक सय आठ कुण्डमध्येको पार्वतीकुण्डलाई औषधिजन्य जडीबुटी झारले ढाकेपछि कुण्डको अस्तित्व नै समाप्त हुन थालेको छ । सरोकारवालाले बोझो हटाउन सरसफाइ अभियान गत हप्तादेखि सुरु गरेका छन् । गोसाइँकुण्डमा रहेका शिवले नदेखून् भनेर रजस्वला भएका बखत माता पार्वती यही कुण्डमा रहने भएकाले यसको नाम पार्वतीकुण्ड रहेको किंवदन्ती छ ।
आमाछोदिङ्मो गाउँपालिका गत्लाङमा अवस्थित पार्वतीकुण्डलाई बोझाले ढाकेपछि कुण्डको सरसफाइ सुरु गरिएको हो । डिभिजन वन कार्यालय रसुवाका सहयोगमा नेपाली सेनाको रसुवामा तैनाथ श्रीनाथ गणअन्तर्गत मानचेत ब्यारेक सैनिक, स्थानीय सामुदायिक वनका उपभोक्ता तथा पार्वतीकुण्ड व्यवस्थापन समिति सक्रिय छ । पार्वतीकुण्ड व्यवस्थापन समितिको समन्वयमा स्थानीय परम्परागत पाठपूजा गरी कुण्डको सरसफाइ सुरुवात गरिएको स्थानीयवासी दुकर लामाले बताउनुभयो । कुण्डको पानी ल्याएर प्रवेशद्वार अगाडि एक सय आठ ढुङ्गेधारा निर्माण बागमती प्रदेश सरकारका सहयोगमा गत आवमा सम्पन्न भएको थियो । यहाँ हरेक वर्ष जनैपूर्णिमामा पाठपूजा गर्ने र नुहाउनेको ठुलो भिड लाग्ने र अरू वेला वनभोजका लागि समेत आन्तरिक पर्यटक आउने गरेको स्थानीय गत्लाङ गेस्ट हाउसका सञ्चालक फुर्पुसिँगी तामाङले बताउनुभयो । बोझाले ढाक्न थालेपछि बर्सेनि बोझो हटाएर सफा गर्नुपर्ने उहाँको भनाइ छ । कुण्डको बोझो हटाउँदा अशुभ हुन्छ भन्ने मान्यता रहेकाले धेरै वर्षदेखि हटाइएको छैन । यसपटक स्थानीय लामा, झाँक्रीको सल्लाह र सुझावअनुसार पूजापाठ गरी कुण्डमा ढाकिएको बोझो हटाउन स्थानीयवासी लागेका छन् । कुण्डको संरक्षण र वरिपरि बनाइएका भौतिक संरचनाले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ ।
वन क्षेत्रमा पर्ने सो कुण्डबाट पाल्दोपिक, गणेश र साङ्जेन हिमाल तथा सोमदाङ उपत्यका, रुबी भ्याली र गणेश हिमाल पदयात्रा गर्न सकिन्छ । दुई हजार ६ सय मिटरका उचाइमा रहेको सो कुण्डको बोझो हटाउने काम सुरु भइसकेको छ । साथै भरिएर रहेको माटो तथा बालुवा हटाउने र वरपरका झाडी सरसफाइ गर्ने काम भइरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ । आमाछोदिङ्मो-३ का वडाध्यक्ष सुरेन्द्र तामाङको नेतृत्वमा सरसफाइ अभियानमा बोङ्जोमाने सामुदायिक वन उपभोक्ता समूह, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सदस्यलगायत स्थानीयवासीको सहभागिता छ । तामाङ सम्पदा मार्गमा पर्ने पार्वती कुण्डलाई पर्यटकको आकर्षणको केन्द्रका रूपमा विकास गर्न स्थानीयवासी जुर्मुराएका छन् । कुण्डभित्रको बोझोका कारण दहको आकार घटेको र त्यहाँँ रहेको मन्दिरसमेत जीर्ण भएपछि स्थानीयवासीले सरसफाइ थालेका हुन् ।
प्रतिक्रिया