श्याम रिमालको ‘हिमाल त कालै भएछ’

श्याम रिमालको ‘हिमाल त कालै भएछ’
रमेश सिलवाल
२ महिना अगाडी

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘हिमाल त कालै भएछ’ शीर्षक कविता सङ्ग्रह प्रकाशनमा आएको छ । क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा कविका सुपुत्र मदनप्रसाद रिमाल, साहित्यकार तथा पूर्वप्रशासक हरिप्रसाद रिमाल, प्रकाशक इ स्कन्दा रिमाल, विद्युत्कर्मी साहित्य समाजका सल्लाहकार कृष्णदेव शब्दसेनालगायतले कृति विमोचन गर्नुभयो ।

कृतिमा खोला, हिमाल, पत्रकारिता, राजनीति, राष्ट्रियता, पर्यावरण, जलवायु परिवर्तन, प्रदूषण, जन्मदिन, विवाह, जागिर, मानिसमा रहेको अतिप्रलोभन, शासकीय क्रूरता, निम्न वर्गको पीडालगायत विषय समेटिएका २९ कविता सङ्गृहीत छन् । ती सबै कविता सन् २०२४ मा रचना गरिएका हुन् । सो अवसरमा पदयात्री तथा नियात्राकार विष्णुप्रसाद शर्मा पराजुली र पत्रकार एवं साहित्यकार गान्धीराज काफ्लेले रिमालले हिमाल र खोलालाई प्रतीक बनाएर वर्तमान जल्दाबल्दा विषयलाई उजागर गरेको बताउनुभयो । आध्यात्मिक चिन्तक तथा पूर्वप्रशासक हरिप्रसाद रिमालले पत्रकार भएर पनि श्याम रिमालले निरन्तर साहित्य साधना गरिरहेको जनाउँदै कालजयी साहित्य रचना गर्न स्रष्टाहरूलाई आग्रह गर्नुभयो । प्रथम गद्यकवि तथा नेपाली समस्यामूलक नाटकका प्रणेता गोपालप्रसाद रिमालका सुपुत्र मदनप्रसादले आफ्ना पिताले राजनीति र साहित्यमा लागेर दुःख पाएकाले आफ्नी आमाले आफूहरूलाई ती क्षेत्रमा नलाग्न सुझाव दिएको बताउँदै पिताका नाममा अब छिट्टै प्रतिष्ठान गठन गरिने जानकारी दिनुभयो ।

प्रकाशकमध्येका इ शुभम अधिकारीले सरल भएर पनि प्रभावशाली रहेकाले पत्रकार रिमालका कविता प्रकाशन गर्न आफूहरू प्रेरित भएको बताउनुभयो । सङ्ग्रहका रचयिता तथा नुवाकोट, विदुर–८, बगुवा बजारका श्याम रिमालले इस्वीको गत वर्ष राजनीति, पत्रकारिता, पर्यावरण र समसामयिक विषय र कुनै पुस्तक पढेपछिका भाव आफूले पोखेको जानकारी दिनुभयो । उहाँका यसअघि ‘एउटा काँढा बिझ्दा’ गीतसङ्ग्रह (२०४८), ‘त्रिशूलीको किनाराबाट’ कवितासङ्ग्रह (२०६६), ‘बारपाक’ कम्पकाव्य (२०७४), ‘नदी बग्दैन’ कवितासङ्ग्रह (२०७८) र ‘चमेरोः कोरोना कविता’ (२०८०) प्रकाशन भइसकेका छन् जसमध्ये दोस्रो, तेस्रो र चौथोका प्रकाशकमा ‘त्रिशूली प्रवाह’ साप्ताहिक नै रहेको थियो । तत्कालीन त्रिभुवन त्रिशूली हाइस्कुल र नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यापक शिवप्रसाद रिमालका साहिँला सुपुत्र तथा यस साप्ताहिकका स्तम्भकार रिमालको यसअघि यसै साप्ताहिकमा ‘जेठी तरबार’ शीर्षकमा पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धित उपन्यास पनि प्रकाशन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रमेश सिलवाल