साततले दरबार र तलेजु मन्दिर पुनर्निर्माणमा गति

पुरातात्त्विक सामग्री नुवाकोटमै रहने

साततले दरबार र तलेजु मन्दिर पुनर्निर्माणमा गति
 शरणउत्सुक सापकोटा
१ महिना अगाडी
  • गोरखा भूकम्पपछि १० वर्षपछि साततले दरबार र तलेजु मन्दिरसहित आठ सम्पदाको पुनर्निर्माण सुरु भएको छ जसको जिम्मेवारी चीनको एकेडेमीले लिएको छ ।
  • पृथ्वीनारायण शाह र उनका दुई रानीको ऐतिहासिक मूर्ति राष्ट्रिय सङ्ग्रहालय लैजाने योजना स्थानीयवासीको असहमतिपछि परिवर्तन भई अब नुवाकोटमै सेना र प्रहरीको निगरानीमा राखिनेछ ।
  • इँटा, काठजस्ता सामग्रीलाई क्रमबद्ध रूपमा नम्बर दिई सुरक्षित राखिएको तथा तलेजुको जगलाई जस्ताले छोपेर वर्षात्मा क्षति हुन नदिने प्रयास गरिएको छ ।
  • चिनियाँ पक्षले पहिलो चरणमा दरबार र तलेजुको पुनर्निर्माण वि.सं. २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । स्थानीय तहको सहकार्य भएमा समयमै निर्माण सकिने अपेक्षा गरिएको छ ।

विदुर । एक दशकअगाडि भूकम्पले जीर्ण बनाएको विदुर-२ नुवाकोटस्थित दरबार र तलेजु भवानी मन्दिरसहित यस क्षेत्रका आठ धार्मिक एवम् पुरातात्त्विक सम्पदाको पुनर्निर्माण १० वर्षपछि भर्खर सुरु भएको छ । नुवाकोट दरबार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिला भएपछि पुनर्निर्माण रोकिएको थियो । यहाँको धार्मिक, सांस्कृतिक एवम् पुरातात्त्विक संरचना पुनर्निर्माण, प्रबलीकरण र संरक्षणको काम सुरक्षित र सावधानीपूर्वक भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार साततले दरबारसहित संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार र पुरातत्त्व विभागसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षबाट काम भइरहेको छ । गत भदौदेखि कार्यक्षेत्रमा आएका चिनियाँ प्राविधिकसहितका कामदारले अहिले तलेजु भवानी मन्दिर भत्काई जगको प्राविधिक अवस्थाको नापजाँच गरिरहेका छन् । भत्काइएका प्रत्येक इँटा, काठलाई नम्बर दिएर काम लाग्ने जतिलाई वर्गीकरण गरी भण्डार गरिएको छ । वर्षात्ले क्षति नहोस् भनेर उनीहरूले तलेजु मन्दिरको जगलाई जस्ताले छोपेका छन् । गत हप्तादेखि साततले दरबार भत्काउनसमेत सुरु गरिएकामा यस हप्तामा सबैभन्दा माथिल्लो तला भत्काउने काम सक्न नेपाली र चिनियाँ प्राविधिकसहित ४० कामदार सक्रिय छन् । चीनको सरकारी निकाय चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले पुनर्निर्माणको जिम्मा पाएको हो ।

प्रक्रियाअनुसार दरबारमा रहेको पुरातात्त्विक महत्त्वका सामग्री पुरातत्त्व विभागसँग आग्रह गरेर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, वडा कार्यालय, विदुर नगरपालिका, स्थानीय प्रशासन र स्थानीयवासीका समन्वयमा नुवाकोटमा राख्ने सहमति भएको छ । विभागले उत्कृष्ट कलात्मक ‘दुर्गरत्न’मा रहेका पृथ्वीनारायण शाह र उहाँका दुई रानीको ऐतिहासिक ढलोटको मूर्ति दरबार निर्माण नहुन्जेल सुरक्षा र संरक्षणका लागि पछि फर्काउने गरी राष्ट्रिय सङ्ग्रहालय (छाउनी) लैजाने प्रक्रिया अगाडि बढाएकामा स्थानीय प्रशासन, नगरपालिकाका जनप्रतिनिधि, दरबार हेरचाह कार्यालय र स्थानीयवासीको सरसल्लाहले साततले दरबारमै सेना र प्रहरीको निगरानीमा सुरक्षित राख्ने सहमति भएपछि विभागले मौखिक सहमति दिएको नगर प्रमुख राजनलाल श्रेष्ठले बताउनुभयो । पृथ्वीनारायण र दुई रानीको दुर्लभ उक्त मूर्ति राष्ट्रिय सङ्ग्रहालय लैजानेबारेमा स्थानीयवासीले असहमति जनाएपछि नगरपालिका प्रमुख श्रेष्ठसहित जनप्रतिनिधि, स्थानीय प्रशासन र दरबार हेरचाह कार्यालयले समन्वय गरेर विभागलाई जिल्लामा राख्नका लागि अनुरोध गरेका थिए । जिल्लाको आग्रहलाई विभागले मौखिक सहमति दिएपछि ती मूर्ति नुवाकोटमै सुरक्षित साथ राखिएको नुवाकोट-२ का वडाध्यक्ष दीपक कायस्थले बताउनुभयो । दरबार पुनर्निर्माणको काम सुरक्षित र सावधानीपूर्वक गर्नुपर्ने भएकाले आवश्यक सहयोग स्थानीयवासीले गरेमा चिनियाँ पक्षले आगामी विसं. २०८३ भित्र दरबार र मन्दिर पुनर्निर्माण गरिसक्ने बताएको छ । निर्माणमा आउने अवरोध र समस्या नगरपालिका, वडा कार्यालय, स्थानीय प्रशासन, स्थानीयवासी र दरबार हेरचाह कार्यालयले समन्वय गरेर समाधान गरेमा निर्माण निर्धारित समयमा हुने अपेक्षा गरिएको छ ।

