मनसुनमा निर्भर नेपालको अर्थतन्त्र

मनसुनमा निर्भर नेपालको अर्थतन्त्र
त्रिशूली प्रवाह
१ महिना अगाडी

यस वर्षको मनसुन सुरु भइसकेको छ । यससँगै वर्षात् हुने क्रम बढिरहेको छ । उखरमौलो गर्मीको सामना गरिरहेका नेपालीका लागि मौसमी हावासँँगैको वर्षाले केही शीतलता प्रदान गरेको तथा कृषिकर्ममै निर्भर कृषकमा खुसी ल्याएको छ । गृष्म ऋतुमा पानी पर्न थालेपछि गर्मी घट्दै जान्छ र धान रोपाइँका लागि आवश्यक पानी परिपूर्ति हुन्छ । तर, हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्ने मनसुन आउँदैमा नियमित वर्षा सुरु नहुने मौसमविज्ञले बताएका छन् । नेपालको पूर्वबाट प्रवेश गरेको मनसुनले झन्डै दुई सातापछि देशभरि वर्षात् हुन थालेको छ ।

समुद्रबाट बहने प्रशस्त जलवाष्प भएको मनसुनी वायुले नेपालमा नियमित वर्षा गराउनका लागि पहिलो कुरा त पश्चिमी वायुभन्दा बढी शक्तिशाली हुनुपर्छ, दोस्रो कुरा तिब्बतको पठार क्षेत्रमा तापक्रम वृद्धि भई वायुको चाप कम हुनुपर्छ । पश्चिमी वायुभन्दा मनसुनी वायु कहिलेदेखि बलियो र तिब्बतको पठारमा वायुको चाप कहिलेदेखि कम हुन थाल्छ भन्ने यकिन मिति मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरिसकेको छैन । विगतलाई हेर्दा मनसुन शक्तिशाली हुन १० देखि १५ दिन लाग्ने गरेको छ । गत वर्ष चार दिनअघि अर्थात् जेठ २८ देखि मनसुन प्रवेश गरेकामा यस वर्ष १५ दिन अगावै जेठ १५ मा कोशी प्रदेश प्रवेश गरेको हो । मनसुन विगत वर्षभन्दा आधी महिना अगाडि नै प्रवेश गरे पनि छिटफुटबाहेक जेठभरि सन्तोषजनक वर्षा नभएको मौसमविद्ले बताएका छन् । पूर्वबाट प्रवेश गरेको मनसुनी वायुभन्दा पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा सो अवधिमा पूर्वबाट प्रवेश गरेको मनसुनी वायु फैलिन नसक्दा वर्षा नभएको जानकारी मौसम अनुमान महाशाखाले दिएको छ । असार लागेसँगै पूर्वको मनसुनी वायुको फैलावट देशभरि नै भएपछि नियमितजस्तै पानी पर्न थालेको छ । तर, असारको पहिलो साता बितिसक्दा पनि सन्तोषजनक वर्षा हुन भने सकेको छैन ।

मनसुनबारे नेपालमा अत्यधिक चासो हुनाका धेरै कारण छन् । यो नेपालका लागि प्राकृतिक वरदान हो । नेपालको अर्थतन्त्रमा मनसुनी वर्षाको प्रत्यक्ष योगदान २५ देखि ३० प्रतिशतको हाराहारीमा छ । अप्रत्यक्ष योगदानको कुरा गर्ने हो भने कुनै हिसाबकिताब नै गर्न सकिन्न । मनसुनविनाको कृषि उत्पादन नेपालमा कल्पना नैै गर्न सकिन्न । मनसुन नभित्रिँदो हो त नेपाल मरुभूमि भइसक्ने थियो । दोस्रो कुरा, मनसुन नेपालका लागि कहिलेकाहीँ अभिशाप पनि हुने गरेको छ । कुनै वर्ष अत्यधिक वर्षा हुँदा बाढी, पहिरो र डुबानले ठुलो विपत्ति निम्त्याउने गरेको छ जसबाट बच्नका लागि पूर्वसतर्कता अपनाउन पनि मनसुनबारे धेरैको चासो हुने गरेको देखिन्छ । यति हुँदाहुँदै पनि हरेक वर्ष यस याममा धनजनको ठुलो क्षति हुने गरेको छ । अधिकांश नेपालीले मौसम पूर्वानुमान महाशाखाले गर्ने प्रक्षेपण आधार मानेर आफ्नो दिनचर्या एवम् व्यापार, व्यवसाय र कृषि कर्म गर्न थालेका छन् ।

अहिलेसम्म नेपालको अर्थतन्त्र मनसुनमा निर्भर छ । मनसुनी वर्षा सन्तुलित र लामो समयसम्म भइदियो भने धान, कोदो, तिल, आलसलगायत अन्नबाली उत्पादन राम्रो हुन्छ । खाद्यान्न र तरकारी बाली राम्रो हुँदा आयात घट्ने गरेको छ । जुन वर्ष मनसुनी वर्षा राम्रो हुन्छ, त्यस वर्ष खाद्य तरकारी तथा फलफूल राम्रो उत्पादन हुँदा आयात घट्ने गरेको सरकारको आधिकारिक निकायले तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ । पछिल्लो समयमा जलविद्युत् पनि नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्दै गएको छ । मनसुनी वर्षा सन्तुलित र लामो समयसम्म भइदियो भने जलविद्युत् उत्पादन पनि धेरै हुन्छ । पानी पर्दा गर्मी कम हुने भएकाले देशभित्र विद्युत् खपत कम हुन्छ । स्वदेशमा विद्युत्को खपत घट्दा निर्यात गर्ने विद्युत्को मात्रा बढ्छ । तर, हरेक वर्ष मनसुनमा सरदर करिब चार लाख घरपरिवार दुष्प्रभावित हुने गरेको डरलाग्दो तथ्याङ्क छ । यस वर्ष अझ बढी नकारात्मक प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै निकाय, क्षेत्र र सर्वसाधारणले पनि यसमा सतर्कता अपनाउनु जरुरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह