+
Search

ताजा अपडेट +

पपुलर +

‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ प्रकाशित

‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ प्रकाशित
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ नामक ऐतिहासिक पुस्तक सार्वजनिक गरेको छ । एक वर्षको अध्ययन, अनुसन्धानपछि उक्त प्रकाशन सार्वजनिक भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पुस्तकको संयुक्त रूपमा शुक्रबार विमोचन गर्नुभएको थियो । पुस्तकले नेपाली मिडियाको छापादेखि डिजिटल युगसम्मको इतिहास समेटेको छ । नेपाली मिडियामा अनुसन्धान गरिरहनुभएका डा. कुन्दन अर्याल, डा.रघु मैनाली, डा.जगत नेपाल, तीर्थ कोइराला, शुभेच्छाविन्दु तुलाधर, उज्ज्वल आचार्य, भुवन केसी र रुद्र खड्काका अनुसन्धानमूलक आलेख पुस्तकमा समेटिएका छन् । पुस्तकमा नेपाली पत्रकारिताले भोगेको कठिन अवस्था र विभिन्न कालखण्डमा गरेको सङ्घर्षको गाथा समेटिएको छ । पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि मन्त्री पन्तले दक्षिण एसियाका अन्य देशभन्दा नेपालको प्रेस बढी स्वतन्त्र रहेको बताउनुभयो । ‘पत्रकार बेपत्ता हुनुपरेको छैन, जागिर गुमाउनुपरेको छैन । तुलनात्मक रूपमा यहाँको अवस्था सुधारोन्मुख छ,’ उहाँले भन्नुभयो । मन्त्री पन्तले पत्रकारले लडेर ल्याएको प्रेस स्वतन्त्रतालाई संरक्षण गरी राख्नुपर्नेमा जोड दिँदै पत्रकारका क्षेत्रका काम गर्ने निकायलाई सक्षम, प्रभावकारी बनाउँदै प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

पत्रकारिताको सम्पत्ति भनेको विश्वसनीयता भएकाले त्यसलाई नबिर्सन उहाँले सम्पादकलाई आग्रह गर्नुभयो । सञ्चारसचिव अर्यालले पछिल्लो समय सञ्चारमाध्यममा भएका परिवर्तन कोसेढुङ्गाका रूपमा रहेका उल्लेख गर्दै समाचारका विषयवस्तुमा बृहत् छलफल गर्नु आवश्यक देखिएको बताउनुभयो । ज्ञान र बुद्धि बढाएर समाज रूपान्तरणमा पत्रकारिताले के गरेको छ भन्ने प्रश्नमा गम्भीर भएर लाग्न सबै सञ्चार जगत्लाई उहाँले आग्रह गर्नुभयो । काउन्सिलका अध्यक्ष बस्नेतले प्रकाशित पुस्तकले नेपाली पत्रकारिताको हिजोको कठिन अवस्था, विभिन्न कालखण्डका सङ्घर्ष र यथार्थ बोकेको बताउनुभयो । ‘पत्रकारितामा विश्वासको धागो मक्किँदै जान थालेको छ । अफवाह र आधारहीन सूचना तथा समाचार छरिएका छन् । पत्रकारिताको मूल मर्ममा हामी सबै गम्भीर हुन आवश्यक छ,’ उहाँले भन्नुभयो । अध्यक्ष बस्नेतले पुस्तक अङ्ग्रेजी संस्करणमा पनि प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

पत्रकार महासङ्घका अध्यक्ष शर्माले नेपाली सञ्चारमाध्यमको इतिहास छापादेखि डिजिटल प्रविधिसम्म आउँदा विश्वसनीयता गुम्दै गएको हो कि भन्ने अवस्था देखिएको बताउनुभयो । ‘सञ्चारमाध्यममा आएका आधारहीन र तथ्यहीन सामग्रीलाई कसरी परास्त गर्ने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ,’ उहाँको भनाइ थियो । पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ पत्रकार रेग्मीले पत्रकारिताका नयाँ र पुराना पुस्ताबिच सार्थक संवादको आवश्यकता देखिएकामा जोड दिनुभयो । उहाँले ६० वर्षको सेरोफेरो यो खालको ऐतिहासिक पुस्तक तयार भएको बताउनुभयो । छापा, टेलिभिजन, रेडियो र न्युज पोर्टल न्युमिडियाको भूमिका र जिम्मेवारी समयअनुसार फरक-फरक देखिए पनि मूल ध्येय पाठक तथा स्रोतालाई सुसूचित गराउने र जागरण ल्याउने रहेको उहाँले बताउनुभयो । नेपाली पत्रकारिताको इतिहास लेखन कार्यमा करिब ६ दशकपछि आएको यो पुस्तक नेपाली पत्रकारितामा रुचि राख्नेका लागि काउन्सिलको सराहनीय कार्यको रूपमा लिइएको छ । पुस्तकको प्रधान सम्पादक काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत हुनुहुन्छ भने सम्पादकमण्डलमा श्रीरामसिंह बस्नेत, झविन्द्र भुसाल र दीपक खनाल रहनुभएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह