- बालन नाच लोप हुने अवस्थामा : रसुवाका कालिका र उत्तरगया गाउँपालिकामा परम्परागत धार्मिक कथामा आधारित बालन नाच युवा पुस्ताको चासो नहुनाले लोप हुने सङ्कटमा छ ।
- स्थानीयवासीको संरक्षण प्रयास : बालन, खैँजडी, छत्रजस्ता मौलिक नाच जोगाउन स्थानीय बासिन्दा, पाका उमेरका व्यक्ति र गाउँपालिका अध्यक्षहरूले चासो देखाउँदै संरक्षणको प्रतिबद्धता व्यक्त गरेका छन् ।
- युवाको सहभागिता आवश्यक : बालनसहित अन्य परम्परागत नाचगान जोगाउन नयाँ पुस्ताको सक्रियता र चासो अत्यावश्यक रहेकामा स्थानीय संस्कृतिप्रेमीले जोड दिएका छन् ।
धुन्चे । रसुवा जिल्लाका कालिका र उत्तरगया गाउँपालिकामा परम्परागत रूपमा निकै लोकप्रिय बालन नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । रामायण, महाभारत, कृष्ण चरित्र, श्रीस्वस्थानीजस्ता धार्मिक ग्रन्थका कथालाई तेत्तिसकोटी देवता पुकारी श्लोकमा लयबद्ध गरी भाका हालेर समूहमा नाचिने बालन नृत्यप्रति युवा पुस्ताले चासो नदिँदा हराउँदै जान लागेको छ । रैथाने मौलिक संस्कृतिका रूपमा रहेको बालन नाच जोगाउन स्थानीयवासीले चासो राखेका छन् ।
बालन, छत्र र खैँजडी नाच ब्राह्मण समुदायले परापूर्वकालदेखि प्रस्तुत गर्दै आइरहेका छन् । यसलाई मासिन नदिन वेलावेला मेला-महोत्सवमा भने देखाइने गरेको रसुवा जिबजिबेनिवासी पण्डित नारायण देवकोटाले बताउनुभयो । बालन परम्पराको सुरुवात वाल्मीकि ऋषिका पालामा भएको मानिन्छ । यो धार्मिक ग्रन्थका कथामा आधारित लयात्मक रूपमा गाइने गरिन्छ । जिबजिबेनिवासी होमनाथ देवकोटाले भन्नुभयो, ‘हाम्रो यही पुरानो संस्कृतिले हामी बाँचेका छौँ र हामी भन्न पाएका छौँ, त्यसैले मौलिक संस्कृतिलाई हराउन नदिन सरोकारवालाले चासो राख्नु जरुरी छ ।’ कालिका गाउँपालिकाका जिबजिबे, ज्याङ्लाङ, कटुन्जेलगायत गाउँमा खैँजडी भजन र छत्र नाचको चलन कायम नै छ ।
परम्परागत रूपमा प्रस्तुत गरिँदै आएको बालन नृत्य हिजोआज बिस्तारै लोप हुँदै जान थालेको जिबजिबेनिवासी पूर्णमाया पौडेल बताउनुहुन्छ । देवीदेवताका सत्चरित्र, वीरता, साहसको गुनगान गरिने गायन र नृत्य कला रहेको बालन धार्मिक मेला, विवाह, व्रतबन्ध, नारायण पूजा, सप्ताह, पुराणजस्ता कार्यमा नाच्ने चलन थियो । परम्परागत लोकप्रिय नाच हिजोआज हराउँदै जान थालेपछि क्षेत्री, ब्राह्मण समुदायका पाका उमेरका व्यक्तिको पहिचान नै गुम्ने चिन्ता जिबजिबेका मुकुन्द पौडेलले व्यक्त गर्नुभयो । रैथाने मौलिक संस्कृति संरक्षण गर्न स्थानीयवासीलाई सहयोग गरिने कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रसुवा जिल्लामा परम्परागत बालन, खैँजडी भजन, मारुनी, सतिघाटु, लामा नाच, झाँक्री नाच, माने नाच, खम्पा नाच, माने छुपा, घोडा नाच, स्याब्रु नाच, नेवारी संस्कृतिको लाखे नाच, विभिन्न जात तथा संस्कृतिका परम्परागत नाच जीवन्त राख्न र संस्कृति समाजबाट हराउन नदिन आजका युवा पुस्ताले चासो राख्न जरुरी रहेको जिबजिबेका धर्म पौडेलले जोड दिनुभयो ।
प्रतिक्रिया