दुप्चेश्वरमा धार्मिक पर्यटकीय सम्भावना

दुप्चेश्वरमा धार्मिक पर्यटकीय सम्भावना
शम्भुराम दाहाल
२ महिना अगाडी

समुन्द्रटार । बागमती प्रदेशअन्तर्गत नुवाकोटको पूर्वी भेगमा अवस्थित दुप्चेश्वर गाउँपालिका धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले निकै सम्भावनायुक्त क्षेत्र हो । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र दुप्चेश्वर महादेव मन्दिरको नामबाट नामकरण भएको यस पालिका नुवाकोट सदरमुकाम विदुरदेखि ३० किमी टाढा छ ।

दुप्चेश्वर महादेव मन्दिरको उत्पत्तिसम्बन्धी विभिन्न पौराणिक जनश्रुति छन् । एउटा जनश्रुतिअनुसार करिब ४०० वर्षअघि एक तामाङको दुहुनो गाई हराएपछि सपनामा देखिएको संकेतानुसार गाई भेटिएका ठाउँमा महादेवको प्रकट मन्दिर देखिएपछि ‘दुग्धेश्वर’ बाट अपभ्रंश हुँदै ‘दुप्चेश्वर’ नाम रहन गएको हो । अर्काे कथनानुसार समुद्र मन्थनपछि विष सेवन गरी रन्थनिएका महादेव गोसाईँकुण्ड जानुअघि यही ठाउँमा विश्राम गरेका थिए । वडा नं ३ मा अवस्थित सो मन्दिरमा विशेषगरी जोडी जुराउने, सन्तान प्राप्तिको कामनासहित भक्तजन आउने गर्छन्। लामो समय नबोल्ने बालबालिकाको बोली फुट्ने, मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनाभर र हरेक सोमबारका साथै धान्यपूर्णिमामा लाग्ने साता लामो मेला यहाँको विशेषता हो ।

गाउँपालिकाको करिब २७ प्रतिशत वन क्षेत्र र १८ प्रतिशत घाँसे मैदानले ढाकिएको छ । यहाँ सल्लो, साल, चिलाउने, लालीगुराँस, रूद्राक्ष, लप्सीलगायत विभिन्न वनस्पति तथा चिराइतो, पाखनवेद, सतुवा, शिलाजितजस्ता बहुमूल्य जडीबुटी पाइन्छन् । वन्यजन्तुमा रातो हाब्रे, चित्तल, भालु, मृग, सालक, हाब्रे, घोरलजस्ता २० भन्दा बढी प्रजाति छन् भने २१ भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइनु यसको जैविक विविधताको संकेत हो । धार्मिक पर्यटनलाई समृद्धिको आधार बनाउन स्थानीय सरोकारवाला, व्यवसायी र निजी क्षेत्रको एकीकृत सहभागितामा कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । पालिकाले ऐतिहासिक सम्पदा र परम्परागत संरचनाको संरक्षण गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष योजना ल्याउनु आवश्यक छ । धार्मिक पर्यटनको विकासले युवालाई स्वदेशमै रोजगारी सिर्जना, स्थानीय आम्दानी वृद्धि र देशको समग्र अर्थतन्त्रमा योगदान पुर्याउन सक्छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

शम्भुराम दाहाल