गाउँको सुख र सुकुलगुन्डा काठमाडौँ

गाउँको सुख र सुकुलगुन्डा काठमाडौँ
रामचन्द्र भट्ट
१ महिना अगाडी

एक दशकपछि नेपाल पुग्दा धेरै साथी, पूर्वसहकर्मी, नातेदारहरूबाट सामना गरेको प्रश्न थियो – के परिवर्तन देख्यौ त ? भौतिक रूपमा नेपालमै नभए पनि प्रविधिले गर्दा थोरबहुत परिवर्तनको महसुस अर्को गोलाद्र्धबाट पनि मैले गरेकै थिएँ । समाचारबाट परिवर्तन भेटिन्थ्यो, सामाजिक सञ्जालबाट परिवर्तनको महसुस गर्न सकिन्थ्यो, लाइभ हेर्दै टेलिफोनमा कुराकानी गर्दा परिवर्तनको सानोतिनो महसुस हुन्थ्यो । तर, नेपाल पुगेर आउने साथी भन्थे, परिवर्तन हेर्न र महसुस गर्न चार भञ्ज्याङ नाघ्नुपर्छ । काठमाडौँमा परिवर्तन खासै केही देखिँदैन । उनीहरू सुझाव दिन्थे, अन्त पुग्न नसके पनि आफ्नै जिल्लाका गाउँगाउँ पुग्नुस् । मानिसको चेतनामा आएको परिवर्तनलाई राम्रोसँग महसुस गर्न सकिन्छ । भयो पनि त्यस्तै । वि.सं. २०८१ चैत २३ गते साँझ ४ः४५ मा अवतरण हुनुपर्ने कतार एयरको फ्लाइट आकाशमै रुमल्लियो । त्रिभुवन विमानस्थलको व्यस्तताले गर्दा आकाशमा आधा घण्टा होल्ड भयो । विमानस्थलबाट निस्कँदा झन्डै ७ बजिसकेको थियो । लामो समय भइसकेको थियो काठमाडौँमा वर्षा नभएको । धुवाँ, तुवाँलाले आँखा पोल्न थालिहाल्यो । लिन आएका आफन्त, परिवारका सदस्यसँग विमानस्थलबाहिर क्याफेमा एक-एक कप कफी पिएपछि म सिधै नुवाकोट हानिएँ । मलाई काठमाडौँमै अडिनुपर्ने कुनै बाध्यता थिएन । मलाई काठमाडौँभन्दा आफू जन्मिएकै नुवाकोटको पिपलटार प्रिय लाग्छ । थोरै गर्मी भए पनि तादी र त्रिशूलीको पानी छुँदै बहेको हावा चिसो लाग्छ । व्यावसायिक सम्बन्धभन्दा रगत र भावनाको नाता गाँसिएका धेरै भएकाले नुवाकोट नै प्यारो लाग्छ ।

मलाई आफ्नै गाउँ, गृहजिल्लाको परिवर्तन हेर्नु थियो । भर्खरैदेखि चल्न सुरु भएको विद्युतीय माइक्रोबस चढेर हामी एयरपोर्टबाट नुवाकोटतिर हानियौँ । १० सिटे माइक्रोबसमा चालक, भाइ हरिचन्द्र र म मात्र थियौँ । सात बजे पनि बाहिर उज्यालै थियो । म चक्रपथको परिवर्तन गाडीको झ्यालबाट नियाल्न थालेँ । नारायणगोपाल चोकबाट चक्रपथ हुँदै पश्चिम लागेपछि जे देखियो ठिक २४ वर्षअघि वि.सं. २०५८ मा नुवाकोटबाट पत्रकारिता गर्न काठमाडौँ आउँदा देखिएको दृश्य त्यही थियो । कुनै परिवर्तन भेटिएन, चक्रपथ जस्ताको तस्तै छ । पहिलेभन्दा घरको साइज बढेको छ, तर पेटी नभएको चक्रपथ, माटोका ढिस्का, जथाभाबी बाटो काटिरहेका पैदलयात्री, तिनलाई गाली गर्दै ‘मर्न मन छ कि कसो’ भन्दै हप्काइरहेका ड्राइभरले मलाई साढे दुई दशकअघिको सम्झना गराए । बालाजुबाट नेपालटारतिर लागेपछि चालक भाइलाई सोधेँ, ‘भाइ, कति समयमा पु¥याउँछौ पिपलटार ?’ ‘कति समय लगाऊँ, तपाईं नै भन्नुस् न । एक घण्टादेखि अढाइ घण्टा कति लगाऊँ, तपाइँं नै भन्नुस् ।’ उसको जवाफले डर पनि लाग्यो किनकि रातको समय र घुम्ती, उकालो-ओरालो बाटो एक घण्टामा पु¥याइदिन्छु भन्ने चालकको भनाइले डराउनुपर्ने अवस्था थियो । ‘सोलमारी त लगाएका छैनौ नि,’ मैले मजाकमा सोधिहालेँ । उसले हाँस्दै भन्यो, ‘कहाँ लगाउनु अहिल्यै ।’ हामी टोखा-छहरेको नयाँ रुट हुँदै जाँदै थियौं । नयाँ रुट त होइन यो, तर मेरा लागि नयाँ थियो किनकि म यात्रा गर्दा बालाजु–तिनपिप्ले–ककनी–रानीपौवा–पैँतिसकिलोको पासाङल्हामु मार्ग चल्तीमा थियो । तर, त्यो सडक अहिले मर्मतसम्भार नहुँदा खण्डहर भएको रहेछ । वि.सं. २०१८/०१९ मै बनेको ऐतिहासिक सडक बन्दजस्तै भए पनि अहिले नुवाकोटलाई राजधानीसँग जोड्ने दुई सडक भएका छन् । पृथ्वी राजमार्गको गल्छी हुँदै र अर्को टोखा–शिवपुरी हुँदै जाने सडक चालू अवस्थामा छन् । दशकअघि

काठमाडौँबाट सदरमुकाम विदुर पुग्न चार घण्टा लाग्थ्यो । अहिले दुई घण्टामा पुगिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जको टुप्पामा प्रहरीचौकी रहेछ । चालकले प्रतिस्पर्धा र ओभरस्पिडमा गाडी चलाउने गरेको उजुरी परेपछि ढिकुरे बजारसम्म टाइमकार्ड लागू गरिएको थियो । शिवपुरीबाट थानसिङफाँटसम्म ४० मिनेटभन्दा पहिले पुगेमा ड्राइभरले जरिवाना तिर्नुपर्ने रहेछ । थानसिङबाट ढिकुरेचाहिँ पुग्नुपर्ने न्यूनतम समय १५ मिनेट रहेछ । १५ मिनेटभन्दा पहिले पुगेमा त्यहाँ पनि ट्राफिक जरिवाना तिर्नुपर्ने रहेछ । हाम्रो चालक भाइले शिवपुरी चौकीमा के खुसामद गरे कुन्नि, टाइमकार्ड नै नभरी प्रहरीले जान दिए । टाइमकार्ड नभएपछि उनले गाडीलाई फिलिली कुदाउँदै आधा घण्टामै थानसिङ पु¥याए । ‘सर, रिजर्भ आएको । टाइमकार्ड भरेको छैन,’ ड्राइभरले चौकी अघिल्तिर रोक्दै भने । ‘नभरीकन आउन हुन्छ ?’ त्यति मात्र भनेर प्रहरीले जान दिए । ‘लौ हेर-हेर, हाम्रो अगाडि त यस्तो स्पिडमा आएको छ । कसरी दौडाएर ल्याएको ?’ ढिकुरे चौकीको ड्युटीमा महिला प्रहरी रहिछिन् । उनले ड्राइभरलाई हप्काइहालिन् । टाइमकार्ड छैन भनेपछि उनले पनि छाडिदिइन् । साढे ७ बजे बालाजुबाट हिँडेको गाडी नौ बजे पिपलटार आइपुग्यो । डेढ घण्टामै ल्याइदिए चालक भाइले । ककनी हुँदै आउँदा छिटोमा पनि तीन घण्टा लाग्थ्यो । गाउँमा कसैका घर चिन्न सक्ने अवस्था रहेन । पहिले घर भएको जग्गा अहिले खाली छ । गाउँका बिचबिचबाट चिरेर ग्राभेल बाटो बनेको छ । त्यही ग्राभेल सडकलाई अगाडि पारेर घर बनेका छन् । राजनीतिक पहुँचवाला, नगरपालिकालाई प्रभावमा पार्न सक्नेका घर अघिल्तिर कङ्क्रिट ढलान सडक तयार भएका छन् । पहिले गाउँमा अधिकांशका घर दुईपाखे छानो, धुरी भएका घर थिए, अहिले सबैका घर आरसिसी ढलान भएका रहेछन् । प्रायः सबै घर सडकसँग जोडिसकेका छन् । गाउँमा परिवर्तनका मुख्य तीन कारण रहेछन् – पैसा, पूर्वाधार र पीडा । मेरो गाउँमा घरका एक सदस्य विदेश नगएको पाउन मुस्किल रहेछ । विदेश नगएका केलाउँदा या त परिवारको स्वीकृति नपाएर, या त अवसर नपाएका मात्र रहेछन् । जापान, अस्ट्रेलिया, युरोपका देशमा गाउँबाट अधिकांश पुगेका छन् जसले गर्दा गाउँमा पैसा भित्रिएको छ । अनि त्यसको प्रभाव घर, सवारीसाधनमा देखिएको रहेछ ।

