- पुस्तकले नेपाली कम्युनिस्ट आन्दोलनको सन्दर्भमा भूमिगत नेता–कार्यकर्तालाई आश्रय, सुरक्षा र सम्पर्कको माध्यम बनेका ‘भुइँमान्छे’को योगदानलाई उजागर गर्छ । इतिहासमा ओझेलमा परेका व्यक्तिको त्याग, साहस र भूमिकालाई प्रकाशमा ल्याउने उद्देश्यले लेखिएको यो कृति नारीवादी दृष्टिकोण र राजनीतिक यथार्थसँग जोडिएको छ ।
- विन्दा पाण्डेजस्तो अनुभवी राजनीतिज्ञ, नारीवादी र सामाजिक अभियानकर्मीको जीवन, अनुभव र अनुसन्धानको गहिरो अध्ययनले पुस्तकमा प्रामाणिकता थपेको छ । सरल भाषा र प्रायोगिक लेखनशैलीले पुस्तकलाई सहज र प्रभावकारी बनाएको छ ।
- पुस्तकमा झापा, धादिङ, स्याङ्जा, कास्की आदि जिल्लाका महिलाले भूमिगत नेतालाई कसरी सहयोग गरे भन्ने विवरण प्रस्तुत गरिएको छ ।
- पुस्तक उपयोगी भए पनि मूल्य (रु. ८५०) वास्तविक भुइँमान्छेका लागि महँगो ठहरिएको छ । कर्णाली, सुदूरपश्चिम तथा प्रवासका पात्र छुटेका छन् । अध्यायगत अभ्यास, सन्दर्भ सामग्री र विविध भाषामा अनुवाद गरिएमा यसको पहुँच र शैक्षिक मूल्य थपिने देखिन्छ ।
नेपाली राजनीतिक आन्दोलनको गहिरो विश्लेषण भएको प्रस्तुत कृति सामाजिक रूपान्तरण, राजनीतिक चेतना र इतिहासको अध्ययनमा रुचि राख्ने पाठक एवम् नयाँ पुस्ताका लागि अत्यन्त सन्देशमूलक, पठनीय र सङ्ग्रहणीय छ ।
विन्दा पाण्डे एक राजनीतिकर्मी, श्रमिक अधिकारकर्मी, नारीवादी अभियानकर्मी तथा लेखक हुनुहुन्छ । नुवाकोट जिल्ला, रावलस्वाँरा, खानीगाउँमा जन्मनुभएकी र १२ दाजुभाइबहिनीमध्ये ठुली कान्छी पाण्डेले शिक्षा, कानुन, वनस्पति विज्ञान र लैङ्गिक तथा विकास अध्ययनमा स्नातक र स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । आठ वर्षअघि काठमाडौँ विश्वविद्यालयबाट नारीवादी अनुसन्धानको दृष्टिकोणबाट राजनीतिमा महिलाको सशक्तीकरण विषयमा विद्यावारिधिप्राप्त पाण्डेको सामाजिक आन्दोलन, दलीय अन्तरसङ्घर्प र संसदीय राजनीतिमा प्रस्ट विचार र सशक्त अभिव्यक्ति परिचय बनेको छ । नेकपा (एमाले) की स्थायी कमिटी सदस्य उहाँ पहिलो संविधानसभा (२०६४) र सङ्घीय संसद् (२०७४) का सदस्य रहिसक्नुभएको छ । वि.सं. २०५८ मा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्यका रूपमा काम गर्नुभएकी पाण्डेले २००४ नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिवको जिम्मेवारीका साथै त्यसको प्रतिनिधित्व गर्दै जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम सङ्गठन, व्यवस्थापन समितिमा दुई कार्यकाल सदस्यको समेत जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले गत साल ‘पारिजात सङ्घर्षशील महिला सम्मान’ पनि पाउनुभएको छ । उहाँका यसअघि ‘धरतीमाथिको दाबी ः अधिकारको लडाइँ’, ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’लगायतमा पुस्तक प्रकाशन भइसकेका छन् । पाण्डेको ‘भुइँमान्छे ः आश्रय, सुरक्षा र सम्पर्कका सारथी गैरआख्यानात्मक पुस्तक’ले नेपाली लोकतान्त्रिक आन्दोलनमा तल्लो तहका कार्यकर्ताको योगदानलाई उजागर गरेको छ ।