गोरखा भूकम्पले क्षति पुर्याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत साततले दरबारसहित यहाँका धार्मिक तथा पुरातात्त्विक महत्त्वका आठ संरचनाको जीर्णोद्धार, पुनर्निर्माण एवम् प्रबलीकरणको जिम्मेवारी चीन सरकारले लिएको छ । चिनियाँ पक्षले दरबारको पुनर्निर्माणका लागि चाइनिज एकेडेमीलाई पठाएको छ । दुई देशबिच भएको समझदारीअनुसार पुरातत्त्व विभाग र निर्माणको जिम्मेवारी पाएको एकेडेमीबिच विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । नयाँ सम्झौतामार्फत पुनर्निर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक भएपछि हाल काम सुरु गरिएको हो । यद्यपि, थप अवधि उल्लेख गरिएको छैन । पूर्वसमझदारीअनुसार नै काम सुरु गरिएको तीन वर्ष नौ महिनाभित्र पहिलो चरणको काम सम्पन्न गरिने चिनियाँ पक्षले जनाएको छ । पहिलो चरणअन्तर्गत दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण सम्पन्न गरिने लक्ष्य छ । चिनियाँ प्राविधिकको अध्ययनअनुसार दरबार र मन्दिर दुवैको जीर्णोद्धारमार्फत पुनर्निर्माण गर्ने तयारी छ । बाँकी अन्य गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण, जीर्णोद्धार, प्रबलीकरण र संरक्षणका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ ।

नेपाल एकीकरणका समयमा पृथ्वीनारायणले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेका थिए । उनले त्यसैलाई राजधानी बनाई विसं १८१९ मा दरबार निर्माण सम्पन्न गरेका थिए । काठमाडौँ उपत्यका विजय हुनुअघिसम्म पृथ्वीनारायणले नुवाकोट दरबारमार्फत नै आफ्नो कामकाज सञ्चालन गर्दै आएको इतिहासमा उल्लेख छ । दरबारलाई नै उनले राज्यको मुख्य प्रशासनिक केन्द्र बनाएको र देशको राजधानीका रूपमा नुवाकोट राखेको उल्लेख थियो । सो ऐतिहासिक दरबारसहितको संरचना गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको थियो । दरबारसहितको संरचना पुनर्निर्माणको जिम्मा लिएको चिनियाँ पक्ष विसं २०७६ असारदेखि काम सुरु गर्न कार्यक्षेत्रमा आए पनि उक्त समयमा थप क्षति हुन नदिन खट बनाई (टेको दिएर) फर्किएको थियो । हाल दरबार र दरबारसँगै रहेको लिच्छविकालीन तलेजुको मन्दिरको प्रबलीकरण अघि बढाइएको छ । चिनियाँ प्राविधिकसहितको कामदार टोली तुलजा भवानीको मन्दिरको पुनर्निर्माणका लागि चर्केका, भत्केका गाह्रो झिक्ने र झिकेका सामान सावधानीपूर्वक सुरक्षित राख्न सक्रिय छन् । पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले पानी, निर्माण सामग्री रााखिने स्थान, स्थानीय निर्माण सामग्री सहज रूपमा उपलब्ध गराउने र बिजुलीलगायत व्यवस्था गर्ने जिम्मेवारी लिएको नगरप्रमुख श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

 शरणउत्सुक सापकोटा