पूर्वाधारतर्फ पनि गाउँमा मात्र नभएर सिङ्गै विदुरमा धेरै काम भएका रहेछन् । गल्छी-केरुङ राजमार्ग विस्तारले गर्दा पिपलटारमा फराकिलो चार लेनको सडक बनेको छ । लामबगैँचाको चन्द्रज्योति माविहुँदै इनारपाटी, नयाँ केन्द्रीय कारागार जाने बाटो निकै राम्रो तयार हुँदै रहेछ । जिल्लाकै नमुना खेल रङ्गशाला पिपलटारमा तयारीका क्रममा रहेछ । गाउँभित्र पिच गरिएको सडक पुगेछ । कुनै वेला खानेपानीको चर्को अभाव थियो, अहिले बोरिङ प्रविधिबाट ठाउँठाउँमा पानी निकालेर वितरण हुँदा धेरै हिसाबले मानिसको जीवन सहज र सुखद बनेको रहेछ । गाउँ परिवर्तन हुनाको अर्को महत्त्वपूर्ण कारक २०७२ सालको भूकम्प हो । भूकम्पले पीडा नदिएको कुनै घर भएनन्, गाउँका कुनै घर बचेनन् । पहिले नै ढलान भएका पक्की र साना एकतले घरबाहेक सबै भूकम्पले सखाप भए जसले गर्दा नयाँ संरचना बनाउनैपर्ने भयो, नयाँ सृष्टि गर्नैपर्ने भयो । सायद भूकम्प नगएको भए गाउँका ९० प्रतिशत घर अहिले पनि उही तीन-चार दशकअघि बनेका मात्र हुन्थे । थोरैले नयाँ बनाउँथे होलान्, नभए पुरानै घरमा अझै धेरैको वास हुने अनुमान गाउँकै युवाले गरे । गाउँमा घर, सडक, खानेपानीमा मात्र नभएर आयआर्जनका स्रोतमा पनि विविधता थपिएछ । गाउँमा बाहिरी लगानीमा केही उद्योग खुलेछन् जसमा रोजगारीका अवसर थुप्रैले पाएका छन् । त्रिशूली नदीका हरेक दुई किलोमिटरका अन्तरमा पक्की मोटरेबल पुल बनेका छन् । झोलुङ्गे पुल आवश्यकताअनुसार जहीँतहीँ बनेका रहेछन् । आजभन्दा डेढ दशकअघिसम्म हिँडेर पुग्न पनि गाह्रो हुने बेलकोटगढीमा पर्ने चिम्टेश्वर महादेवको मन्दिरसम्म मोटरबाटो पुगिसकेछ । त्यो पनि एकातिरबाट मात्र नभई कुमरी र बाघखोर दुवैतिरबाट बाटो खनिएछ । बाघखोरबाट जाने सडक भर्खरै खनिएकाले जान अप्ठ्यारो भए पनि कुमरीबाट जान सकिने रहेछ । बाघखोर भनिने कुनै समयको दुर्गम स्थान अहिले सबैभन्दा बढी मानिसको चहलपहलको स्थान बनेको छ । बेलकोटगढी नगरपालिकाको भवन त्यहीँ भएकाले अबको एक दशकभित्र सो ठाउँमा राम्रा होटेल, स्तरीय बसोबासका लागि मानिस राजधानी छाडेर बस्ने सम्भावना त्यति टाढा छैन । बेलकोट, नलगाउँ र जिलिङ दुईतिरबाट बाघखोर पुग्ने पिच सडक तयार भएको रहेछ ।

जिल्लाका हरेक पालिकामा तारवाला इन्टरनेट पुगेका छन् । मोबाइल फोन पुग्नु ठुलो कुरा भएन, तर तारवाला इन्टरनेट सुविधा घरघरमा पुगेको छ । सदरमुकाम विदुरका कतिपय स्थानमा सडक भत्किएर, पिच उप्किएर बिजोग देखियो, तर गाउँपालिकामा पिच राम्रो अवस्थामा छन् । एक दशकअघिसम्म पनि दिनभरि हिँड्दा सदरमुकाम आइपुग्न कठिनाइ रहेका दुप्चेश्वर, रामती, समुन्द्रटार, खरानीटारसम्म सललल पिच सडकमा माइक्रो बस दगुर्छन् । कुनै बेला जिल्लामै दुर्गमको नाम लिनुपर्दा आउने साल्मे, भाल्चेमा आज पिच सडक पुगेको छ । तरकारी खेतीले गाउँको अनुहार बदलेको छ । डोका-डालो त्रिशूली बजारमा बेचेर त्यसबाट आएको पैसाले चामल, मकै किनेर लैजाने साल्मेवासीको जीवन फेरिएको छ । पहिले गोरु लगाएर जोतिने खेतबारी हिजोआज टारमा ठुला ट्र्याक्टर र साना सुर्का, पाटामा हाते पावरटिलर लगाएर खेती हुन थालेको छ । एक वडाध्यक्ष भन्दै थिए, ‘घरघरमा सडक पुर्याएर मात्र भएन, अब खेतबारीमा ट्र्याक्टर जान सक्ने गरी सडक बनाउनुपर्ने अवस्था छ ।’ एक दशकपछि पुगेको म गाउँको, जिल्लाको, बजारको परिवर्तन देख्दा जिल्ल परेँ । बट्टार बजारमा दशकअघि देखिएका घर यसपटक चिन्न सकिएन । हरेक एक सय मिटरका दूरीमा राष्ट्रियस्तरका वाणिज्य बैंकका शाखा छन् । तीन दशकअघि नुवाकोट उद्योग वाणिज्य सङ्घको कार्यालय सचिव हुँदा व्यापार गर्न ऋण नपाउँदा व्यापारीले कम्ती सास्ती भोग्नुपरेको थिएन । त्यतिखेर सदरमुकाममा एउटै मात्र नेपाल बैंक थियो । त्यसवेला डा. रामशरण महतले आफ्नो निर्वाचन क्षेत्रको खरानीटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खोलाएका थिए । तर, खरानीटार पुग्न सडकले जोडिएको गँगटेबाट ६-७ घन्टा कस्सिएर हिँड्नुपथ्र्यो । सडकसमेत पुगेको थिएन त्यतिखेर खरानीटारमा । सडक नपुगेको, बिजुली नपुगेको, इन्टरनेट नपुगेको, खानेपानी नपुगेको गाउँ अब छैन भन्दा पनि हुन्छ । मान्छेसँग पैसा छ भने सुखैसुख छ । तीन दशकअघिसम्म पैसा हुनेलाई पनि सुख कहाँ थियो र ? अभावसँग गाउँ लडिरहेको थियो । बरु राजधानी सहरको अस्तव्यस्तता झनै बढ्दो क्रममा मैले महसुस गरेँ । सबैलाई राजधानी बस्नुपर्ने, अवसर पनि राजधानीमै केन्द्रित हुने परिपाटीले मान्छेले अभाव, असुरक्षा, रोग, भोकका बिच पनि राजधानी छाड्न नसकेको देखियो । एक हिसाबले मलाई काठमाडौँको चरित्र ‘सुकुलगुन्डा’को जस्तै लाग्यो । बाहिरी आवरण चाहिँ चमकधमक र चर्को स्वर हुन्छ सुकुलगुन्डाको । तर, भित्रभित्र भने खोक्रो न बुद्धि न त पैसा । काठमाडौँको अवस्था त्यस्तै छ । १० वर्षमा देखिएको परिवर्तन भनेको माइतीघरदेखि कोटेश्वरसम्म मूल सडकको छेउमा अर्को सर्भिस रोड थपिएको र केही आकासेपुल देखिए । काठमाडौँ सम्हालिसाध्य देखिँदैन । सवारीसाधन थपिएको छ, सडक बढेको छैन, घर बढेका छन्, पिउने पानीको स्रोत थपिएको छैन । बिजुलीबत्ती र खानेपानीको लाइन जोड्नसमेत घुस ख्वाउनुपर्ने पीडा धेरैले सुनाए ।

(लेखक त्रिशूली प्रवाह साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्छ जो हाल टेक्सास, अमेरिकामा बसोबास गर्नुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

रामचन्द्र भट्ट