काठमाडौँ । शीतकाव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौँ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मानसहित मनाएको छ । समाजद्वारा टोखा, काठमाडौँमा आयोजित समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले शीत कृति लोकार्पण र शीत पुरस्कारद्वारा स्रष्टालाई सम्मान गर्नुभएको थियो ।
सो कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै मुख्यमन्त्री लामाले भन्नुभयो, ‘समाज रूपान्तरणका लागि साहित्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । राज्यले भाषा, कला, साहित्यको विकासका लागि सहयोग गरेर संरक्षणमा लागिरहेको छ । स्वयम्सेवी रूपमा स्थापना भएका साहित्यिक संस्थाको योगदान महत्त्वपूर्ण रहेको छ ।’ समारोहमा शीतकाव्य समाज नेपालका अध्यक्ष एवम् प्रथम शीतईश्वर कृष्ण केसीद्वारा आफ्नो स्वर्गीय पितामाताको स्मृतिमा स्थापना गरिएको शीतकर्ण शिवकुमारी पुरस्कारद्वारा शीत परिकल्पनाकार पुष्कर अथक र शीतईश्वर दामोदर ‘दीपक’लाई पुरस्कृत गरिएको थियो । शीत कृतिकार विमल ‘समीक्षा’लाई एघारौँ शीतईश्वरको पदवीद्वारा सो अवसरमा विभूषित गरियो । उहाँद्वारा लिखित शीतकाव्य सङ्ग्रह ‘कल्प’ (२०८२) लोकार्पण गरिएको थियो । उक्त कल्पमा ३० शीर्षकमा एक हजार आठभन्दा बढी शीत छन् । कृति उदाहरणीय र सङ्ग्रहणीय रहनुका साथै शीतकाव्य लेख्नका लागि सूत्र अर्थ मन्त्रपूर्ण रूपमा उपयोगी रहेका छन् । हालसम्म शीतका पन्ध्र कृति प्रकाशन भइसकेका छन् । कविता विधाको लघुतम उपविधा शीतको जन्म पाल्पामा भएको हो । शीत लेख्न सजिलो भएकाले यसको व्यापकता बढदो छ । शीतकाव्य समाज नेपालद्वारा काठमाडौँमा सहआयोजित समारोहमा कलाकार विष्णु गुरुङ, गायिका सरस्वती अर्याल, शीतईश्वर सत्यनारायण ढकाल, शीतईश्वर भोजभक्त कँडेल र वर्षा ढकालद्वारा शीत गायन हुनाका साथै साहित्यकार द्वारिका कुइँकेल, दुर्गा भमरकोटे, भागवत खनाल, दीर्घबहादुर चन्द, छवि बैरागी, डा. शैलेन्दुप्रकाश नेपाल र परिकल्पनाकार पुष्कर अथकद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियोे ।
प्रतिक्रिया