रसुवागढीबाट चीनसँगको व्यापारमा रु.७७ अर्ब घाटा

रसुवागढीबाट चीनसँगको व्यापारमा रु.७७ अर्ब घाटा
????????????????????????????????????????????????????????
सज्जनउत्सुक सापकोटा, नुवाकोट सरस्वती न्यौपाने, रसुवा
१ महिना अगाडी
  •  चालू आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा रसुवागढी नाकाबाट नेपालले रु. ८० अर्बबराबरको सामग्री चीनबाट आयात गर्दा केवल रु. तीन अर्बको सामग्री मात्र निर्यात गर्न सकेको छ, जसले नेपाललाई रु. ७७ अर्ब घाटा भएको देखाउँछ ।
  • विद्युतीय सवारीसाधन सबैभन्दा धेरै आयात हुने वस्तु बनेका छन् । यस नाकाबाट १० वर्षमा चीनमा उत्पादित विद्युतीय सवारीसाधन (इभी) को आयत १४ हजार पाँच सय नाघेको छ । चालू आवको ११ महिनामा इभी सवारीसाधन आयात हुँदा मात्र यसबाट रु. ११ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको छ ।
  •  नेपालबाट निर्यात हुने वस्तुहरू सामान्यतया बाँसका मुढा, काठका टेबुल, बुद्धका मूर्तिहरू र हस्तकलाका सामग्रीहरू मात्र छन्, जसले निर्यातमा खास वृद्धि गर्न सकेको छैन ।
  • नाकासम्मको कमजोर सडक पूर्वाधार, मौसमका कारण बारम्बार बन्द हुने अवस्था, रसुवावासी सवारीचालक मात्रलाई प्रवेश अनुमति दिने चीनको नीतिजस्ता कारणले गर्दा रसुवागढी नाका पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेको छैन ।
  • नेपाल–चीनबिचको कुल व्यापार (रु. तीन खर्ब एक अर्ब) को केवल ३४.१७ प्रतिशत मात्र सडकमार्गबाट (मुख्यतया रसुवागढी) हुँदै हुने गरेको छ, बाँकी ६५.८३ प्रतिशत व्यापार भारत वा हवाई मार्गमार्फत हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।

नुवाकोट/चीन सरकारले अन्तर्राष्ट्रिय नाकाको रूपमा तीन वर्षअगाडि घोषणा गरेर सञ्चालनमा आएको रसुवागढी नाकाको व्यापारबाट नेपाललाई निरन्तर व्यापार घाटा भइरहेको छ । उत्तरी नाकामध्येको प्रमुख रसुवागढीबाट चालू आवको ११ महिनामा रु. ७७ अर्ब घाटा भएको छ । चीनसँगको व्यापार बढ्दै गइरहे पनि नेपालले निर्यात वृद्धि गर्न नसक्दा नोक्सान व्यहोर्नुपरेको छ ।

रसुवा भन्सार कार्यालयले यो नाका हुँदै चालू आव २०८१/०८२ मा चीनबाट आयात र निर्यात भएको वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व गतहप्ता सार्वजनिक गरेको थियो । सार्वजनिक भएको विवरणअनुसार सो नाकाबाट चालू आवको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट रु. २८ अर्ब ७१ करोड र निर्यातबाट रु. तीन अर्ब बराबरको राजस्व प्राप्त भएको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले आयात गरिएको वस्तुको शुल्कबाट राजस्व प्राप्त भएको छ । चालू आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब रु. ८० अर्बबराबरको सामग्री आयात हुँदा रु. तीन अर्बबराबरको सामग्री मात्र निर्यात भएको उहाँले बताउनुभयो । सवारीसाधन आयातका लागि सङ्घीय सरकारको यातायात व्यवस्था विभाग र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँचपास हुने गरेको बताउँदै प्रमुख भट्टराईले पारदर्शी ढङ्गबाट राजस्व असुली भइरहेको बताउनुभयो । आयात गर्ने व्यवसायीलाई मोटर उत्पादक कम्पनीको फर्जी कागज बनाएर भन्सार घटाउनका लागि कम किलोवाटको विवरण भन्सार कार्यालयलाई देखाएर करोडौँ राजस्व छल्ने गरेको आरोपसमेत लाग्ने गरेको छ । गत आव २०८०/०८१ को ११ महिनामा रु.१८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालू आवमा यो नाकाबाट सबैभन्दा बढी विद्युतीय सवारीसाधन आयात भएको उहाँले बताउनुभयो । चालू आवको साउनदेखि जेठ मसान्तसम्म ६ हजार दुई सय ६६ वटा भ्यान, जिप, कार, तीनपाङ्ग्रे चार सय ६९ वटा र माइक्रो बस तथा ट्रक एक हजार एक सय ७६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । सवारीसाधनबाट मात्रै रु.११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । यस नाकाबाट १० वर्षमा चीनमा उत्पादित विद्युतीय सवारीसाधन (इभी) को आयत रु. १४ हजार पाँच सय नाघेको कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले बताउनुभयो । नेपालबाट चीनतर्फ निर्यात हुनेमा बाँसका मुढा, काठका टेबुल, बुद्धका मूर्ति र हस्तकलाका सामान रहेकोसमेत उहाँले बताउनुभयो । चीनबाट नेपाल आयात हुनेमा इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, तयारी कपडा, लसुन, प्याज, ओखर, स्याउ, चकलेट, चुइगम र जलविद्युत् आयोजनाको उपकरण रहेका छन् ।