लेखक आफ्नो जिम्मेवारीमध्येको राजनीतिक रूपमा जिम्मेवारी निर्वाह गरिरहेकै क्रममा पैदा भएको विषम समयका बिचैमा पुस्तक प्रकाशन भएको हो, फुर्मायसको समयको सदुपयोग गरिएको होइन । यो लामो समयको कठिन र अनवरत प्रयासले आएको छ । वि.सं. २०८१ फागुनमा साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको प्रथम संस्करणको यस कृतिमा ४२० पेज छन् जसमा पाँच भाग छन् : नेकपा स्थापनाः विकास र विस्तार, पुनर्गठन प्रक्रियामा कम्युनिस्ट आन्दोलन, नेकपा (माले) गठन र विकास, पार्टी निर्माणको जगमा केही भुइँमान्छे र पार्टीसँग जोडिएका केही अनुभव, केही अनुभूति । यो वास्तविक घटना, तथ्य, अनुभव र जानकारीमा आधारित सामग्री समावेश भएको पुस्तक हो । यो ऐतिहासिक, सामाजिक, राजनीतिक, वैज्ञानिक वा व्यक्तिगत यथार्थमा आधारित छ । पुस्तकले नेपाली राजनीतिक आन्दोलनमा योगदान पु¥याएका, तर इतिहासमा ओझेलमा परेका आमनेपाली महिला र पुरुषको साहस, त्याग र समर्पणलाई उजागर गर्ने प्रयास गरेको छ । भूमिगत कालमा राजनीतिक दल निर्माण र राजनीतिक परिवर्तनमा भुइँमान्छेको योगदानको गहन भूमिका यसमा प्रस्तुत गरिएको छ । पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था स्थापनार्थ भूमिगत नेता–कार्यकर्तालाई आश्रय र सुरक्षाको व्यवस्था गर्दै आममानिससँग पार्टी सम्पर्कको सेतु भई अतुलनीय योगदान पु¥याउने तिनै निर्भीक मान्छेका बारेमा लेखिएको पुस्तकको भाषा सरल छ र लेखनशैली प्रायोगिक छ । विषयप्रति मौलिकता र नवीनताका साथ पुस्तकले नयाँ दृष्टिकोण दिएको छ । यसले नेपाली राजनीतिक आन्दोलनको एक महत्वपूर्ण पक्षसँग परिचित गराउँछ र महिलाको योगदानको मूल्याङ्कन गर्न प्रेरित गर्छ ।
पुस्तक हालको समाज, राजनीति वा संस्कृतिसँग जोडिने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको इतिहासदेखि वर्तमानसम्मको अन्तरसङ्घर्ष, फुट, विभाजन र एकताको फेहरिस्तका रूपमा रहेको छ । पुस्तकमा झापा, चितवन, धादिङ, कास्की, नवलपरासी, रुपन्देही, स्याङ्जा, मकवानपुरलगायत जिल्लाका महिलाले भूमिगत नेता–कार्यकर्तालाई लुकाउने, खुवाउने र जोगाउने क्रममा देखाएको साहसिकता र चातुर्यताको वर्णन गरिएको छ । उदाहरणका लागि, झापाकी हरिमाया