चीन र नेपालबिच सामान आयात-निर्यातका लागि अहिले रसुवागढी र सिन्धुपाल्चोकको तातोपानीसहित १४ नाका सञ्चालनमा छन् । तीमध्ये रसुवागढीसहित तीन नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा चीनले मान्यता दिएको छ । नेपाल र चीनबिच सञ्चालनमा रहेका नाका मौसमीबाट प्रभावित हुने कारणले वेलावेलामा बन्द हुने गरेका छन् । नेपालको चीनसँग जोडिएको नाका र नाकासम्म पुग्ने भरपर्दो सडकमार्गलगायतका पूर्वाधार नहुँदा दुई देशबिचको व्यापारको ठुलो हिस्सा समुुद्र र हवाईमार्गबाट हुने गरेको रसुवा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो । दुई देशको कुल व्यापारमा एकतिहाइ मात्र सडकमार्गबाट आयात-निर्यात हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । आव २०८०/०८१ मा नेपाल र चीनबिच कुल रु. तीन खर्ब एक अर्ब ३६ करोड ३२ लाखबराबरको व्यापार भएको थियो । तर, चीनतर्फको नाकाबाट सडकमार्ग हुँदै रु.एक खर्ब दुई अर्ब ९९ करोड ९० लाखको व्यापार भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जुन चीनतर्फ भएको कुल व्यापारको ३४.१७ प्रतिशतबराबर हो । बाँकी ६५.८३ प्रतिशत व्यापार भने भारत र हवाईमार्गबाट हुने गरेको देखिन्छ ।

वर्षाको समयमा चीन र नेपाल दुवैतर्फ बाढीपहिरोको जोखिम धेरै छ, सडक अवरुद्ध भइरहन्छ, हिउँदको समय भने चीनतर्फ धेरै हिउँ परेर ढुवानीमा समस्या हुने गरेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष बच्चु पौडेलले बताउनुभयो । चीन सरकारले रसुवागढी नाकाबाट रसुवाबासीबाहेक अन्य जिल्लाका सवारी चालकलाई प्रवेश अनुमति नदिँदा थप समस्या भइरहेकोसमेत उहाँले बताउनुभयो । नाकाबाट केरुङ जान सवारीचालक रसुवावासी हुनुपर्ने नियमको कारण सवारीसाधन लिएर जाने सवारीचालकको कमीले गर्दा सामान ल्याउन ढिला हुने गरेको व्यापारीले बताउने गरेका छन् । उत्तरतर्फ सञ्चालनमा रहेका १४ नाकामध्ये सबैभन्दा व्यस्त र काठमाडौँसँग छोटो दूरीमा रसुवागढी नाका रहेको छ । काठमाडौँबाट एक सय ५० किलोमिटर दूरीमा रहेको रसुवागढी धुन्चेबाट भने २६ किलोमिटर र रसुवागढीबाट केरुङ २४ किलोमिटर दूरीमा छ । व्यापारीले बताएअनुसार भारत हुँदै सामुद्रिक मार्गबाट सामान ल्याउँदा दुई महिना लाग्छ भने सडकमार्गबाट ल्याउँदा तीन हप्तामा काठमाडौँ आइपुग्छ । तर, लागतचाहिँ सामुद्रिकमार्गको केही सस्तो हुनेसमेत व्यवसायीले बताउने गरेका छन् । रसुवागढीमा चीन सरकारको लगानीमा सुविधासम्पन्न बन्दरगाह निर्माण भइरहेको छ भने नेपाल सरकारले नाकासम्म पुग्ने सडकमार्ग भरपर्दो र मजबुत बनाउन थालेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

सज्जनउत्सुक सापकोटा, नुवाकोट सरस्वती न्यौपाने, रसुवा