बरालले भूमिगत नेताहरूलाई आश्रय दिएकी थिइन् भने स्याङ्जाकी नर्मदा खराललाई सबै भूमिगत नेता–कार्यकर्ताले ‘पार्टीकी आमा’ भनेर सम्मान गर्थे । पुस्तकले नेपाली राजनीतिक आन्दोलनमा महिलाको योगदानलाई उजागर गर्दै उनीहरूको भूमिका र योगदानलाई इतिहासमा मर्यादाका साथ सम्मान गर्नुपर्ने औँल्याएको छ । यसले पाठकलाई नेपाली राजनीतिक आन्दोलनको एक महत्वपूर्ण पक्षसँग परिचित गराउँछ र महिलाको योगदानको मूल्याङ्कन गर्न प्रेरित गर्छ । यसले पुस्तक चर्चा सम्पन्न भइसकेका प्रदेश र जिल्लालाई अत्यन्त प्रभावित पारेको तथा आफ्ना प्रदेश र जिल्लाको पार्टी इतिहासका साथै आश्रय, सुरक्षा र सम्पर्कका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेको अभिलेखीकरण गर्नेतर्फ उत्प्रेरणा प्रदान गरेको पाइएको छ । नयाँ युवापुस्ता, सामाजिक रूपान्तरण र राजनीतिमा चासो राख्नेका लागि कृति अत्यन्त उपयोगी, पठनीय र सङ्ग्रहणीय छ ।
पुस्तकको मूल्य रु. ८५० भुइँमान्छेका लागि उपयोगी देखिएन । ४२० पेज (आवरणसहित) को पुस्तक हेर्दा मूल्य ठिकै लागे पनि वास्तविक भुइँका मान्छेलाई किन्ने होइन हातले छाम्ने मात्र हुन सक्छ । पुस्तकमा समेटिएका पात्रका सन्दर्भमा थप ऐतिहासिक प्रमाण, दस्ताबेज वा तस्बिर समावेश गर्न सकेमा यो अझ विश्वसनीय र अध्ययनमुखी बन्न सक्छ । यस संस्करणमा कर्णाली, सुदूरपश्चिम र प्रवासका भुइँमान्छे छुटेका छन्, उनीहरूलाई प्रतिनिधिमूलक रूपमै भए पनि समेट्नुपर्छ । विभिन्न प्रदेश र जिल्लाले पनि पुस्तकमा उल्लेख भएका क्षेत्रमा योगदान पु¥याउनेको अभिलेखीकरण गर्दा उपयुक्त हुनेछ । यसका लागि हालसालै नेकपा स्थापनाको ७६औँ वार्षिकोत्सवका उपलक्ष्यमा एमालेले प्रकाशन गरेको ‘सेल्टर’ पुस्तकलाई सन्दर्भ सामग्री बनाउन सकिनेछ । विभिन्न भूगोल, जातीयता र वर्गको प्रतिनिधित्व हुने गरी भुइँमान्छेहरूको अनुभव थप समेट्दा विविधता देखिनेछ । प्रत्यक्ष अनुभव भोगेका महिलाका प्रत्यक्ष उद्वरण, शब्दशः अन्तर्वार्ता वा संवाद समावेश गर्दा जीवन्तता थपिन्थ्यो । शैक्षिक प्रयोगका लागि अध्यायगत अभ्यास सामग्री विश्वविद्यालय वा विद्यालयमा प्रयोग गर्न मिल्ने गरी हरेक अध्यायपछि विचार–प्रश्न वा छलफलका बुँदा समावेश गर्दा यो पुस्तकको शैक्षिक मूल्य बढ्ने थियो । संस्करणलाई अङ्ग्रेजी, मैथिली, थारू आदि भाषामा अनुवाद गरेमा विविध पाठक वर्गमा पु¥याउने सम्भावना बलियो देखिन्छ । मुद्राराक्षस र शब्द–शब्दावलीमा ध्यान दिनुपर्ने देखिन्छ । यी सुझावलाई समेटेर ‘भुइँमान्छे’लाई अध्ययन, अनुसन्धान, शिक्षण र जागरणको अझ सशक्त दस्ताबेज बनाउन सकिन्छ ।
प्रतिक्रिया